अखिल नेपाल शिक्षक सङ्गठन बुटवलको भेला सम्पन्न, अध्यक्षमा बेलबासे

अखिल नेपाल शिक्षक सङ्गठन बुटवलको भेला सम्पन्न, अध्यक्षमा बेलबासे

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन बुटवल उप–महानगरपालिका रुपन्देहीको दोस्रो नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले दिलिप बेलबासेको अध्यक्षतामा १५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।

कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले नेपाली कम्युनिस्ट आन्दोलनमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै सङ्गठनमा सङ्गठित हुन अपिल गरे । उनले शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृतिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने र यसको निमित्यान्न पार्नुपर्ने बताए ।

नेकपा रुपन्देही जिल्ला सदस्य तथा बुटवल नगर सेक्रेटरी विरेन्द्र विकले शैक्षिक दलाल र माफियाहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्ने पहिलो आवश्यकता भएको बताए । उनले दलाल संसदीय व्यवस्थाका मतियारहरूलाई परास्त गर्नुपर्ने बताउँदै आफ्नो पार्टीको नयाँ कार्यनीतिको बारेमा स्पष्ट पारे । यस्तै सङ्गठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले नेपालको शिक्षा प्रणालीलाई बदल्नुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भन्दै निःशुल्क हुनुपर्ने बताए ।

सङ्गठनका रुपन्देही जिल्ला अध्यक्ष रेशम चालिसेले शैक्षिक क्षेत्रमा देखिएको तमाम समस्याहरूप्रति राज्य गैरजिम्मेवार भएको बताए । उनले जिल्लामा देखिएका शैक्षिक विकृतिका विरुद्ध कडा सङ्घर्ष र आन्दोलन गर्ने बताए । यस्तै अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रुपा बुढा मगरले निजी शिक्षाको अन्त्य गरि समान खालको शिक्षा प्रणाली अर्थात् वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागु गर्नुपर्ने बताइन् । यसैगरी अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला उपाध्यक्ष पारस राहादी मगरले वर्तमान बुर्जुवा शिक्षाको अन्त्य गरि वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना अनिवार्य भएको बताउँदै नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा नेकपाका देवदह नगर सेक्रेटरी तथा युवा सङ्गठन नेपालका लुम्बिनी ब्युरो संयोजक विश्लेषण, युवा सङ्गठनका रुपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदी लगायत नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको बताइएको छ ।

दिलिप बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शेरचन्द्र गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :