एमसीसीविरुद्ध २२ दलीय मोर्चाद्वारा काठमाडौँमा प्रदर्शन

एमसीसीविरुद्ध २२ दलीय मोर्चाद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) सहितको २२ दलीय मोर्चाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरबाट विरोध र्याली सुरु भएर बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य सुदर्शनले नेपालमा नयाँ खालको नवउपनिवेश कायम गर्न साम्राज्यवादी मुलुकहरूले अनेक दाउपेच गरिरहेको बताए । एमसीसी लागू भएमा नेपालको सार्वभौम सत्ता विखण्डन हुने भएकाले यो खारेज गर्नुपर्ने उनको भनाइ थियो । नेता सुदर्शनले अमेरिकाले नेपालको युरेनियम र पानी नियन्त्रणमा लिन एमसीसी लागू गर्न चाहेको पनि प्रस्ट पारे । उनले एमसीसी नेपालको विकासका लागि नभएर विदेशी स्वार्थमा आएको बताए । एमसीसी सम्झौता देश र जनताका विरुद्ध भएकाले नेपाललाई रणमैदान बनाउन यो परियोजना अमेरिकाले जबर्जस्ती संसद्‌बाट पास गराउन चाहेको नेता सुदर्शनको भनाइ थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा (माले) का महासचिव सीपी मैनालीलगायत वक्ताले एमसीसी राष्ट्रघाती भएकाले खारेजीको माग गरेका थिए । उनीहरूले अमेरिकाले चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न र नेपाललाई आफ्नो सैन्य रणनीतिमा समावेश गर्न एमसीसी लागू गर्न चाहेकाले यसलाई खारेज गर्न माग गरे । संसद्‌बाट जबर्जस्ती एमसीसी पारित गरिए आन्दोलनको आँधीबेहरी आउने र त्यसले एमसीसीसँगै पास गराउनेहरूलाई उडाउने उनीहले बताए । वक्ताहरूले एमसीसी लागू भए नेपाल अमेरिकी क्रीडास्थल हुने भन्दै खारेजीको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :