प्रचारयुद्ध र थबाङमा संसदीय रङ

क्रान्तिका केन्द्रहरू पनि बदलिन सक्छन्

संसदीय चुनावको रङ थबाङ र रोल्पामा मात्र चढेको होइन । क्रान्तिकारी आन्दोलनको प्रतीक थबाङ भएको र संविधानसभा २ मा शून्य मतदान गरेकै कारण संसदीय शक्तिहरूले त्यसलाई अतिसय र अस्वाभाविक महत्व दिएका हुन् । अर्कोतिर एउटै नेता र स्थानले सधैँ क्रान्तिको नेतृत्व गर्छ भन्ने छैन । क्रान्तिका केन्द्रहरू पनि बदलिन सक्छन् । जसरी नेतृत्वको वैचारिक र भौतिक मृत्यु सम्भव छ ।

दोस्रो चरणको संसदीय चुनावमा रोल्पाको उत्तरी एउटा गाउँ सर्वाधिक चर्चामा रह्यो । अलिकति पहलकदमी, अलिकति संयोग, अझ धेरै भौगोलिक र शासकीय व्यवहारका कारण थबाङ गाउँ कम्युनिस्ट अझ भनौँ क्रान्तिकारी माओवादी आधार क्षेत्रका रूपमा चर्चामा थियो । पञ्चायती काल, जनयुद्धकाल र दोस्रो संविधानसभामा एक मतसमेत खसाल्न अस्वीकार गरेर थबाङले आफ्नो रातो रङलाई चम्किलो पारिरहेको हो । नेताहरू विभाजित भएपछि जनता पनि विभाजित हुनु स्वाभाविक हुन्छ । माओवादी धारामा विभाजन आएपछि जनताको मन पनि विभाजित थियो ।

माओवादीमा औपचारिक विभाजन हुनुअगाडि नै थबाङ कब्जा गरेर देशभर सन्देश प्रवाह गर्ने प्रयास भइरहेको देखिन्थ्यो । त्यो दौडमा किरणको उति रुचि देखिएन अथवा उनले सकेनन् । प्रचण्ड र विप्लवमा मुख्य प्रतिस्पर्धा थियो । पार्टी विभाजनको सँघारमा थबाङमा कार्यक्रम राखेर वायुयानमा प्रचण्ड जाने भए । उनले विप्लवलाई सँगै लैजान ठूलै कसरत गरे । विप्लवलाई आफूसँगै लगेर प्रचण्ड रोल्पा र थबाङमा दुईवटा सन्देश दिन चाहन्थे– एक, विप्लव मसँगै छन् । हामी जे गर्दैछौँ, मिलेर गर्दैछौँ । वैचारिक–राजनीतिक समस्या छैन । तिमी थबाङेहरू रोल्पालीहरूका गोडामा चप्पल नभएर के भो र ? विप्लव र म वायुयानमा सयर गर्ने भएकै छौँ ।

उनी विप्लव र प्रचण्डको वर्ग एउटै, विचार र राजनीति एउटै भन्ने सन्देश दिन चाहन्थे । विप्लवले प्रचण्डको त्यो रणनीति असफल पारिदिए । प्रचण्ड एक्लै वायुयानमा गए । त्यसको केही दिनपछि ‘बाइरोडको बाटोमा धुलो उडाँउदै’ विप्लव थबाङ पुगे । त्यस्ता अनगिन्ती कथा छन् । जुन दौडमा प्रचण्ड, महरा, वर्षमानभन्दा विप्लव अगाडि थिए ।

थबाङ सहिद र जनयुद्धको आधारभूमि भएकाले यसको रङ बदल्न नदिने उद्देश्यले क. विप्लवको ठूलो परिश्रम थियो । आफ्नो जन्मभूमि, जनयुद्धको कर्मभूमि र राजनीतिक दायित्वसमेतका कारण त्यसो हुनु स्वाभाविक थियो । पछिल्लो समयमा प्रचण्डले रोल्पामा बजेट लग्ने, बाटो लग्ने, यता विप्लवले विचार र राजनीति लग्ने प्रतिस्पर्धा चलिरह्यो । पैसा र बाटोले क्रान्ति रोक्न सक्छ कि सक्दैन ? बहस चलिरहेको छ । यो बहसमा अमेरिका र बेलायतको मजदुर आन्दोलन छ । बर्माको जनयुद्ध छ र अहिले यो बहसमा थबाङ गाउँ जोडिएको छ । पैसा र बन्दुकले क्रान्ति रोक्न सक्थ्यो भने संसारमा हतियारको होडबाजी नहुनु पथ्र्यो । जी–२० शिखर सम्मेलनमा निषेधाज्ञा जारी गर्नुपर्ने थिएन । संसार उथलपुथलबाट गुज्रनु पर्दैनथ्यो होला ।

गएको फागुनमा अप्रत्यासित रूपमा नेकपाले आठौँ महाधिवेशन थबाङमै राख्यो । जनयुद्धको समयमा विप्लवकै नेतृत्वमा तत्कालीन माओवादीले होलेरी, घर्तीगाउँ–थबाङ सडक खन्न सुरु गरेको थियो । अहिले विप्लवकै नेतृत्वमा थबाङमा बहुद्देश्यीय विशाल सहिद स्मारक स्मृति भवन बन्दै थियो । थबाङको महाधिवेशन घोषणाले अनेक अड्कलबाजी भए । क्रान्तिकारी जनता र रोल्पामा उत्साहसँगै प्रचण्ड समूहमा छट्पटी देखियो । महाधिवेशन चलिरहेकै समयमा कृष्णबहादुर महरा विकासे कार्यक्रम लिएर थबाङ पुगे । त्यसपछि थबाङमा नेकपाको महधिवेशन चलिहरेको बेला त्यसको प्रभाव न्यूनीकरण गर्न प्रचण्ड समूहले लिबाङमा रोल्पा महोत्सव राख्यो । त्यसलाई निस्तेज गर्न नेकपाले घोषणासभा लिबाङमै राखिदियो । त्यसरी रोल्पाको विरासत कब्जा गर्न क्रान्ति र प्रतिक्रान्ति लगातार भिडन्त गरिरहे । क्रान्तिकारी प्रवृत्तिले प्रतिक्रान्तिलाई निरुत्साहित गरिरह्यो ।

गएको संसदीय निर्वाचनमा भने थबाङसहित रोल्पामा संसदीय रङ हाबी भयो । थुप्रै नेता र कार्यकर्ताका ग्रन्थीहरू रसाए । चुनावपरस्त प्रवृत्तिले पार्टीको आधारभूत नीति माने पनि हुने, नमाने पनि हुने गम्भीरताको अभाव प्रदर्शन गरे । पार्टी भनेको हाटे व्यापारीको व्यापार पक्कै होइन । आए पनि हुने, गए पनि हुने, जता फर्केर सामान बेचे पनि हुने होइन । एउटा पण्डितको कथा छ– एकजना पण्डित धेरै वर्षपछि बनारसको पढाइ सकेर घर आएछन् । धेरै वर्ष घरगाउँ छोडेकाले बिचरा पण्डितले घर जाने बाटै बिर्सेछन् । असजिलो पर्दा शास्त्र हेर्नु भन्ने गुरुहरूको अर्ती सम्झे । शास्त्रमा ‘जता धेरै मान्छे लाग्छन् त्यतै लाग्नू’ भन्ने लेखिएको रहेछ । पण्डितले यसो हेरेछन्, उकालोतिर एकजना हिँड्दै रहेको देखे । एक हूल मान्छे अर्कोतिर तेर्सो बाटो कतै जाँदै थिए । पण्डित धेरै मान्छे हिँडेको दिशातिर लागे । ती धेरै मान्छे त मसानघाट पो जाँदै रहेछन् । बिचरा पण्डित धेरै मान्छेतिर लाग्दा मसानघाट पुगेछन् । थबाङको पार्टी र त्यहाँका नेताहरूले लामो समय स्थानीय सत्ता चलाउँदै आएका थिए । त्यसको निरन्तर क्रान्तिकरण नहुँदा त्यहाँ सत्ताको कुहीगन्धे संस्कार हाबी भयो ।

थबाङ एउटा गाउँ हो तर आन्दोलनका दृष्टिले एउटा गाउँ मात्र होइन । नेकपाका देशभरिका कार्यकर्ताले गाँस काटेर थबाङमा पचासौँ लाख रकम पठाएको खेलबाडको विषय पनि होइन । हरेक आन्दोलनले नमुना (मोडेल) बनाएर अघि बढ्छ । जनयुद्धले रोल्पा र थबाङलाई मोडेल बनायो । एकीकृत जनक्रान्तिको नयाँ मोडेलका रूपमा पनि थबाङ र रोल्पालाई कायम राख्न खोजिएकै हो । तर त्यहाँको पार्टी र नेताहरूले त्यसलाई बुझ्न, थेग्न र लागू गर्न सकेनन् । थबाङ ढल्यो, घाइते भयो । नेताहरूले मत मागे तर जनताको एउटा पङ्क्ति मतदानमा गएन ।

थबाङ र रोल्पाका नकारात्मक पक्ष मात्र छैनन् । स्थानीय नेताहरूले पार्टी नीतिको विरुद्ध जाँदा पनि थबाङका जनताले अस्वीकार गरे । त्यो कार्य सेनाको ब्यारेकभित्र लड्नुभन्दा कमजोर थिएन । त्यसैगरी एकातिर माओवादी केन्द्रले कतिपय सहिद परिवालाई सुराकी गर्न, पक्राउ गर्न उक्साए भने कतिपय सहिद परिवारले मतपेटिकामा आगो लगाए । एकथरी मान्छेहरू झुसिलकीराझैँ दलाल संसदीय व्यवस्थाको चुनावमा दलालहरूकै प्रतिनिधि छान्न लाममा उङिरहेको बेला अर्कोथरी नेताहरू जेलमा थिए । खारेजी अभियानमा भोकैनाङ्गै भौँतारिइरहेका थिए । रोल्पामा क. विजयले भनेझैँ भयानक कोलाज छ । रगत नबगेको कुनै गाउँ छैन । सेना, प्रहरीले नपिटेको र लुटपाट नगरेको कुनै घर छैन । प्रचण्डप्रति विश्वास छैन । देउवा र दिल्लीका दलालहरूलाई थबाङले कहिल्यै स्वीकार गरेन । नयाँ क्रान्तिकारी धाराप्रति भरोसा आइसकेको छैन । कोही दलालतिर, कोही मुग्लान भासिएका छन् । रोल्पाको कोलाज कुनै पनि बेला भयानक विद्रोहमा बदलिन सक्छ ।

संसदीय चुनावको रङ थबाङ र रोल्पामा मात्र चढेको होइन । क्रान्तिकारी आन्दोलनको प्रतीक थबाङ भएको र संविधानसभा २ मा शून्य मतदान गरेकै कारण संसदीय शक्तिहरूले त्यसलाई अतिसय र अस्वाभाविक महत्व दिएका हुन् । अर्कोतिर एउटै नेता र स्थानले सधैँ क्रान्तिको नेतृत्व गर्छ भन्ने छैन । क्रान्तिका केन्द्रहरू पनि बदलिन सक्छन् । जसरी नेतृत्वको वैचारिक र भौतिक मृत्यु सम्भव छ । त्यसैगरी क्रान्तिका केन्द्रहरूको सम्बन्धमा पनि त्यो नियम लागू हुन्छ । थबाङमा पञ्चायती कालदेखि क्रान्तिकारी प्रवृत्तिले विजय हासिल गर्दै आएको थियो । यसपटक नवसंशोधनवादले अस्थायी जित हासिल गरेको छ । तर नेपाली जनता दलालका विरुद्ध, राष्ट्रघातीका विरुद्ध फेरि उठ्नेछन् । त्यसको विकल्प छैन । जीवनमा हारहरू हुन सक्छन् । तर सत्य र न्यायको नै अन्तिम जित हुन्छ । रोल्पा र थबाङको सन्दर्भमा पनि त्यो सत्य हो ।

२०७४ साउन २७ गते ६ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :