सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग गर्ने राष्ट्रघाती कदम

सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग गर्ने राष्ट्रघाती कदम

वस्तुको आविष्कार र निर्माणभित्र कला समायोजनले विशेष महत्त्व राख्छ । बजारमुखी उत्पादनको प्रचार–प्रसार र व्यवस्थापनमा समेत कलाको अहम् भूमिका रहँदै आएको छ । कला व्यवसायको प्रमुख विधाका रूपमा रहेको लिपिकलाले अनेकौँ विषयलाई छोएको हुन्छ । लिपिकलालाई छाडेर कुनै पनि व्यावसायिक उत्पादनका लागि गरिएको सिर्जना पूर्ण हुँदैन । कार्यालय, उद्योग, व्यवसाय, सवारी साधनको परिचय खुलाउन लिपिकलाको आवश्यकता हुन्छ । सवारी साधनको परिचय खुलाउन प्रयोग गरिने नम्बर प्लेट सुन्दर र प्रस्ट देखियोस् भन्ने चाहनाका साथ कलाकारलाई सुन्दर लिपिमा लेखाउने चलन निकै पुरानो हो । लिपिकलासँग जोडिएका उपयोगी कलाजीवी श्रमिक कलाकारहरू सवारी साधनको नम्बर प्लेट लेख्ने कार्यमा हालसम्म पनि लागिरहेकै छन् । कैयौँ श्रमिक कलाकारहरू सवारी साधनको नम्बर प्लेट लेखेर नै आफ्नो दैनिकी पनि चलाइरहेका छन् ।

लेखक : अग्निराज पौडेल

राज्यसत्ता श्रम, सीप र कलामैत्री नहुनाको परिणाम आजसम्म पनि कलाकारले कलाको माध्यमबाट आफ्नो भविष्य सुरक्षित बनाउन सकेका छैनन् । नेपालमा सबै क्षेत्रका श्रमिक, उपयोगी कलाकार र अन्य विधाका कलाकारहरूको झन्डैझन्डै आर्थिक अवस्था एकै प्रकारको रहेको छ । लिपिकलासँग जोडिएका व्यावसायिक कलाकारहरूको अवस्था त झनै नाजुक रहेको छ । थोरै पारिश्रमिकका लागि पनि कडा मेहनतका साथ काम गर्ने तर उचित पारिश्रमिक नपाउने, त्यसको मुनाफाको मूल हिस्सा कार्यालयका कर्मचारी र मध्यस्थकर्ताको भागमा जाने तितो अनुभवका साथै ठूलो लगानीसहित भित्रिने नयाँ प्रविधिसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती व्यावसायिक कलाकारहरूलाई छँदैछ । सरकारी, गैरसरकारी उद्योग, व्यापारिक प्रतिष्ठानहरूले व्यावसायिक उत्पादनको प्रचार–प्रसारलगायतको कार्यमा सोझै कलाकारसँग नजोडिएर विज्ञापन एजेन्सी वा बिचौलियामार्फत कार्य गराउने र मुनाफाको मोटो हिस्सा विज्ञापन एजेन्सी वा बिचौलियाले कमिसनका रूपमा लैजाने र कलाकार भने न्यून पारिश्रमिकमा खुम्चिनुपर्ने यथार्थ बेहोर्दै आएका छन् ।

केही वर्षयता ‘इम्बोस्ड नम्बर प्लेट’ को चर्चा चलिरहेको छ । फाट्टफुट्ट सवारी साधनमा जडान गरेको पनि देखिन्छ । सरसर्ती बुझ्दा यो आधुनिक प्रविधिसँग जोडिएर ठूलो लगानीका साथ भित्रिएको एक इलेक्ट्रोनिक्स डिभाइसजस्तो मात्र देखिन्छ जुन सवारी साधनसँग जोडिएर हुने अपराध नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको भनिएको छ । यसलाई सतही रूपमा हेर्दा राम्रैजस्तो लाग्दछ तर यसभित्र लुकेका विषयतिर ध्यान दिएर मनन गर्ने हो भने नेपालजस्तो मुलुकमा यो ‘इम्बोस्ड नम्बर प्लेट’ लागू गराउनु पूर्ण रूपमा घातक छ । तर सरकार यो प्रणाली लागू गराउन मरिमेटेर लागेको छ । दसौँ अर्बको कारोबार हुने यो नम्बर प्लेटको लेखनको नैसर्गिक अधिकार यहाँका व्यावसायिक कलाकारहरूको नै हुनुपर्ने हो । सरकारले व्यापार गर्ने होइन, न त कुनै अमूक व्यक्ति वा संस्थालाई नै पोस्ने काम गर्ने हो ।

नयाँ तथा आधुनिक प्रविधि अँगालेर अघि बढ्नु, राम्रो कुराको अनुसरण गर्नु अहिलेको पहिलो आवश्यकता हो । कुनै पनि प्रविधि अँगाल्नुभन्दा पहिले त्यसको दीर्घकालीन र अल्पकालीन असरबारे सोच–विचार गर्न आवश्यक हुन्छ तर ‘इम्बोस्ड नम्बर प्लेट’ भित्र्याउँदा दीर्घकालीन र अल्पकालीन असरबारे सोचविचार र छलफल नगरी निजी फाइदातिर मात्र हेरेको देखियो । यसले निम्त्याउने भयावह अवस्थाबारे कल्पना गर्दा मात्र पनि जिउ सिरिङ्ग हुन्छ ।

नेपालमा करिब १५ हजारको सङ्ख्यामा कलालाई जीविकोपाजर्नको माध्यम बनाएर स्वरोजगारीमा बाँचेका कलाजीवी श्रमिक उपयोगी कलाकारहरू र त्यसमा आश्रित परिवार छन् । स्वरोजगारीको त्यत्रो ठूलो जमातलाई लत्याएर ‘इम्बोस्ड नम्बर प्लेट’ कार्यान्वयनमा ल्याउनु भनेको परजीवी माफिया, कमिसनखोर, भ्रष्ट–दलाल र नोकरशाहहरूको पक्षपोषण गर्दै कलाजीवी श्रमिक कलाकारहरूको रोजीरोटी खोसेर यो पेसाबाट नै पलायन गराउने षड्यन्त्र सिद्ध हुनेछ ।

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता ‘बङ्गलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनी डेकाटुर टाइगर’ नामक संस्थासँग गरिएको छ । डेकाटुर टाइगर र नेपाल सरकारका तर्फबाट यातायात व्यवस्था विभागसँग गरिएको सम्झौतामा कमिसनको ठूलो चलखेल देखिन्छ । साधारणतया रु. ४०० देखि १५,०० सम्ममा जस्तासुकै नम्बर प्लेट उपयोगी कलाकारहरूले तयार गर्ने गरेका छन् तर कथित इम्बोस्ड नम्बर प्लेट जडान गर्न रु. २,५०० देखि रु. ४,००० सम्म पर्नेछ । यसको सोझो मार उपभोक्तामा पर्ने मात्र होइन, यसभित्र लुकेको ठूलो कमिसनको खेल प्रस्ट हुन्छ ।

नेपालमा ‘इम्बोस्ड नम्बर प्लेट’ जबर्जस्ती कार्यान्वयनमा लैजान प्रक्रिया अघि बढाइएको छ । यो नेपाली भाषा–लिपि, वर्णाक्षर र अङ्कसमेत समाप्त पार्ने आत्मघाती र राष्ट्रघाती दुराशययुक्त छ । नेपालको सार्वभौमिकतामाथि गम्भीर आँच पुर्याउँदै सिङ्गो राष्ट्र र नागरिकको गोपनीयताको हकसमेत समाप्त पार्ने विषाक्त उद्देश्य र साम्राज्यवादी योजनामा ल्याइएको ‘इम्बोस्ड नम्बर प्लेट’ तत्काल खारेज गरिनुपर्दछ । नेपालमा सञ्चालन हुने कुनै पनि सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को प्रयोग हुनु भनेको साम्राज्यवादी योजनामा नेपाललाई उसकै सुरक्षा छाताभित्र राख्ने उद्देश्यका साथ भित्र्याइएको योजना हो । यसप्रकारको राष्ट्रविरोधी कार्यको जति भत्र्सना र निन्दा गरे पनि कमै हुन्छ ।

ट्राफिक र यात्रुहरूको हितरक्षासँग सरोकार राख्ने नम्बर प्लेटमा नेपाली भाषाको वर्णाक्षर र अङ्क पर्याप्त हुँदाहुँदै पनि अङ्ग्रेजी लिपि प्रयोग हुने आत्मघाती ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग गरिनु नेपाली जनताको नैसर्गिक भाषिक र गोपनीयताको हकको गम्भीर हनन हुनु हो । तथाकथित सरल र प्रविधिमैत्रीको आवरणमा नेपाल र नेपाली जनताको अस्तित्व समाप्त पार्ने यसप्रकारको साम्राज्यवादी नीति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । आधुनिक प्रविधिबाट विश्वका अन्य देशले चौतर्फी प्रभाव विस्तार गर्ने तर त्यही प्रविधिको आबरणमा हामी नेपालीहरूलाई खुम्च्याउने यो भयानक षड्यन्त्र नभए के हुन सक्छ ! नेपालको दलाल संसदीय सत्ताले नेपाल र नेपाली जनताको सार्वभौम अस्तित्वमाथि दिनदहाडै धावा बोल्दै अघि सारेको आत्मघाती, जनघाती तथा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ का विरुद्ध सम्पूर्ण श्रमजीवी कलाकार र नेपाली जनता एकजुट भएर सङ्घर्ष गर्न आवश्यक छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ को प्रतिलिपि अधिकार नेपाल सरकार, यातायात मन्त्रालय र यातायात विभागलाई समेत हुँदैन । यसबाट नेपालको सार्वभौमिकतामाथि दीर्घकालीन गम्भीर असर मात्र पुग्दैन, यो हजारौँ श्रमजीवी उपयोगी कलाकार (आर्टिस्ट) मजदुरहरूको रोजीरोटी खोस्दै साम्राज्यवादी स्वार्थ पूरा गर्ने गैरन्यायिक, बेइमानीपूर्ण, जनतामारा तथा राष्ट्रमारा छ । यसले जनताको भाषिक अधिकार र गोपनीयताको हकको खिल्ली उडाउँदै देशको राजस्वसमेत विदेशी कम्पनीलाई बुझाउन बाध्य पार्दैछ ।

विडम्बना नै भन्नुपर्छ, कुनै पनि नयाँ प्रविधि भित्र्याउँदा विश्वका हरेक मुलुकले समाजमा पर्ने दीर्घकालीन असर, राष्ट्रिय सुरक्षा, नागरिकको मौलिक हकअधिकारको विशेष रूपमा ध्यान पुर्याउने गर्छन् तर नेपालमा व्यक्तिगत फाइदा, त्यसबाट प्राप्त हुने कमिसन र नजरानाप्रति मात्र ध्यान पुर्याउने गरेको देखिन्छ । यसको एउटा उदाहारण यसबारे सोचविचारै नगरी गत २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले ‘इम्बोस्ड नम्बर प्लेट’ को हतार–हतार उद्घाटन गर्नुले पुष्टि गर्दछ । नेपालमा सोचविचार नै नगरी हचुवाको भरमा काम अघि बढाउने र राष्ट्रको ढुकुटी दोहन गर्ने प्रतिस्पर्धामा लागिहाल्ने चलन पुरानो नै हो । यसअघि गरिएका विभिन्न सम्झौताहरूले पनि यो कुराको पुष्टि गरिसकेको छ ।

‘नेपाली नम्बर प्लेट’ हटाउँदै र ‘इम्बोस्ड नम्बर प्लेट’ ‘ग्लोबल भिलेजको अवधारणा आत्मसात गर्न अङ्ग्रेजी अल्फाबेट प्रयोग गर्ने निर्णय गरेको’ भनिए पनि यो सरासर हास्यास्पद तर्क मात्र साबित हुन जान्छ किनभने विश्वका धेरै मुलुकमा यो सिस्टम लागू गराउँदा समाजमा पर्ने दीर्घकालीन असर, राष्ट्रिय सुरक्षा, नागरिकको मौलिक हकअधिकारमा असर नपर्ने गरी राष्ट्रिय हितलाई पहिलो महत्त्व दिएर कार्य अगाडि बढाइएको छ । कति मुलुकले आफ्नै लिपि र सफ्टवेर प्रयोग गरेका छन् । कतिपय मुलुकले आफ्नो मौलिक लिपि र अङ्ग्रेजी दुबै प्रयोगमा ल्याएका छन् ।

अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले भाषा र लिपिलाई मूल विषय बनाएर सर्वोच्च अदालमा मुद्दा हालेका थिए । उक्त मुद्दामाथि प्रथम सुनुवाइ गर्दै २०७४ फागुन १० मा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अर्काे आदेश नभएसम्मका लागि ‘इम्बोस्ड नम्बर प्लेट’ लागू नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसलाई एउटा सानै भए पनि सकारात्मक कदम मान्नुपर्छ । तर विडम्बना नै भन्नुपर्छ, २०७६ मङ्सिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासले त्यो मुद्दा नै खारेज गरिदियो ।

नेपाली भाषाको उचित प्रयोगका पक्षमा र दुरुपयोगका विरुद्ध मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल र नेपाली भाषा बचाऔँ अभियानले लामो समयदेखि कानुनी, आन्दोलनात्मक अभियानहरू सञ्चालन गर्दै आएको छ । सवारी साधनमा प्रयोग हुने नाउँ÷प्लेटमा अङ््ग्रेजी भाषाको प्रयोगका विरुद्ध सञ्जाल र अभियानले सङ्घर्ष नै गर्दै आएका छन् । नेपाली भाषाको खण्डीकरण, विरूपीकरण, भ्रष्टीकरण, परिमार्जनका नाउँमा नेपाली व्याकरणको मनपरी प्रयोग र अराजकताका विरुद्ध सञ्जालले लामो समयदेखि आन्दोलन चलाएका कारण नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाली भाषा केन्द्रीय विभाग, शिक्षा मन्त्रालय सबै आफ्ना गलत निर्णय सच्याउन बाध्य बनेका थिए र प्रज्ञा प्रतिष्ठान भ्रष्टीकरण भइसकेको बृहत् नेपाली शब्दकोश पुनः परिमार्जन गर्न बाध्य बनेको थियो । पछि प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नम्बर प्लेटमा नेपाली अक्षर र अङ्क (देवनागरी लिपि) को प्रयोग हुनुपर्ने विषय उठाए पनि सरकारले सुन्दै सुनेन । भाषा बचाऊ आन्दोलनमा लागेका सञ्जाल र अभियानहरुको निरन्तरको अभियान र आन्दोलनविरुद्ध सरकार उल्टै कानुनी प्रतिरक्षामा गएको ध्यानाकर्षण गराएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग हुन लागेको भए तत्कालै रोक्न आदेश दिएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रधानमन्त्रीको निर्देशनपछि इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोगको सम्भावनाबारे छलफलमा जुटेको थियो, समय बितेसँगै त्यो चासो पनि सेलाएर गयो । प्रधानमन्त्रीको चासो अरू अभिव्यक्तिजस्तै उखान टुक्कामा नै सीमित रह्यो । २०७८ साउन १ गतेबाट पुनः इम्बोस्ड नम्बर प्लेटको वितरण सुरु गरिएको छ ।

भनिँदैछ, नेपाल सार्क र बीबीआईएन (भुटान, बङ्गलादेश, इन्डिया र नेपाल) को सदस्यसमेत भएकाले नेपालमा दर्ता भएका सवारी साधन भारत, बङ्गलादेश, भुटान, चीन मात्रै नभई युरोपसम्म जान सक्नेछन् । इम्बोस्ड नम्बर प्लेटमा जडान हुने अत्याधुनिक प्रविधि आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिटेल) चिप्ससहितको स्टिकरले गाडी रहेको स्थान, गाडीको अवस्थालगायतको जानकारी दिने भएकाले यसले गोपनीयताको अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ ९९ प्रतिशत आल्मोनियमबाट रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरी बनाइएको हुन्छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ जडान भएपछि कुन सवारी साधन कुन ठाउँमा गइरहेको छ, कसको सवारी हो, कसले प्रयोग गरिरहेको छ, यी सबै विवरण विभागका कर्मचारी तथा ट्राफिक प्रहरीले सहजै थाहा पाउन सक्नेछन् । यो नेपालको संविधान २०७२ को धारा १(१), धारा ७(१), धारा २८ र धारा ३२(३) समेतको प्रतिकूल रहेको छ । नेपालका राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिदेखि सर्वसाधारणसम्मले प्रयोग गर्ने नम्बर प्लेटमा ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग हुनाले राष्ट्रिय सुरक्षाको हिसाबले पनि संवेदनशील र गम्भीर छ । अमेरिकाले बिन लादेनदेखि इरानी विशेष सेनाका प्रमुख जनरल कासिम सुलेमानीको हत्यामा समेत ट्राफिक चेकिङको यस्तै विधि प्रयोग गरेको थियो । ‘इम्बोस्ड नम्बर प्लेट’ जडानपछि सवारी प्रयोग गरी हुने आपराधिक घटना न्यून हुने भनिएको छ । हाम्रोजस्तो मुलुकमा धेरै आपराधिक गतिविधिमा प्रत्यक्ष–अप्रत्यक्ष प्रहरीहरूको मिलोमतो देखिने गरेको छ । यस्तो अवस्थामा झन् तीव्र गतिमा भेहिकल क्राइम बढ्ने सम्भावना हुन्छ ।

यसर्थ ‘इम्बोस्ड नम्बर प्लेट’ ठूलो हिस्सामा रहेका मजदुरको मजदुरी खोसेर उद्योगपति, व्यापारी र बिचौलिया पोस्ने, स्वरोजगारीको अवस्थामा जीविकोपार्जन गरिरहेका व्यावसायिक कलाकारविरोधी, उपभोक्तामारा, राष्ट्रिय पहिचान र सवारी साधनको क्षेत्रगत पहिचानविरोधी, भाषा र आफ्नो मौलिक पहिचानसमेत मेटाउने भएकाले भाषाघाती, राष्ट्रिय सुरक्षाको हिसाबले प्रत्यक्ष असर गर्ने राष्ट्रघाती तथा श्रमिकमारा निर्णयका विरुद्ध सशक्त प्रतिकारमा उत्रिन देशभक्त, प्रगतिशील, क्रान्तिकारी, भाषासेवी, कलाकार, वकिल, बुद्धिजीवी, लेखक–साहित्यकार, विद्यार्थी एवम् सम्पूर्ण राष्ट्रप्रेमी जनसमुदायले एकै आवाजका साथ विरोध गरेर पूर्ण रूपमा यसलाई निषेध गरिनुपर्दछ । प्रविधिसँग प्रतिस्पर्धा गर्ने नाममा जबरजस्ती लागू गर्न खोजिएको ‘इम्बोस्ड नम्बर प्लेट’ लाई पूर्ण रूपमा खारेज गर्नु आजको आवश्यकता हो ।

सन्दर्भ सूची

– कलाजीवी ऋब्ब्ल् रजत महोत्सव विशेषाङ्क, २०७६
– मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल र नेपाली भाषा बचाऔँ अभियानद्वारा विभिन्न समयमा जारी विज्ञप्तिहरू
– अखिल नेपाल जनसांस्कृतिक महासङ्घको २०७८ असार ३० गतेको प्रेस विज्ञप्ति
– नेपाल व्यावसायिक कलाकार सङ्घ ऋब्ब्ल् को २०७८ असार ३० गतेको प्रेस विज्ञप्ति
– विभिन्न अनलाइन समाचारहरू ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :