नेकपा दाङको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा दाङको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । घोराहीमा बिहीबार सम्पन्न भएको नेकपा दाङको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रशिक्षण दिएका थिए ।

नेता बास्तोलाले कार्यक्रममा प्रशिक्षणात्म मन्तव्य राख्दै वर्तमान संसदीय व्यवस्था र दलाल पुजीवादी उत्पादन सम्बन्ध नै सबै समस्याको मुख्य कारक तत्व भएको बताए ।
उनले भ्रष्ट संसदीय प्रणालीले देश बर्बाद पारिरहेको भन्दै दलाल पुजीवादलाइई फस्टाउन देशमा खोलिएका उद्योग, कलकारखानाहरु बन्द गरिएको जिकिर समेत गरे ।
जनताको सम्पत्ति, उद्योग धन्दा, कलकारखाना बेच्ने दलालहरुका विरुद्ध जनता बम बनेर पड्किने भन्दै जनता र राष्ट्रका विरुद्धमा गरिने कार्यको पार्टीले अग्रमोर्चामा रहेर संघर्ष गर्ने बताए ।

नेता बास्तोलाले सुखी नेपाली, समृद्ध नेपालको भजन गाएर संसदवादी दलहरुले दुखी नेपाली र कंगाल नेपाल बनाउन सफल भएको बताए ।
एक फरक प्रसंगमा नेता बास्तोलाले जनताले कम्युनिस्ट नामधारीलाई अत्याधिक मत दिएर जिताए तर सरकार कांग्रेसको बन्नु भ्रष्ट व्यवस्थाको चमत्कार भएको पनि बताए । एमसिसी परियोजनामार्फत अमेरिका चिनलाई प्रहार गर्न नेपाललाई औपचारिक स्टेसन बनाउन चाहेको नेता बास्तोलाको भनाइ थियो ।
बास्तोलाले नेपालमा तमाम आन्दोलनहरु भएको तर क्रान्ति नभएको भन्दै असफल क्रान्तिलाई सफल पार्ने कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा भएको बताए ।
एक अर्को प्रसंगमा नेता वास्तोलाले यो संविधान खारेज गरेर प्रगतिशील संयुक्त सरकार गठन गरी त्यही अन्तरिम सरकारको नेतृत्वमा जनमतसंग्रहको घोषणामार्फत जनतालाई व्यवस्था चुन्ने अधिकार दिनु नै अहिलेको सबैखाले संकटको निर्विकल्प समाधान भएको दाबी गरे । शान्ति, समृद्धि, स्वाधीनता, राजनीतिक स्थिरता वैज्ञानिक समाजवादले ज्ञारेन्टी गर्ने नेता बास्तोलाको उद्घोष थियो ।

नेता बास्तोलाले केही कम्युनिस्टहरुले जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद सम्भव नभएको भन्दै अनेक भ्रम छरेको बताए । उनले आफ्नो पार्टीले शान्तिपूर्ण ढंगले वार्ता र सम्वादद्वारा नेपालका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक समस्याहरु हल गर्न तयार भएको तर राज्य ३ बुँदे सहमतिको पालना गर्न जिम्मेवारीका साथ अघि नबढे जनताले बिद्रोह गर्न बाध्य हुने चेतावनी दिए ।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रशिक्षण कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले पार्टी स्कुलिङ महत्वपूर्ण भएको भन्दै तल्लो कमिटीसम्म स्कुलिङ संचालन गर्ने बताए । नेता शितलले संसदिय व्यवस्था नेपालमा असफल सिद्ध भइसकेको भन्दै विकल्पमा आफ्नो पार्टीले वास्तविक शान्ति, समृद्धि, स्वाधिनता, जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको पूर्ण ज्ञारेन्टी हुने वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको लागि जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भन्ने विषयमा जनमतद्वारा व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने कार्यनीतिक एजेन्डामा दृढ रहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला विशेष कमिटी सेक्रेटरी सुन्दर, नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला विशेष कमिटी सदस्य द्वय विक्रम र सम्झना, युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटन, नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला सेक्रेटरी गणेशको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा दाङ जिल्ला अन्तर्गतका पार्टीका पालिका कमिटीका इन्चार्जहरुले आआफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए भने जिल्लाको समग्र रिपोर्ट जिल्ला सेक्रेटरीले राखेका थिए । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर इन्चार्ज तिलकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य किरणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :