बुटवलमा सङ्ग्रामी सांस्कृतिक परिवारको विधागत तालिम उद्घाटन

बुटवलमा सङ्ग्रामी सांस्कृतिक परिवारको विधागत तालिम उद्घाटन

naकाठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठन सङ्ग्रामी सांस्कृतिक परिवार, रुपन्देहीको दश दिने विधागत प्रशिक्षणात्मक तालिम उद्घाटन भएको छ । बुधबार अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र अखिल नेपाल जनकलाकार सङ्घ, रुपन्देहीको आयोजनामा उक्त तालिम बुटवलमा उद्घाटन भएको हो ।

कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले उक्त विधागत प्रशिक्षणात्मक तालिमले एकीकृत जनक्रान्तिमा र नेपालको क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण टेवा पुर्याउने आशा व्यक्त गरे । उनले नेपालको सांस्कृतिक आन्दोलनमा हजारौँ संस्कृतिकर्मी, जनकलाकारहरूले बलिदान गरेको भन्दै नयाँ राज्यसत्ता निर्माणको लागि सांस्कृतिक मोर्चाबाट सहयोग गर्न अपिल गरे ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणका लागि जनकलाकारहरूले सांस्कृतिक मोर्चाबाट आन्दोलनको आँधीबेरी सिर्जना गर्नुपर्ने बताए । उनले कला, साहित्य, प्रगतिशील लेख, रचना, गीत, सङ्गीत इत्यादिको माध्यमबाट आम जनतालाई जागरुक बनाउँदै जनवादी संस्कृति अर्थात् वैज्ञानिक समाजवादी संस्कृतिको निर्माण गर्नु आजको अपरिहार्य आपश्यकता भएको बताए । यसैगरी नेकपा बुटवल नगर सेक्रेटरी विरेन्द्र विकले उक्त तालिमले प्रगतिशील–सांस्कृतिक आन्दोलनका लागि आवश्यक र सक्षम जनकलाकार उत्पादन गर्ने र यसले जनतामा नयाँ सन्देश दिने विश्वास व्यक्त गरे ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रुपन्देहीकी जिल्ला अध्यक्ष बिहानी मगरले उक्त तालिमले सांस्कृतिक क्रान्तिको लागि आवश्यक जनकलाकार उत्पादन गर्ने, स्थापित गर्ने र राजनीतिक–वैचारिक स्तरको विकास गर्ने बताइन् । त्यस्तै सङ्ग्रामी सांस्कृतिक परिवार रुपन्देहीका जिल्ला अध्यक्ष आत्माले तालिममा गायन, नृत्यका साथमा राजनीतिक–वैचारिक प्रशिक्षण पनि हुने बताए ।

कार्यक्रममा नेकपाकी नेतृ सरिता बराह, अखिल नेपाल जनकलाकार सङ्घकी जिल्ला अध्यक्ष रश्मि, जनपत्रकार सङ्गठन नेपाल रुपन्देहीका जिल्ला संयोजक प्रदीप राहादी मगर लगायतको उपस्थिति रहेको थियो । तालिममा प्रशिक्षार्थीहरूको व्यापक सहभागिता रहेको थियो । उक्त तालिम भदौ २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

सङ्ग्रामी सांस्कृतिक परिवार रुपन्देहीका जिल्ला अध्यक्ष आत्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन महासङ्घकी जिल्ला अध्यक्ष बिहानी मगरले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :