नेकपा रिब्दिकोट गाउँपालिकाको भेला सम्पन्न

नेकपा रिब्दिकोट गाउँपालिकाको भेला सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी रिब्दिकोट गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । बिहीबार रिब्दिकोट गाउँपालिकाको देउरालीमा प्रथम भेला सम्पन्न भएको हो । उक्त भेलाले सहिद परिवारका सदस्य आकासलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले १५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले वैज्ञानिक समाजवादी व्यवस्थाको आधारभूत आधार, यसको नीति तथा कार्यक्रम र यसलाई प्राप्त गर्न पार्टीले अगाडि सारेको जनमतसङ्ग्रहका बिषयमा प्रशिक्षण मुलक मन्तव्य राखेकी थिइन् । यस्तै विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले पार्टीको एकीकृत जनक्रान्ति र वर्तमान सत्ताले अगाडि सारेको राष्ट्रिय अपराधका बारेमा धारणा राखे । उनले राष्ट्रिय अपराध अहिले एमसीसी पास वर्तमान सरकारले गर्न लागिरहेकोले यसलाई प्रतिवाद गर्नुपर्ने बताए ।

भेलाको अध्यक्षता आकासले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका जिल्ला सचिव दामोदर अधिकारीले राखेका थिए भने अतिथिहरू जनपत्रकार सङ्गठन, नेपाल पाल्पा जिल्ला मुक्ति गैरे, अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष सुदिप विक, सहिद परिवार समाजका सदस्य योगेन्द्र थापा, कुमाल राष्ट्रिय मुक्ति नेपालका जिल्ला संयोजक धनबहादुर कुमालको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन दलबहादुर सन्माने मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :