संसदीय व्यवस्था असफलताका कारण नेपाली नागरिकको हत्या भैरहेको छः विषम

संसदीय व्यवस्था असफलताका कारण नेपाली नागरिकको हत्या भैरहेको छः विषम

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा विषमले संसदीय व्यवस्था असफलताका कारण पटक पटक नेपाली नागरिकको हत्या भैरहेको बताएका छन् ।

दार्चुलाका जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर हत्या गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता विषमले भने, –‘भारतीय साम्राज्यवादले नेपाली नागरिकको हत्या गर्दा पनि राज्यले केही बोल्न सक्दैन, एउटा वक्तव्य पनि निकाल्दैन, खै राज्य कहाँ छ ? जयसिंहलाई तुइन काटेर हत्या गर्ने घोर अपराधीलाई राज्यले टुलुटुलु हेरिरह्यो कारबाही गरेन भने हामीले कारबाही गर्नेछौँ तपाईहरु साथ दिनुपर्छ ।’

यो घटना चानचुने छैन भन्दै उनले जयसिंह धामीलाई शहिद घोषणा गर्न र परिवारलाई क्षेतीपूर्ति दिन माग गरे । भारतीय साम्राज्यवादको मात्र होइन अमेरिकी साम्राज्यवादको पनि नेपालमाथि गिद्येदृष्टि रहेको उनले बताए । एमसीसीको प्रसंगमा बोल्दै नेता विषमले एमसीसी खारेज गर्न माग गरे । यदी एमसीसी खारेज नगरिए एमसीसीमा हस्ताक्षर गर्ने औँला काटिने अवस्था आउने चेतावनी दिए । देशका लागि, देश र जनताको सुरुक्षाका लागि आफूहरु मर्न पनि तयार हुने बरु देशको एक इन्च पनि भूमि मिच्न नदिने प्रतिबद्धता जनाए ।

अहिले राष्ट्रियताका लागि एक हुने बेला आएको भन्दै उनले राष्ट्रियता, देश र जनताको स्वाधिनता, वास्तविक शान्ति र समृद्धिका लागि जनमत संग्रहमार्फत जनतालाई नयाँ व्यवस्था चुन्ने अधिकार दिनुपर्ने बताए । शान्तिपूर्ण ढंगले नेपाललाई परिवर्तन गर्ने भनेर आफूहरुले जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको माग राखेको भन्दै यसलाई कमजोर नठान्न आग्रह गरे ।

३ बुँदे सहमति केपी ओलीसँग मात्र होइन यो राज्यसँग गरिएकोले सबै सहमति अक्षरंश कार्यान्वयन गर्न माग गरे । विगत जनयुद्ध सुरु हुनुअघि आफूहरुले शान्तिपूर्ण रुपले ४० बुँदे माग राखेको र त्यसलाई अहिलेकै प्रधानमन्त्री देउवाले कमजोर ठान्दा देशले जनयुद्ध भोग्नु परेको भन्दै अहिले त्यही इतिहास नदोहोरिओस् भनी चेतावनी दिए ।

उक्त विरोध सभाको सञ्चालन अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले गरेका थिए । सभा सुरु हुनुअघि जयसिंह धामी हत्याको विरोधमा सुन्धाराबाट सुरु भएको नाराजुलुससहितको प्रदर्शन बजार परिक्रमा गरेर रत्नपार्कस्थित शान्तिबाटिकामा विरोधसभामा परिणत भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीले दार्जुलाका नागरिक जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर  हत्या गरेकाे विरोधमा आज देशव्यापी विरोध सभा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :