नेकपा दाङको शान्तिनगर,दंगीशरण र बबई गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा दाङको शान्तिनगर,दंगीशरण र बबई गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न

 

 

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकाको संयुक्त आयोजनामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पार्टी नेताकर्याकर्तालाई प्रशिक्षित गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले देश र जनतालाई दलाल पुजीवादी सत्ताले प्रशव पीडा दिएको बताए । उनले दलाल सत्ता र दलाल प्रवृत्तिका विरुद्ध आफुहरु संघर्ष गरिरहेको बताए । नेता शितलले आफुहरु नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरुको समाधान दिन सबै पक्षसँग छलफल गर्न तयार रहेको बताए । उनले भने, `वास्तविक शान्ति, स्वाधीनता र समृद्धिका लागि प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसंग्रहमार्फत जनतालाई व्यवस्था चुन्ने अधिकार दिनुपर्छ ।`

कम्युनिस्टहरुलाई बन्दुके र अधिनायकवादी भन्ने केही कथित लोकतन्त्रवादीहरुलाई जनमतसंग्रहमार्फत संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यसत्ता भन्ने विषयमा चुनावमा प्रतिस्पर्धा गर्न नेता शितलले चुनौती दिए । प्रतिक्रियावादी केही धमिराहरुले आफ्नो पार्टीको विषयमा भ्रम छरेकोप्रति नेता शितलले आपत्ति जनाए । जनताले आफ्नो पार्टीलाई एकमात्र विकल्पको रुपमा बुझेको भन्दै उनले अब केही दलालहरुले भ्रम छर्दैमा जनताहरु भ्रमित नहुने विश्वास व्यक्त गरे । आफुहरुले युद्ध नभएर एकीकृत जनक्रान्ति गर्न खोजेको तर राज्यले युद्ध चाहेको जसको पुष्ठि आफुहरु माथिको अवैध प्रतिबन्धले प्रमाणित गरेको नेता शितलको भनाइ थियो ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका अतिथि पार्टीका जिल्ला सेक्रेटरी प्रदिपले जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने निर्वाचनमा आफुहरुको सानदार जित हुने विश्वास व्यक्त गरे । उनले विश्वमै असफल संसदीय व्यवस्थादेखि जनता आजित भएको धारणा राखे ।नेता प्रदिपले कम्युनिस्टहरुलाई जनमत लिन तयार हुदैनन् भन्नेहरु जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौती दिए । उनले भने, हाम्रो पार्टी युद्ध चाहदैन, हामी एकीकृत जनक्रान्तिमार्फत संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाको लागि जनमत लिन तयार छौँ ।

संयुक्त प्रशिक्षण कार्यक्रममा कार्यक्रमका अतिथि केन्द्रीय स्कुलिङ विभागका सदस्य गतिले आफ्नो अनुभूति सहितको मन्तव्य राखेका थिए । उनले पार्टीले लिएको कार्यनीतिक योजनाले नेपालको सबै खाले समस्याको समाधान गर्ने बताए । संयुक्त राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर, दंगीशरण र बबई गाउँ कमिटी अन्तर्गतका वडा इन्चार्जहरुले आआफ्नो रिपोर्ट राखेका थिए ।

नेकपा बबई गाउँपालिका इन्चार्ज प्रतिरोधको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको अध्यक्षता नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा शान्तिनगर(दंगीशरण गाउँपालिका इन्चार्ज निर्मलले गरेका थिए भने कार्यक्रमको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य राजकुमारले गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सल्लाहकार समिति सदस्य सुरेश, जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्तको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :