रोजा लक्जेम्बर्ग

चिनारी

नाम : रोजा लक्जेम्बर्ग
नागरिक : पोल्यान्ड
विशेषता : अन्तर्राष्ट्रिय समाजवादी नेत्री
जन्म : ५ मार्च, १८७०
निधन : १२ जनवरी, १९१९

एउटी विद्रोही केटी, जो हाईस्कुलमा अध्ययनरत रहँदा नै क्रान्तिकारी समूहमा सक्रिय थिइन् । उनी आपनो सहर कब्जा गरेर बस्ने जारशाही शासनबाट मुक्ति चाहन्थिन् । प्रहरीको दृष्टि उनीमाथि पर्यो । तर उनी एक पादरीको सहयोगमा परालले ढाकिएको गोरुगाडामा लुकी स्विट्जरल्यान्ड पुगिन् । त्यहाँको विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा उनले डक्टरेट गरिन् ।

हो, तिनै विद्रोही र साहसी रोजाको जन्म पोल्यान्डको जामोस्कमा भएको थियो । उनका बाबु एक ठूला काठ व्यापारी थिए । उनी शिक्षित र रुसी साम्राज्यवादविरोधी सङ्घर्षलाई सहानुभूति राख्ने खालका थिए । उनकी आमा पढेलेखेकी महिला थिइन् । उनी यहुदी परिवारकी शिक्षित र रुसी साम्राज्यवादविरोधी सङ्घर्षलाई सहानुभूति राख्ने गर्थिन् । यहुदीलाई त्यसबेलाको रुस र युरोपमा हेला गरिन्थ्यो । रोजाका ५–५ भाइ र बहिनी थिए । उनी सबभन्दा कान्छी थिइन् ।

उनले पाँच बर्षको उमेरमा पढाइलेखाइ सुरु गरिन् । उनी एक हिसी परेकी, जाँगरिली र चलाख केटी थिइन् । उनी जे कुरा पनि सिक्न इच्छुक हुन्थिन् । पढाइमा उनी तीक्ष्ण थिइन् । उनी शारीरिक रूपले दुब्ली, पातली र अलि पुड्की थिइन् तर जब्बर विद्रोही थिइन् ।

रुसी साम्राज्यवादले पोल्यान्डका जनतालाई जतिजति दबाउदै गयो, त्यतित्यति पोल्यान्डबासीमा देशभक्तिको भावना जाग्दै गयो । क्रान्तिका निम्ति उनी तयार हुन थालिन् । रोजा पनि ‘सर्वहारा मजदुर पार्टी’ मा सामेल भई भूमिगत रूपमा काम गर्न थालिन् । त्यसै क्रममा प्रहरीको दृष्टि पर्न थालेपछि उनी स्विट्जरल्यान्ड गइन् ।

त्यसबेलाको स्विट्जरल्यान्ड राजनीतिक प्रवासीहरूको केन्द्र थियो । त्यहाँ उनले मार्क्सवादको अध्ययन थालिन् । जुरिचका चियापसलमा बसेका युवा, विद्यार्थी र राजनीतिक कार्यकर्ताहरू रातोपिरो हुँदै बहस गर्थे । उनी तिनीहरूलाईबहसमा मात्र नलगाई राजनीतिक गतिविधि र क्रान्तिमा लगाउन चाहन्थिन् । जुरिच विश्वविद्यालयमा राजनीतिमा गनिएका प्राध्यापक जुलियस जो पुँजीवादी विचार राख्थे, सँग वादविवाद गर्थिन् । जुरिचको बसाइमै उनी सचेत र गम्भीर मार्क्सवादी बनिन् । त्यस बेला त्यहाँ विभिन्न देशबाट आएका मार्क्सवादीहरूसँग उनी सैद्धान्तिक र राजनीतिक बहस गर्थिन् । यसरी उनले आपनो दृष्टिकोणलाई गहन र फराकिलो पारिन् ।

सन् १८९४ मा केही समाजवादीसँग मिली पोल्यान्डमा ‘सामाजिक जनवादी पार्टी’ निर्माण गरिन् । तर पनि अन्य मार्क्सवादीसँग राष्ट्रियताको सवालमा उनको मतभेद भयो । उनी पार्टीबाट हटिन् ।

पढाइ समाप्त भएपछि पत्रकार बन्न चाहने रोजाले जर्मनी जाने फैसला गरिन् । उनी आफ्ना विचार सशक्त रूपमा प्रस्तुत गर्थिन् । उनी राजनीतिक वादविवादमा कहिल्यै पछि हट्ने खालकी थिइनन् । स्विट्जरल्यान्डमा प्लेखानोभसँग टक्कर लिने रोजाले जर्मनीमा बर्नस्टिनको सुधारवादी र शान्तिपूर्ण परिवर्तनको झुकावका विरुद्ध सङ्घर्ष गरिन् । राष्ट्रियताका सवालमा लिब्नेख्ट र कार्ल काउत्सकीसँग उनी भिडिन् भने कैयौँ सवालमा लेनिनसँग पनि बाझिन् । उनको एउटा स्वभाव कस्तो थियो भने ठूलठूला नेता भन्दैमा सङ्कोच र हीनताबोध लिँदैनथिन् ।

जर्मनीमा उनले वामपन्थी, सामाजिक र जनवादीहरूको सङ्गठन ‘स्पार्टाकस सङ्घ’ गठन गरिन् । त्यो सङ्घ र क्रान्तिकारी नेताको आह्वानमा ९ नोभेम्बर १९१८ का दिन उनले बर्लिन कब्जा गरी सत्ता पल्टाइन् । तर अवसरवादीहरूले क्रान्तिकारी आन्दोलनमा फुट ल्याए । तिनीहरूले प्रतिक्रियावादीहरूलाई एकजुट पारी मजदुर वर्गमाथि आक्रमण थाले । स्पार्टाकसवादीहरू जुझारु सर्वहारा पार्टीका रूपमा निर्माण भइसकेका थिएनन् र सङ्कटका बेला नै सच्चा क्रान्तिकारी पार्टी नहुनाले प्रतिक्रियावादीहरूको निर्मम दमन त्यसले झेल्नुपर्यो । अन्ततः पराजय भोग्नुपर्यो । हुनत सुरुमै रोजाले परिस्थिति अनुकूल नभएको तर्क पेस गरेकी थिइन् तर कसैले उनको तर्क सुनेनन् र बहुमतको निर्णय मानेर उनी पनि विद्रोहमा उत्रेकी थिइन् ।

कैजर सत्ताच्यूत भएपछि फ्रेडरिक एवर्ट आए । उनले जनरल विल्हेल्म ग्रेनरसँग गोप्य साँठगाँठ गरी वामपन्थीका विरुद्ध दमनात्मक षड्यन्त्रमा जुटेर रोजाको हत्याका लागि जाल फिँजाए । उनले रोजाको टाउकाको मोल १ लाख मार्क तोके । रोजा र लिब्नेख्तलाई बर्लिनबासीले आश्रय दिनु अपराध घोषणा गरियो । तर ज्यानको खतरा झेलेर पनि यी दुई नेतालाई बर्लिनबासीले घरमा लुकाए । तथापि १५ जनवरी १९१९ को रात रोजा र लिब्नेख्तलाई गिरफ्तार गरियो । त्यस दिन जर्मनीको कम्युनिस्ट पार्टी स्थापनाको दोस्रो साता थियो ।

रोजालाई गिरफ्तार गरेपछि सैनिकले उनलाई जमिनमा पछारे । तिनीहरूले राइफलको कुन्दाले उनको टाउकोमा हाने । भाग्न लागेको आरोपमा दुवैलाई लगातार गोली हानियो । त्यति मात्रै होइन, रोजाको मृत शरीरमा गोली प्रहार गरी गाडीमा कोची क्षतविक्षत बनाई नदीमा फ्याँकियो ।

रोजाले आपनो व्यक्तिगत स्वार्थलाई कहिल्यै हेरिनन् । उनले शत्रुसँग कहिल्यै सम्झौता गरिनन् । त्यसैले लेनिनले समेत भनेका थिए, ‘रोजा हाम्रा लागि बाज थिइन् र रहिरहनेछिन् । संसारभरका कम्युनिस्टहरूले उनको सम्झना मात्र गर्नेछैनन्, रोजाको जीवनी र उनका सम्पूर्ण रचनाले कम्युनिस्टका कैयन् पिँढीलाई प्रशिक्षित गर्ने अत्यन्त उपयोगी ग्रन्थका रूपमा समेत काम गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :