जयसिंह धामीको हत्याको विरोधमा नेकपाद्वारा देशभर प्रदर्शन (फोटोफिचरसहित)

जयसिंह धामीको हत्याको विरोधमा नेकपाद्वारा देशभर प्रदर्शन (फोटोफिचरसहित)

भारतीय एसएसबीद्वारा दार्जुलाका जयसिंह धामीको हत्याको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन गरेको छ ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीको आयोजनामा भारतीय एसएसबीद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी जयसिंहको हत्या प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई उचित प्रकारको राहत प्रदान गर्न माग गरे । उनले जयसिंहको हत्या निर्मम तरिकाले भएको भन्दै यस्तो अमानवीय र अपराधिक कार्य खेदजनक भएको बताए । उनले विदेशी साम्राज्यवादी हस्तक्षेपको अन्त्यका लागि नेपालका दलाल संसदीय व्यवस्थाका मतियारहरूलाई निमित्यान्न पारि वैज्ञानिक समाजवादी राज्य सत्ताको स्थापना अपरिहार्य भएको बताए । उनले जयसिंह धामी अर्थात् एउटा नेपाली नागरिकको हत्या हुँदा पनि राज्य मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले देशको हित विपरीत हुने कुनै पनि राष्ट्रघाती सम्झौता आफूहरूलाई स्वीकार्य नरहेको भन्दै राष्ट्रिय स्वाधीनता र रक्षाका लागि आफ्नो पार्टीले हरेक प्रकारका संघर्ष र आन्दोलन गरिरहेको बताए । उनले वर्तमान संसद्वादी दलका नेताकार्यकर्ताहरू विदेशीको आडमा लम्पसार परेको बताए । भारतीय साम्राज्यवादी हस्तक्षेपका विरुद्ध देशव्यापी आन्दोलनको आँधीहुरी सिर्जना गर्नुपर्ने बताउँदै विश्वासले दलाल सत्तालाई बदल्नुपर्ने बताए ।

कार्यक्रममा भारतीय साम्राज्यवाद मुर्दावाद !, सिमानामा भारतीय ज्यादती बन्द गर !, लिपुलेक कालापानी हाम्रो हो !, नेपाल र नेपाली माथिको हत्या हिंसा बन्द गर ! लगायतका नाराहरू लगाइएको थियो ।
प्रदर्शन कार्यक्रममा नेकपाका जिल्ला स्तरीय नेता कार्यकर्ता, विद्यार्थी, पत्रकार, बुद्धिजिवी, व्यापार–व्यवसायी, सुरक्षाकर्मी लगायतको ठूलो मात्रामा उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रमकाे सञ्चालन युवा सङ्गठन नेपालका लुम्बिनी ब्युरो संयोजक विश्लेषणले गरेका थिए । 
यस्तै कैलालीको बर्दगोरियामा नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको छ। दार्चुलाको व्यास गाउँपलिका वडा नम्बर २ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सिमा सुरक्षा बलद्वारा तुइन काटेर भएको जयसिहं धामीको हत्याको विरूद्धमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनलाई नेकपा कैलालीका जिल्ला सचिवालय सदस्य दिल बहादुर साउँद, विपना मल्ल लगायतले सम्बोधन गरेका थिए । भारतीय साम्राज्यवादले नेपाल र नेपालीमाथि ज्यादती गरिरहेको भन्दै भारतीय ज्यादती विरुद्ध संघर्ष गर्न आवश्यक भएको बताए । हिजो गोविन्द गौतमलाई सिमानामा गोली हान्ने भारतीय सिमा बलले आज जयसिहं धामीको हत्या गरेको र हत्यारालाई कारवाही गर्न र धामीलाई शहीद घोषणा गर्न अनुरोध गरे । पार्टीले राष्ट्रिय स्वाधिनताको रक्षा, भ्रष्टाचारको अन्त्य र जनताको अधिकार सुनिश्चित गर्न एकीकृत जनक्रान्तिको माध्यममार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको बताउँदै सम्पूर्ण जनतालाई एकजुट हुन अनुरोध गरे।

यसैबीच  नेपाल कम्युनिष्ट पार्टीले बर्दगोरिया गाउँपलिका स्तरीय सम्पर्क कार्यालय उद्घाटन गरिएको पार्टीको बर्दगोरिया इन्चार्ज विपना मल्लले जानकारी दिइन् ।
नेपाल कम्युनिस्ट पार्टी बर्दियाले पनि नेपाली नागरिक जयसिंह धामीको हत्याको विरोधमा शनिबार जिल्लाको गुलरियामा विरोध प्रदर्शन गरेको छ ।

श्रावण १६ गते शनिबार दार्चुलाको व्यास गाउँपालिका २ मालगाउँका ३५ बर्षिय जयसिङ धामीलाई भारतिय सिमा सुरक्षा बल एसएसबीले तुइन काटेर महाकाली नदीमा खसाएर बेपत्ता बनाएको घटनाको विरोधमा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका गुलरिया नगर सेक्रेटरी धर्तीले भारतीय साम्राज्यवादद्वारा नेपाल र नेपाली जनता माथि गरिरहेको ज्यादतीको घोर निन्दा गरे । उनले जयसिंह धामीका हत्यारालाई कारवाही गर्न र नेपाली जनताको जीवन सुरक्षा गर्न संसदवादीहरुले नसकेको दाबी गरे।

इन्चार्ज धर्तीले आफूहरु नेपाली भूमिमा खरानी हुने तर भारतीय साम्राज्यवादको अत्याचार विरुद्ध निरन्तर लड्ने उद्घोष गरे । आफ्नो पार्टीले लिएको विचारलाई निषेध गर्ने उदेश्यसहित सरकारले प्रतिबन्ध लगाए पनि असफल भएको उनको भनाइ थियो । कार्यक्रमलाई नगर सचीव पदम, अखिल (क्रान्तिकारी) का बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी लगायतले सम्बोधन गरेका थिए । उनीहरूले नेपालले कसैसँग झुक्न नजानेको भन्दै विरता र गौरवको प्रतीक भनेर चिनिने देशमाथी भारतको नांगो हस्तक्षेप अस्वीकार्य भएको बताएका थिए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले शनिबार सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेको छ । दार्जुलाका जयसिँह धामीको घटनाको विषयलाई लिएर देशैभरी पार्टी केन्द्रिय कार्यलयको निर्देशन अनुसार तुईन घटनाको वास्तविक छानबिन, दोषीमाथि कडा कारबाही पीडितलाई न्याय र भारतीय शासक वर्गको हस्तक्षेपकारी रवैयाका विरुद्व देशब्यापी संघर्षमा उत्रिएसँगै रुकुममा पनि विरोध प्रर्दशनमा गरिएको नेकपा रुकुम पश्चिमले बताएको छ ।

जय सिंह धामीको भारतिय सुरक्षा बल एसएसबीले आमानवीय रुपमा गरेको हत्या विरुद्ध देशैभरी विरोध कार्यक्रम चलिरहेको अवस्थामा नेकपा काभ्रेले विरोध कार्यक्रम सम्पन्न गरेको छ ।


विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दैै पार्टीका कृष्ण सेवाले यो दलाल संसदिय व्यवस्थाले जनताको रक्षा गर्न नसक्ने प्रष्ट पार्दै यसका निम्ति सम्पूर्ण नागरिक देश र जनताप्रति पूर्ण बफादार रही जनमत सङ्ग्रहद्वारा देशमा समाजवाद स्थापना गर्नुपर्ने बताए । दार्चुला ब्यास गाउँपालिकाको मालघाटबाट वर्ष ३५ का जयसिँह धामीलाई महाकाली नदीमा तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईन खोलि दिएपछि धामी अझै बेपत्ता छन् ।


नेकपाले काठमाडौँ, प्युठान लगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शनिबार दिउँसो ३ बजे एकैसाथ देशव्यापी प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :