कतारका वेद बोहोरा–गिरोहसँग सतर्क रहन नेकपाको आह्वान

कतारका वेद बोहोरा–गिरोहसँग सतर्क रहन नेकपाको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले कतारमा मजदुरी गर्दै आएका वेद बोहोरा नाम गरेका व्यक्ति र उनी वरिपरिका व्यक्ति नेकपाका सदस्य नरहेको बताएका छन् ।

नेकपा नेता कञ्चनले बुधबार विज्ञप्ति जारी गरी वेद बोहोरा नाउँ गरेका व्यक्तिले कतारमा पार्टीको नाउँ दुरुपयोग गरेको, कथित जनप्रगतिशील मोर्चा मध्यपूर्वको संयोजक हुँ भनी भ्रम फिँजाएको, कतारमा रहेका पार्टीका नेता–कार्यकर्ताविरुद्ध दुष्प्रचार गरेको, पार्टी र क्रान्तिविरुद्ध भ्रम उत्पन्न गरेकाले उनी र उनको सम्पर्कमा रहेका कुनै पनि व्यक्ति पार्टीमा नरहेको प्रस्ट पारेका छन् ।

नेता कञ्चनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टी र क्रान्तिविरुद्ध अनेक प्रकारको भ्रम सिर्जना गर्ने, अनुशासनहीनतालाई बढावा दिने, अराजकता उत्पन्न गर्ने र फुट पैदा गर्ने षड्यन्त्रको कडीका रूपमा यो घटना जोडिएको छ ।’

नेता कञ्चनको विज्ञप्तिको अगाडि भनिएको छ, ‘विदेशमा रहेर नेपालीहरूमाझ चलिरहेको वैज्ञानिक समाजवादी क्रान्ति, त्यो पार्टीले गरेको जनसेवाका कामहरूमा समस्त क्रान्तिकारी र प्रगतिशील नेपालीहरूले आफ्नो क्षमताअनुसार सहयोग गरेको र गरिरहेको तथ्य सर्वविदितै छ । यो अभिभयान चलाउने नेपालीविरुद्ध अनर्गल प्रचार गर्ने, सामाजिक सहयोग भाँड्ने, पार्टीका नेता–कार्यकर्तालाई बदनाम गर्ने, सामाजिक सञ्जाल दुरुपयोग गर्ने, नक्कली नामबाट सक्रिय यो गिरोहबाट सतर्क र सजग रहन सबैमा अनुरोध गरिन्छ ।’

नेता कञ्चनको विज्ञप्तिमा नेपालमा पार्टीको नाउँ दुरुपयोग गरी भूमाफियासँग कमिसन खाँदै सङ्घर्षलाई कमजोर पार्ने बदनामहरूसमेत यो गिरोहसँग संलग्न रहेको देखिएकाले जनसेवा र क्रान्तिविरोधी यी सबै तत्वहरूसँग देश र विदेशमा रहेका सबै नेपालीलाई सचेत रहन आग्रह गरिएको छ । प्रेस विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :