नेपाललाई रणभूमि बनाउने षड्यन्त्रसहित ल्याइएको एमसीसी पारित नगर्न खबरदारी

नेपाललाई रणभूमि बनाउने षड्यन्त्रसहित ल्याइएको एमसीसी पारित नगर्न खबरदारी

काठमाडौँ: नेपालका लागि अमेरिकी परियोजना एमसीसी अत्यन्त घातक रहेकाले यसलाई खारेज गर्नुपर्र्ने राजनीतिक पार्टीका नेता र बुद्धिजीवीहरूले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रघाती एमसीसी सम्झौता र यसको खारेजीको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले एमसीसीे पारित भयो भने नेपाल रणभूमिमा परिणत हुने, नेपालको बहुमूल्य युरेनियम, जलस्रोतलगायत कच्चा पदार्थ अमेरिकाले आफ्नो स्वार्थका लागि कब्जा गर्ने र नेपाललाई सधैँका लागि परनिर्भर बनाउने, नेपालको सार्वभौमसत्ता, स्वाधीनताविरुद्ध रहेकाले सबै देशभक्त शक्तिहरू एकजुट भएर यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै र कार्यक्रमको विषयबारे प्रस्ट्याउँदै नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी नेपालका लागि राष्ट्रघाती रहेकाले यसलाई कुनै पनि हालतमा पारित हुन नदिन र यसको खारेजीका लागि आन्दोलनमा सहभागी हुन आह्वान गरे । आफ्नो पार्टीले एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरिसकेको र २२ दलीय मोर्चा बनाई एमसीसी खारेजी अभियान सुरु गरिसकेकाले सम्पूर्ण देशभक्त शक्तिहरू ऐक्बद्धताका साथ आन्दोलनको कार्यक्रममा सहभागी हुन उनले आह्वान गरे ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नेता कञ्चनले अमेरिकाले नेपाली भूमि प्रयोग गरेर चीनविरुद्ध घेराउ गर्न एमसीसी जसरी पनि लागू गर्न चाहेको बताए । उनले एमसीसी लागू भए अमेरिका र चीनबीच बढ्ने द्वन्द्वको मार नेपाल र नेपालीलाई हुने बताए । नेपालका प्राकृतिक साधन र स्रोतमाथि कब्जा गर्ने र आफ्नो सैन्य रणनीतिमा नेपाललाई सहभागी गराउने अमेरिकी योजना रहेको नेता कञ्चनले बताए । उनले सम्झौता राष्ट्रघाती भएकाले त्यसविरुद्ध आफ्नो पार्टीले सङ्घर्ष घोषणा गरेको पनि प्रस्ट पारे । एमसीसी खारेजीका लागि सङ्घर्षमा आउन उनले सबैलाई आह्वान गरे ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी पारित गराउनका लागि एमसीसीका अध्यक्ष, उपाध्यक्ष नेपालमा आउन लागेको भन्दै एमसीसी खारेजी अभियान थालिएको जानकारी दिए । अमेरिकाले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर नेपाललाई प्रयोग गर्ने र चीनलाई घेर्ने रणनीतिका साथ एमसीसी ल्याउनुको कारण नेपालको जलस्रोत, बहुमूल्य धातु युरेनियम, प्राकृतिक स्रोतलाई कब्जा गर्नु रहेको उनले प्रस्ट पारे । गजुरेलले इन्डो प्यासिफिक रणनीतिअनुसार अमेरिकाले एमसीसी सम्झौता लागू गर्न चाहेको बताए । उनले अमेरिकाले नेपालका बहुमूल्य प्राकृतिक साधन, स्रोतमाथि कब्जा जमाउन र चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी संसद्बाट पारित गराएर लागू गर्न चाहेको बताए । नेता गजुरेलले एमसीसी नेपाल र नेपालीको हितमा नभएकाले खारेज गर्नका लागि राष्ट्रवादी नेपाली एक हुनुपर्ने बताए ।

नेकपा (माले) का महासचिव सीपी मैनालीले अमेरिकाले आफ्नो प्रतिष्ठा र प्रभावमा धक्का लागेकै कारण एमसीसी सम्झौता अगाडि सारेको बताए । उनले अमेरिकाले एमसीसीमार्फत नेपाललाई सैन्य साझेदार बनाउन खोजेको भन्दै नेपाल स्वतन्त्र देश भएकाले यसबाट अलग रहनुपर्ने धारणा राखे । महासचिव मैनालीले अमेरिकाले नेपाली भूमिमा सैन्य अखडा बनाएर चीनविरुद्ध गतिविधि गर्न एमसीसी जबर्जस्ती संसद्बाट पारित गराउन चाहेको बताए । उनले सरकारले एमसीसी संसद्बाट पारित गराउन लागेको भन्दै खारेज गर्नुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लीलामणि पोखरेलले नेपालको कानुनभन्दा एमसीसी माथि राखिएको र एमसीसी लागू भए नेपालीहरूले अमेरिकी कानुन मान्नुपर्ने अवस्था आउने भएकाले खारेज हुनुपर्ने बताए । उनले अनुदानमा सर्त नहुने भए पनि एमसीसीमा अमेरिकाले नेपालको हितविरोधी सर्त राखेको भन्दै खारेज गर्नुपर्ने धारणा राखे । संसद्मा पारित गराए कानुन बन्ने र त्यो नेपालको कानुनभन्दा माथि हुने भन्दै पोखरेलले एमसीसी खारेज हुनैपर्ने बताए । उनले तत्कालीन नेकपाले एमसीसीको अध्ययन प्रतिवेदनमा संशोधन गर्न सुझाव दिएको भए पनि अमेरिका तयार नभएको रहस्य पनि खोले ।

नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यातले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएकाले खारेज गर्नुपर्ने बताए । उनले एमसीसी संसद्बाट पारित गरेर देशलाई अमेरिकी सैन्य अखडा बनाउन खोजेको भन्दै युवाहरू त्यसविरुद्ध उठ्नुपर्ने बताए ।

दार्चुलाका युवक जयसिंह धामीलाई तुइनबाट खसालेर महाकालीमा बगाउँदासमेत बोल्न नसक्ने जर्नेल र एमसीसीजस्तो राष्ट्रघाती परियोजना पास हुँदा ताली बजाउने विद्यावारिधिवाला डाक्टरप्रति घृणा लाग्ने गरेको उनले बताए । परिवर्तनका लागि जनयुद्ध लड्दा टाउकाको मूल्य तोकिएका नेताहरू अहिले विदेशीको दलाल भएकै कारण जनताले दुःख पाएको बस्न्यातले बताए ।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले कम्युनिस्टहरु राष्ट्रियतामा प्रतिबद्ध र प्रतिरक्षात्मक शक्ति भए पनि अहिले नेपालका केही कम्युनिस्ट पार्टीहरू एमसीसी पारित गराउन लागिपरेको बताए । उनले कम्युनिस्टहरू बिग्रिएकैले देश र जनताले दुःख पाएको बताए । नेपाल एउटा पञ्चशील सिद्धान्त मान्ने स्वतन्त्र देश भएकाले अमेरिकी सैन्य रणनीतिअनुसार अगाडि ल्याइएको एमसीसी सम्झौता लागू गर्न नहुने केसीले बताए । उनले अमेरिकाले सैन्य अखडा बनाएर चीनविरुद्ध नेपाल र नेपाली जनतालाई दुरुपयोग गर्न लागेको पनि बताए । एमसीसीले कायापलट हुनेजसरी प्रचार गरिएको भन्दै नेपालमा आवश्यकता परेमा ५० करोड डलर नेपाली जनता आफैँले लगानी गर्नसक्ने बताए ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष हिमलाल पुरीले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएकाले खारेज गर्नुको विकल्प नभएको बताए । उनले एमसीसीलाई संसद्बाट पारित गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सडकमा आउन आह्वान गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि राखिनु नै गलत भएको बताए । उनले अनुदानबाट लागू हुने परियोजना संसद्बाट पास गर्न आवश्यक नहुने प्रस्ट पारे । अमेरिकी कानुन नेपालमा लागू गर्न खोजिएको भन्दै भण्डारीले एमसीसी सम्झौता देशको हितमा नभएकाले खारेज गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य धनकुमारी सुनार, एमसीसी खारेज सङ्घर्ष समितिका केन्द्रीय सदस्य भरत गौतमलगायतले एमसीसी देशको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :