नेकपा नवलपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण

नेकपा नवलपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्लाले राजनीतिक तथा बैचारिक प्रशिक्षण मङ्गलबार सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी नवलपुरद्वारा आयोजित जिल्लाको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य कृतिले दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सबै पार्टी कमिटी जबस मोर्चाले आ–आफ्नो भूमिका पूरा गर्नुपर्ने अनिवार्य आवश्यकता भएको बताएका छन् । उनले संसदीय व्यवस्था बाहिर फिजाँइए जस्तो लोकतान्त्रिक नभएको भन्दै अगाडि भने “वास्तविक लोकतन्त्रमा देशको कार्यकारी प्रमुख संसदबाट मनोनित नभई जनताबाट प्रत्यक्ष चुनिने हुन्छ तर संसदीय व्यवस्थामा देशको कार्यकारी प्रमुख प्रत्यक्ष जननिर्वाचित नभई संसदबाट मनोनित हुने भएकाले संसदीय व्यवस्था अलोकतान्त्रिक व्यवस्था हो ।” उनले एकीकृत जनक्रान्तिमार्फत आउने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै किसान, सर्वहारा, विद्यार्थी, शिक्षक, मजदुर, सुकुमबासी, युवाहरूको सम्पूर्ण समस्या हल गर्न सक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था नै वर्तमान राज्य व्यवस्था दलाल संसदीय व्यवस्थाको उच्चतम् विकल्प रहेको बताए ।

यस्तै नेकपा केन्द्रीय सदस्य एवम् नवलपुर–नवलपरासी इन्चार्ज ध्रुवले एकीकृत जनक्रान्तिलाई पूरा गर्न सम्पूर्ण पार्टी पङ्क्ति शसक्त तरिकाले लाग्नुपर्ने, दलाल, भ्रस्टाचारीहरूलाई जनताले नै लखेट्नुपर्ने त्यसको नेतृत्व पार्टीले गर्ने बताए । उनले दलाल पुँजीवादी संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद चुन्ने अधिकार जनतालाई दिनुपर्ने र त्यसको लागि सबै तयार हुनुपर्ने बताए ।

जिल्ला सेक्रेटरी शितलको अध्यक्षता रहेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा नवलपुर–नवलपरासी जिल्ला इन्चार्ज धु्रबको बिशेष आतिथ्यता रहेको थियो । नेपाल कम्युनिस्ट पार्टी विशेष कमिटी सदस्य बिश्वास, जनसेवक सुकुमार र सङ्घर्ष, सहिद तथा बेपत्ता परिवारका तर्फबाट मनोज गौतमको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला सदस्य तथा मध्यविन्दु सेक्रेटरी बिशालले गरेका थिए ।

कार्यक्रममा जनवर्गीय सङ्गठन र मोर्चा, प्रत्येक नगरको तर्फबाट रिपोर्ट र पार्टीलाई सुझाव राखिएको थियो । पार्टीको केन्द्रीय समितिको दशौँ बैठकको सर्कुलर वाचन नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला सदस्य अविनासले गरेका थिए ।

कार्यक्रममा जिल्लाका मध्यविन्दु नगर, हुप्सेकोट गाउँ कमिटी, बिनयत्रिवेणी गाउँ कमिटीका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :