नेकपाद्वारा घोराहीमा युवा र थारूको सङ्गठन निर्माण

नेकपाद्वारा घोराहीमा युवा र थारूको सङ्गठन निर्माण

घोराही : नेपाल कम्युनिस्ट पार्टी दाङको घोराही उप–महानगर वडा नं.७ मा युवा सङ्गठन नेपाल र थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

यमराज चौधरीको संयोजकत्वमा युवा सङ्गठन नेपालको ११ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ भने लक्ष्मण चौधरीको संयोजकत्वमा थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपालको ७ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

संयुक्त सम्मेलन आयोजक कमिटी गठन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङका घोराही उप–महानगर इन्चार्ज तिलकको प्रमुख आतिथ्य, थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपाल दाङका संयोजक चुलुवा, नेकपा दाङ जिल्ला कमिटी सदस्य महानको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा घोराही उप–महानगर इन्चार्ज तिलकले संसदीय व्यवस्था असफल सिद्ध भइसकेको बताए । उनले संसद्‌वादका विरुद्ध नेपाली जनताहरू वैज्ञानिक समाजवाद प्राप्तिको लागि भीषण सङ्घर्षमा रहेको बताए । नेता तिलकले नेपालमा वैज्ञानिक समाजवाद प्राप्तिको लागि पार्टीले जनमतसङ्ग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने एजेण्डा अघि सारेको बताए ।

त्यसैगरी थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपाल दाङका संयोजक चुलुवा चौधरीले उत्पीडित जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको बताए । यस्तै नेकपा दाङ जिल्ला कमिटी सदस्य महानले नेपालमा वैज्ञानिक समाजवादको लहर आएको बताए । उनले दिनदिनै संसदीय व्यवस्था चरम सङ्कटमा परेको भन्दै सम्पूर्ण श्रमिक जनताको अधिकार वैज्ञानिक समाजवादमा मात्र सम्भव हुने बताए ।

संयुक्त सङ्गठन निर्माण कार्यक्रमको अध्यक्षता तथा सहजीकरण नेकपा घोराही उप–महानगर–७ का सेक्रेटरी तथा युवा सङ्गठन नेपाल घोराही उप–महानगर अध्यक्ष पदम चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :