राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा इलाममा प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा इलाममा प्रदर्शन

इलाम : राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीको देशव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार इलामको सदरमुकाममा नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनपछि सम्पन्न कोणसभामा बोल्दै जिल्ला इन्चार्ज सुमनसिंहले नेपालमा रहेका संसदवादीहरूले जनप्रतिनिधि संसदको आवरणमा राष्ट्र र जनताप्रति ठुलो गद्दारी गरेको बताए । उनले संसदवादीहरूलाई सिआइएको एजेण्टको काम गर्ने बिदेशीको चौकीदार भन्दै जनतालाई झुक्याउन छाडेर अमेरिकी सेनाको पोसाक लगाएर आफ्नो असली चरित्र देखाउन चेतावनी दिए । सुमनसिंहले राष्ट्रघाती एमसीसी परियोजना बिकासको नाममा नेपालमा अमेरिकी सत्ता चलाउन र नेपाललाई युद्धको कारखाना बनाउन खोजिएको र यती ठुलो राष्ट्रघात हुँदा विप्लवले हेरेर मात्र बस्न नसक्ने बताए । उनले देशको मुद्दामा आफूहरू बलिदान गर्न तयार रहेको बताउँदै आवश्यकता पर्यो भने आफूहरू राष्ट्रियमुक्ति युद्धको नेतृत्व लिन तयार भएको कोणसभालाई सम्बोधन गर्दै बताए । साथै उनले इलामका देशभक्तहरूलाई यो आन्दोलनमा सहभागी हुन र साथ दिन अपिल पनि गरेका छन् ।

टुँडीखेलबाट सुरु भएको र्याली मुख्य चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा रिसि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भूमि ढुङ्गानाले ऐक्यबद्धता मन्तव्य राख्दै संसदवादीहरूले देश डुबाउने षड्यन्त्र गरिरहेको हुनाले अब चुप लागेर बस्न नसकिने बताए । उनले इलाममा रहेका देशभक्त, क्रान्तिकारी समुदायलाई साथमा लिएर सङ्घर्ष चर्काउने बताए ।
कोणसभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी इलाम जिल्लाका सचिव जितमान राई ‘मौसम’ ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :