तुइन घटना र राष्ट्रियताको सवाल विषयक अन्तरक्रिया कार्यक्रम दार्चुलामा सम्पन्न

राष्ट्रियताको पक्षमा एकजुट हुन आव्हान

तुइन घटना र राष्ट्रियताको सवाल विषयक अन्तरक्रिया कार्यक्रम दार्चुलामा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दार्चुला जिल्लाको आयोजनामा “तुईन घटना र राष्ट्रियताको सवाल ” विषयक अन्तरक्रिया कार्यक्रम दार्चुलाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य डबल शाह ,नेकपा ( एमाले ) का जिल्ला नेता नरसिंह चैसिर , विवेकशील साझा पार्टीका जिल्ला नेता चक्र बम , उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुन्ना , पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्ण सिंह धामी , दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण सिंह साउद , पुराना वामपन्थी नेता प्रभातले  तुईन घटना र राष्ट्रियता बारे आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा नेकपा कञ्चनपुरका पार्टी सचिव रमेश परियार , डडेल्धुरा पार्टी सचिव विजय ,अखिल नेपाल महिला संघ क्रान्तिकारीकि नेतृ पुर्णिमा धामी , विद्यार्थी नेता विरेन्द्र शाह , समाजवादी मंचका केन्द्रीय सदस्य दमन नेपाली , महिला नेता पार्वती सिंह लगायतका जिल्ला स्तरका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा केन्द्रीय सदस्य डबल शाहले तुईन घटना र राष्ट्रियताको सवाल विषयक अन्तरक्रियाको औचित्य बारे प्रष्ट पारेका थिए । कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि ओम प्रकाश पुनले आफ्नो पार्टी राष्ट्रियताको सवालमा दृढ़ रहेको र जय सिंह धामीको न्यायको लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको कुरा बताएका थिए ।भारतीय साम्राज्यवादले नेपालमाथि हस्तक्षेपकारी निती अख्तियार गरिरहेको बताउँदै आफ्नो पार्टी समानता र समदुरीका आधारमा दुई देशको सम्बन्ध स्थापित हुनुपर्छ भन्ने पक्षमा रहेको बताए।

भारतसंग गरिएका सम्पूर्ण असमान सन्धि सम्झौताका कारण पनि नेपालमाथि हस्तक्षेप बढिरहेको बताउँदै सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गरिनुपर्नेमा उनले जोड दिए। जयसिंह धामी र तुइन घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारवाही गरिनुपर्ने उनको भनाई थियो।
उनले आफ्नो पार्टी  राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै शक्तिसँग सहकार्य गर्न तयार रहेको धारणा सहित सम्पूर्ण राजनीतिक दल र विभिन्न संघसंस्थाका सहभागी प्रतिनिधिहरुलाई  राष्ट्रियता , आत्मसम्मान र स्वाभिमानका सवालमा एकजुट भएर अगाडि बढ्न अपिल समेत गरेका छन् ।अन्तरक्रिया कार्यक्रम नेकपा दार्चुला सचिव भरत मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो। 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :