वैज्ञानिक समाजवादका विशेषताहरू

वैज्ञानिक समाजवादका विशेषताहरू

वैज्ञानिक समाजवाद आजसम्मका राज्यव्यवस्थामध्ये सबैभन्दा उत्तम एवम् मानव–हितकारी विशेषताहरू भएको राज्यव्यवस्था हो किनकि वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तर्विरोध, शोषण, उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, धर्मबीचका अन्तर्विरोधहरूलाई समाधान गर्दछ । साथै नयाँ समाज, नयाँ वर्ग, नयाँ अर्थसम्बन्ध एवम् नयाँ मानव जातिको विकास गर्दछ । वैज्ञानिक समाजवादका यी विशेषताहरू पुँजीवादी विशेषताभन्दा अतुलनीय रूपले उन्नत, सभ्य एवम् जनहितकारी छन् । यसरी हेर्दा वैज्ञानिक समाजवाद उत्कृष्ठ विशेषताहरू भएको राज्यव्यवस्था हो ।

आजभन्दा १७३ वर्षअगाडि मार्क्सले पुँजीवादका विरुद्ध वैज्ञानिक साम्यवादी घोषणापत्र लेख्दै गर्दा पुँजीवादको विश्लेषण गर्दै लेख्नुभएको थियो, ‘पुँजीवादी उत्पादन सम्बन्धहरूले तिनको विकासलाई रोकिदिन्छन् । अनि जब उत्पादक शक्तिहरूले यी अड्चनहरू पार गर्न थाल्छन्, त्यसबखत तिनले सारा पुँजीवादी समाजलाई नै डगमगाइदिन्छन् र पुँजीवादी स्वामित्वको अस्तित्वलाई नै खतरामा पारिदिन्छन् । पुँजीवादी सम्बन्धहरू तिनीहरूद्वारा उत्पादित सम्पत्ति समाविष्ट गर्न अत्यन्त सङ्कुचित हुन जान्छन् । कुन प्रकारले पुँजीजीवी वर्गले यी सङ्कटहरू पार गर्दछ ? एकातिर, उत्पादक शक्तिहरूको एक ठूलो भागलाई नष्ट गरेर अनि अर्कोतिर नयाँययाँ बजारहरू कब्जा गर्नुका साथै पुराना बजारहरूको पूरापूर शोषण गरेर । वास्तवमा कसरी ? कसरी भने पुँजीजीवी वर्गले बढ्ता चौतर्फी र बढ्ता विनाशकारी सङ्कटहरूका निम्ति बाटो प्रशस्त पार्दछ र यी सङ्कटहरूलाई रोक्ने साधन घटाउँछ ।’ –कम्युनिस्ट घोषणापत्र पेज ३४)

त्यहीँ मार्क्सले वैज्ञानिक समाजवाद ल्याउने वर्गबारे लेख्नुभएको छ, ‘जुन हतियारद्वारा पुँजीजीवी वर्गले सामन्तवादलाई ढालेको थियो, त्यो नै अहिले स्वयम् पुँजीजीवी वर्गका विरुद्ध मोडिएको छ । किन्तु पुँजीजीवी वर्गले यस्तो हतियारको मात्र निर्माण गरेको छैन जसले उसको अन्त्य गर्नेछ । उसले त यस्ता मानिसहरू पनि उत्पन्न गरेको छ जसले उसका विरुद्ध यो हतियारको प्रयोग गर्नेछन् । ती हुन् आजका मजदुरहरू, सर्वहाराहरू ।’ – कम्युनिस्ट घोषणापत्र पेज ३५)

मार्क्सका य संश्लेषणले स्पष्ट गर्छ– हरेक समाजमा पैदा हुने नयाँ अर्थसम्बन्ध र राज्यसत्ताले पुराना सम्बन्धहरूको तुल

नामा अग्रगामी एवम् क्रान्तिकारी विशेषताहरू बोकेकै हुन्छ । सामन्तवादका विरुद्धमा पुँजीवादले अग्रगामी एवम् क्रान्तिकारी विशेषताहरू पैदा गरेको थियो भने विकासक्रममा पुँजीवादी अर्थ–राजनीतिक सम्बन्धहरू पुराना बन्न पुगे र उसकै सङ्कट निम्त्याउने विशेषतामा बदलिए । पुँजीवादी विशेषताभन्दा वैज्ञानिक समाजवादी–साम्यवादी विशेषताहरू अग्रगामी, जनवादी एवम् क्रान्तिकारी बन्न पुगे ।

आज नेपालमा वैज्ञानिक समाजवाद र दलाल पुँजीवादी संसद्वादका बीचमा तीव्र प्रतिस्पर्धा छ । पुँजीवादी प्रतिनिधिहरूले संसदीय व्यवस्थालाई अनेकौँ तर्कहरू गरेर बचाउ गर्न खोजे पनि दलाल पुँजीवादी अर्थसम्बन्ध एवम् राज्यव्यवस्था आफैँभित्र पैदा भएका अन्त्यर्विरोधका कारण मरणासन्न बन्न पुगेको छ ।

दलाल पुँजीवादी सम्बन्धहरूभित्र उसैलाई समाप्त पार्न योग्य श्रमिक वर्गको वैचारिक एवम् भौतिक शक्तिको विकासले पनि यो सङ्कटलाई विस्फोटक बनाइदिएको छ । खासगरी नेपाली समाजको विकास, वर्गसङ्घर्ष एवम् राजनीतिक सङ्घर्षका क्रममा श्रमिक जनतामा विकास भएको समाजवादी चाहना र दलाल पुँजीवादी अर्थसम्बन्धका बीचको अन्त्यर्विरोध एवम् सङ्घर्षमा यो सङ्कट व्यक्त भइरहेको छ । यो सङ्कटले वस्तुतः दलाल पुँजीवादी सत्ताको अन्त्यय र वैज्ञानिक समाजवादी व्यवस्थालाई जन्म दिने आधार विकास गरेको छ ।

सङ्कट र निकास, अन्त्यर्विरोध र समाधानका दृष्टिले नेपालमा वैज्ञानिक समाजवाद अग्रगामी, जनवादी, परिवर्तनकारी एवम् क्रान्तिकारी भएकोमा कुनै द्विविधा छैन । परन्तु आजको विश्वपरिस्थिति र नेपाली वस्तुस्थितिमा वैज्ञानिक समाजवादका मूल विशेषताहरू केकस्ता हुन्छन् भन्ने जिज्ञासा नागरिकहरूमा पैदा हुनु र हामीले प्रस्तुत गर्नु आवश्यक नै छ ।

१) राजनीतिक विशेषता

१) वैज्ञानिक समाजवादको प्रमुख विशेषता यसले दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र यसको अधिनायकत्व समाप्त पारिदिन्छ । साथै सत्तालाई दलाल पुँजीवादी वर्गको हातबाट श्रमिक जनताको हातमा पुर्याइदिन्छ ।

२) वैज्ञानिक समाजवादले सत्ता सञ्चालनमा पुँजीको हस्तक्षेप वा प्रभावको अन्त्यय गर्नेछ । जनताले विचार, नीति, योजनाका आधारमा स्वच्छ प्रतिस्पर्धा गर्नेछन् । पैसाको बलमा चुनावी प्रतिस्पर्धाको स्थान समाप्त हुनेछ ।

३) देशको राज्यव्यवस्था सञ्चालनमा भूमण्डलीकृत पुँजीवादको हस्तक्षेप अन्त्य गरिनेछ । सामाजिक रूपान्तरणको नेपाली जनताको चाहनालाई अवरोध पुर्याउने गरी हुने कुनै पनि प्रकारका घुसपैठ, चलखेल, प्र्रलोभन, आर्थिक लेनदेनलाई पूर्ण रूपले बन्द गर्नेछ । त्यसैगरी देशभित्रको अन्तर्विरोध, सत्तासङ्घर्ष, कुर्सी एवम् पद हत्याउने खेल समाप्त पारिदिनेछ ।

४) समाजवादी व्यवस्थामा केन्द्रमा एक समाजवादी जनप्रतिनिधिसभा रहनेछ । यसको मुख्य जिम्मेवारी देशको कानुन निर्माण एवम् कानुनअनुरूप कार्यकारी निकाय सञ्चालित भएनभएको अनुगमन गर्ने हुनेछ । अन्य संरचनाहरू समाजवादी संविधानले निर्धारण गरेअनुरूपका हुनेछन् । समाजवादी जनप्रतिनिधिहरू जनताको मतद्वारा निर्वाचित हुनेछन् । तर सभामा श्रमिक जनता किसान, मजदुर, दलित, महिला, जनजाति, बुद्धिजीवी, सेना, युवाको समानुपातिक प्रतिनिधित्व हुनेछ । पुँजीको बलमा केवल अभिजात वर्ग वा उसले रुचाएका प्रतिनिधि मात्र निर्वाचित हुने संसदीय ढाँचाको अन्त्य गरिदिनेछ ।

५) वैज्ञानिक समाजवादको कार्यकारी प्रणाली अधिकतम जनवादी अर्थात् लोकतान्त्रिक हुनेछ । देशको कार्यकारी प्रमुख आमनागरिकहरूको प्रत्यक्ष मतद्वारा निर्वाचित गरिनेछ । तथापि यो जनउत्तरदायी, सामूहिक, एकीकृत हुनेछ । संस्थागत प्रणाली एवम् व्यक्तिगत उत्तरदायित्वको सिद्धान्तलाई अनुसरण गर्नेछ । यसले संसदीय अस्थिरता, अङ्कगणित, किनबेच सारालाई समाप्त पारिदिनेछ ।

६) समाजवादमा राजनीतिक दल खोल्न, प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुनेछ । जनताको प्रतिनिधि जनताकै मतद्वारा चुनिने पद्धतिलाई कडाइपूर्वक लागू गरिनेछ । त्यसमा आमनागरिक एवम् पार्टीहरूका बीचमा स्वच्छ प्रतिस्पर्धा लागू गरिनेछ ।

७) निजी एवम् संस्थागत रूपले वाक्, प्रदर्शन, सभा, प्रेस स्वतन्त्रता पूर्ण रूपले लागू हुनेछन् तथापि कुनै पनि अधिकारहरूको प्रयोग निजी एवम् संस्थागत स्वतन्त्रता र समाजवादी दायित्वसँग जोडेर गरिनेछ । यसले देशको स्वाधीनता र जनताको सामाजिक संमृद्धिलाई प्रत्यक्ष सघाउ पुर्याउनेछ ।

८) वैज्ञानिक समाजवादले वर्ग, जाति, लिङ्ग, क्षेत्र, समुदायलाई सम्पूर्ण रूपले अधिकार सम्पन्न गराउँदै देशको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, एकता एवम् अखण्डतालाई सर्वोपरि राख्नेछ ।

२) आर्थिक विशेषता

१) वैज्ञानिक समाजवादभित्र आर्थिक प्रणालीको नेतृत्व राज्यले गर्नेछ । यसो गर्दा योजनाबद्ध आर्थिक कार्यमा हरनागरिक सहभागी बन्नेछ । राज्यभित्रका हरेक संस्था, निकाय र कम्पनीहरू पूर्ण रूपले सक्रिय हुनेछन् ।

२) समाजवादी अर्थप्रणाली मूल रूपले समाज र हरेक नागरिकको जीवनप्रति उत्तरदायी हुनेछ । हरेक नागरिकका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मनोरञ्जन, यातायात र सूचनाको अधिकार सुनिश्चित हुनेछ । कुनै पनि नागरिकलाई सक्नेले गर्ने, सक्ने बाँच्ने भन्ने पुँजीवादी सिद्धान्तअनुसार व्यवहार गर्नेछैन । अत्यधिक समृद्धि उसको क्षमता हो तर न्यूनतम् जीवन व्यवस्थापनमा राज्यको दायित्व हुनेछ ।

३) राज्यको नेतृत्वमा व्यक्तिगत स्वामित्वको स्वतन्त्रता लागू गरिनेछ । समाजवादले हरेक नागरिकलाई शोषणरहित उत्पादनको अधिकार दिनेछ । नागरिकहरू आफ्नो क्षमताअनुसार उत्पादन, उपभोग र नियन्त्रण गर्न स्वतन्त्र हुनेछन् । सामाजिक समृद्धिसँगै निजी समृद्धि पनि संवद्र्धित हुनेछ ।

४) समाजवादभित्र कृषि उत्पादन र औद्योगिक उत्पादनलाई जोड दिइनेछ । कृषि उत्पादनद्वारा आत्मनिर्भर बन्ने र औद्योगिक उत्पादनद्वारा समृद्ध बन्ने नीति प्रयोग गरिनेछ । कृषिमा अनुदान र विशेष सुविधा उपलब्ध गराइनेछ भने उद्योगमा अधिकतम् प्रगतिशील करप्रणाली लागू गरिनेछ ।

५) हरेक आर्थिक नीति, योजना एवम् कार्यहरू राष्ट्रिय हितलाई केन्द्रमा राखेर सञ्चालन गरिनेछन् । अधिकतम् रूपले स्वदेशी उत्पादन र पुँजी परिचालनमा जोड दिँदै देशलाई हित हुने गरी विदेशी पुँजी लगानीलाई पनि भित्र्याइनेछ ।

६) राज्यभित्रको जमिनमा राज्यको स्वामित्व कायम गरिनेछ । जमिनमा हरेक नागरिकको समान अधिकार हुनेछ । तर उद्यम–व्यवसायको आवश्यकताअनुसार व्यक्तिले पनि जमिनको उपभोग गर्न पाउनेछ ।

७) दक्ष उत्पादक शक्तिको विकासमा जोड दिनेछ साथै हरेक नागरिकलाई उत्पादनकार्यमा सहभागी बन्ने अवसर प्रदान गर्नेछ ।

८) राज्यले नागरिक, संस्था एवम् उद्योगहरूमा लगाउने करप्रणाली अत्यधिक प्रगतिशील बनाउनेछ ।

९) बैङ्कहरूलाई पुँजी उत्पादन मात्र होइन, जनसेवामूलक पनि बनाइनेछ ।

१० ) राज्य, बैङ्क र वित्तीय संस्थाहरूबाट प्रवाह गरिने हरेक ऋणको ब्याजप्रणाली सर्वसुलभ बनाइनेछ ।

११) भूमण्डलीकृत पुँजीवादद्वारा हाम्रोजस्ता देशमा केवल मुनाफा सोहोर्नका लागि लगानी गर्न आउने र ल्याइने निगम पुँजी एवम् एकाधिकार पुँजीलाई रोकिनेछ ।

३) सामाजिक विशेषता

१) बिरामी र असक्त नागरिकका लागि सुरक्षा भत्ताको व्यवस्था गरिनेछ । पारिवारिक समस्या एवम् सामाजिक स्रोतको अभावले गर्दा सामान्य जीवनयापन, स्वास्थ्यजस्ता समस्यामा परेका बिरामी, असक्त नागरिकलाई राज्यले सेवा–सुविधा उपलब्ध गराउनेछ ।

२) सामन्ती व्यवस्थामा लादिएको अमानवीय जात व्यवस्थालाई उत्मूलन गरिनेछ । राज्यको नेतृत्वमा नयाँ एवम् समान मानव जातिको निर्माण गरिनेछ ।

३) समाजमा सामाजिक संस्कार, संस्कृतिको संरक्षण गर्दै धार्मिक अन्धविश्वास, बोक्सी, धामीझाँक्री प्रथालाई राज्यले उन्मूलन गर्नेछ । हरेक नागरिकलाई वैज्ञानिक ज्ञानद्वारा प्रशिक्षित गर्ने अभियान चालिनेछ ।

४) शिक्षा, स्वास्थ्य, यातायात, सूचनाजस्ता विषयलाई राज्यले आफ्नो स्वामित्वमा लिनेछ । यी क्षेत्रका विभेद, असमानतालाई अन्त्य गर्नेछ ।

५) शिक्षा, स्वास्थ्यलाई व्यापारीकरणबाट मुक्त गरिनेछ । साथै तीमाथि हरेक नागरिकका लागि आधारभूत रूपले समान अधिकार स्थापित गरिनेछ ।

६) शिक्षा, स्वास्थ्य, सूचनाजस्ता विषयमा राज्यले आमनागरिकका लागि समान अवसर उपलब्ध गराउँदै वैज्ञानिकीकरण गर्दै जानेछ ।

७) सुत्केरी आमा एवम् बालबालिकाको सेवा–सुरक्षालाई राज्यले विशेष रेखदेख गर्नेछ । उनीहरूको स्वास्थ्य विकासमा जोड दिइनेछ ।

४) सांस्कृतिक विशेषता

१) वैज्ञानिक समाजवादी राज्यले वैज्ञानिक जनसंस्कृतिको सिर्जना, विकास, संरक्षण गर्नेछ ।

२) नेपालको ऐतिहासिक विकासक्रममा जनताले निर्माण र विकास गरेका जनसंस्कृतिहरूको संरक्षण एवम् संवद्र्धन गर्नेछ ।

३) राज्यले समाजलाई कुप्रभाव पार्ने अन्धविश्वास, शोषण, विभेद, छाडा, अश्लील, वेश्यावृत्ति, जुवातास, लागूपदार्थ बेचबिखन, प्रयोग र चोरीडकैतीलाई रोक्नेछ ।

४) हरेक नागरिकले समय र श्रमलाई अधिकतम् सदुपयोग गर्ने संस्कारको विकास गर्नेछ ।

५) दुःखी, बिरामी, अशक्त, बूढापाका, पछि परेका नागरिकलाई मानवीय भावना राखेर सेवा गर्ने संस्कार निर्माण गर्नेछ ।

६) ज्ञान र श्रमलाई स्वदेशमै राखेर उत्पादनलाई निर्यात गर्ने संस्कृतिको विकास गर्नेछ ।

७) आफ्ना जनताको इतिहास, गौरव, पौरख, संस्कृतिको संरक्षण र विकास गर्ने गरी कार्यक्रमहरू विकास गर्नेछ ।

८) विदेशीको चाकरी गर्ने, मागेर–हात पसारेर खाने पराश्रित आदत, संस्कारको अन्त्य गर्नेछ ।

५) सुरक्षा नीति र विशेषता

१) वैज्ञानिक समाजवादले आफ्नो देश र जनताको रक्षालाई केन्द्रमा राखेर सुरक्षाप्रणालीको योजना बनाउनेछ । देशमाथि कुनै वैदेशिक हस्तक्षेप, अतिक्रम एवम् हमला हुन दिनेछैन । देशका हित हुनेबाहेकका सबै सन्धि–सम्झौताहरू खारेज गरेर समानता एवम् पञ्चशीलका सिद्धान्तअनुसार नयाँ सन्धि–सम्झौता गर्नेछ ।

२) राज्यले देशको रक्षा गर्न योग्य जनशक्तिको विकास गर्न हरेक १६ वर्ष पुगेका युवालाई सैन्य तालिम दिनेछ । नियमित सेनाको सङ्ख्या ठिक्क राखेर ठूलो सङ्ख्यालाई जगेडा शक्तिका रूपमा तयार गर्नेछ ।

३) आधुनिक विज्ञान–प्रविधि र वैज्ञानिकहरूको विकासमा जोड दिएर सुरक्षाप्रविधि स्वदेशमै उत्पादन गर्नेछ ।

४) जन्मभूमिको स्वाधीनतालाई केन्द्रमा राखेर आमजनतालाई देशको रक्षकमा रूपान्तरण गर्ने चेतनाको विकास गर्नेछ ।

६) कानुनी विशेषता

१) वैज्ञानिक समाजवादी राज्यको अवधारणाअनुसार समाजवादी मूल कानुन निर्माण गरिनेछ ।

२) केन्द्रदेखि स्थानीय (गाउँ) तहसम्म कानुनी व्यवस्थाअनुसारका न्यायालयहरू निर्माण गरिनेछ ।

३) हरेक कानुनहरू नागरिकहरूको सुविधालाई केन्द्रमा राखेर निर्माण गरिनेछ ।

४) हरेक नागरिकका लागि न्याय निःशुल्क एवम् सर्वसुलभ हुनेछ ।

७) अन्तर्राष्ट्रिय नीति

१) वैज्ञानिक समाजवादी राज्यले सबै मित्र एवम् छिमेकी देशहरूसँग पञ्चशीलको सिद्धान्तका आधारमा मैत्री सम्बन्ध कायम गर्नेछ ।

२) भारतसँग विगतमा गरिएका असमान सन्धि–सम्झौताहरू खारेज गर्नेछ ।

३) विश्वभरका श्रमिक जनताको न्यायपूर्ण सङ्घर्षलाई सहयोग गर्ने नीति अवलम्बन गर्नेछ ।

४) भूमण्डलीकृत पुँजीवादले विश्वका कुनै पनि देशमा गर्ने राजनीतिक, आर्थिक, सैनिक, सांस्कृतिक अतिक्रमण र हस्तक्षेपको विरोध गर्नेछ ।

५) विश्वमा न्याय, समानता, मानवता, स्वतन्त्रता, शान्ति एवम् समृद्धिका पक्षमा सहकार्य गर्नेछ ।

८) शैक्षिक र स्वास्थ्य क्षेत्रका विशेषताहरू

१) वैज्ञानिक समाजवादले शिक्षा र स्वास्थ्यलाई आफ्नो स्वामित्व एवम् दायित्वभित्र लिनेछ । यसले शिक्षा र स्वास्थ्यमाथिको वर्गीयता एवम् विविध चरित्रलाई अन्त्य गरी एक रूप समानतामा ल्याउनेछ ।

२) शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क उपलब्ध गराउनेछ । हरेक नागरिकले आफूले चाहेको शिक्षा समान रूपले हासिल गर्न पाउनेछ ।

३) शिक्षा वैज्ञानिक, प्राविधिक, जीवनोपयोगी बनाउनेछ । यसले शिक्षित बेरोजगारी एवम् अदक्षतालाई समाप्त पारिदिनेछ ।

९) प्राकृतिक साधन–स्रोत

१) वैज्ञानिक समाजवादले देशको प्राकृतिक स्रोतसाधनको अध्ययन, अनुसन्धान, संरक्षण र परिचालन गर्दै अधिकतम् रूपले आफ्नै उन्नति, समृद्धिका लागि सदुपयोग गर्नेछ ।

२) प्राकृतिक स्रोतसाधनमाथि स्थानीय जनताको अधिकार सुनिश्चित गर्दै उनीहरूको हित र उन्नतिका लागि उपयोग गर्नेछ ।

३) देशको प्राकृतिक स्रोतसाधनको असुरक्षित, अनियन्त्रित एवम् अराजक दोहन गर्न प्रवेश गर्ने विदेशी निगम पुँजीवादी एवम् एकाधिकार पुँजीवादीहरूलाई रोक्नेछ । लगानी भित्र्याउनु परेमा राष्ट्रहित हुने गरी उनीहरूलाई नियमन गर्नेछ ।

१०) सूचनासञ्चारका विशेषता

१) वैज्ञानिक समाजवादमा हरेक नागरिकका लागि सूचना प्राप्त गर्ने र प्रदान गर्ने हक सुनिश्चित गरिनेछ ।

२) निष्पक्ष, स्वतन्त्र, तथ्यसङ्गत सूचना प्रवाहलाई जोड दिइनेछ ।

३) सूचना प्रवाह गर्दा जनता र देशको हित, स्वतन्त्रता, स्वाधीनतालाई केन्द्रमा राख्नु पर्नेछ ।

४) देश, संस्था, व्यक्तिलाई लाञ्छित गर्ने गरी तयार पारिने बनावटी, प्रायोजित,झूट्टा, भ्रामक एवम् अश्लील सूचना प्रचारलाई रोक लगाइनेछ ।

(यो सामग्री नेकपाका महासचिव विप्लवको ‘वैज्ञानिक समाजवादका विशेषताहरू’ शीर्षक पुस्तिकाबाट लिइएको हो– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्