अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङको बैठक सम्पन्न

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक घोराहीमा सम्पन्न भएको छ ।

बैठकले जिल्ला सम्मेलन गर्ने, पालिका स्तरीय भेला गर्ने, किसानहरूका समस्याका बिषयमा सङ्घर्ष गर्ने, जिल्लामा किसानहरूसँग छलफल/अन्तरक्रिया गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको बताइएको छ ।

प्रथम बैठक नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, नेकपा घोराही नगर इन्चार्ज तिलकको आतिथ्यमा सम्पन्न भएको थियो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले राखेका थिए ।

नेता शितलले वैज्ञानिक समाजवादी सत्ता स्थापना गरि किसानका समस्याहरू क्रान्तिकारी भूमिसुधार लागू गरेर समाधान गरिने बताए । उनले यो भ्रष्ट राज्यबाट किसानहरूका समस्या समाधान नहुने भन्दै नेपाली जनताको आफ्नै शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको बताए । नेता शितलले जनयुद्धमा स्थापित गरिएका किसानहरूका मुद्दा एकीकृत जनक्रान्तिमा जिवितै राखेको बताए । एक फरक प्रसङ्गमा नेता शितलले नेपालमा व्यवस्था चुन्ने अधिकार जनतालाई दिन आफ्नो पार्टीले जनमतसङ्ग्रह माग गरेको बताए । दलाल पुँजीवादी संसदीय व्यवस्था कि जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था भन्ने बिषयमा जनमतसङ्ग्रह मार्फत जनतालाई व्यवस्था चुन्न दिनु लोकतन्त्रको उच्चतम् प्रयोग भएको नेता शितलको जिकिर थियो ।

बैठककमा समग्र जिल्लाको योजना र किसान सङ्गठनको आगामी कामकाज र भूमिकाको बिषयमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले मन्तव्य व्यक्त गरेका थिए ।

प्रथम बैठकको सञ्चालन तथा अध्यक्षता सङ्गठनका जिल्ला सम्मेलन आयोजक समिति संयोजक पोषणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :