हामी राष्ट्र र जनताका लागि बलिदान गर्न तयार छौँ : नेता सिंह

चरीकोटमा नेकपा दोलखाको कार्यालय उद्घाटन

हामी राष्ट्र र जनताका लागि बलिदान गर्न तयार छौँ : नेता सिंह

दोलखा : मुलुकका अन्य जिल्लाहरूमा झैँ दोलखामा पनि नेकपाको कार्यालय स्थापना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र सहिद परिवारका सदस्य प्रकाश थामीले शुक्रबार आतिसबाजी गरेर जिल्ला सदरमुकाम चरीकोट, सातदोबाटोनजिक ओखरबाटमा संयुक्त रूपमा जिल्ला पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेकपाका केन्द्रीय सदस्य पूर्णबहादुर सिंहले आफूहरू राष्ट्र र जनताका लागि बलिदान गर्न तयार रहेको बताए । नेकपा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि सङ्घर्ष गर्ने पार्टी रहेको उद्घोष गर्दै नेता सिंहले नेकपा खुला राजनीतिमा आएको भन्ने भ्रम फैलाइए पनि त्यो सत्य नभएको प्रस्ट पारे । उनले भने, ‘हामी हिजो पनि भूमिगत थिएनौँ ।’

नेपालका दलाल, तस्कर र भ्रष्टहरूले आफ्नो लूटको स्वर्ग समाप्त हुने भयले पार्टीमाथि प्रतिबन्ध लगाए पनि आफूहरू जनताकै बीचमा रहेको र अहिले पनि जनताको सेवा गरिरहेको उनको भनाइ थियो । एनसेलले राज्यलाई ७२ अर्ब कर नबुझाएको भनेर आफूहरूले कारबाही गरेको स्मरण गराउँदै नेता सिंहले आफ्नो पार्टीका नेता विप्लव र अन्य नेतालाई सरकारले अभिनन्दन गर्नुपर्नेमा फासिवादी शासकहरूले उल्टै प्रतिबन्ध लगाएर राष्ट्रघाती काम गरेको धारणा राखे । शासकहरूले एकतर्फी ढङ्गले नेकपामाथि युद्ध घोषणा गरेको इतिहास स्मरण गराउँदै नेता सिंहले आफ्नो पार्टीले कतै पनि प्रहरी चौकीमा आक्रमण नगरेको र एकीकृत जनक्रन्तिको त्यस्तो नीति पनि नरहेको प्रस्ट पारे । संसद्वादी दलालहरूले गाउँगाउँमा सिंहदरबार पु¥याउने र देशलाई समृद्ध पार्ने भने पनि ७५ लाख युवालाई रोजगारीका लागि विदेश जान बाध्य पारेको उनले बताए । ५७ लाख ६० हजार युवालाई सरकारले बेरोजगार बनाएको पनि उनले बताए । विश्वमै बदनाम र असफल दलाल संसदीय व्यवस्था रहेसम्म देश र जनताले सुख नपाउने उनको भनाइ थियो ।

यो सरकारको कुनै पनि काम नभएकाले स्वतः विघटन भएको र यसप्रकारको सरकारको ठाउँमा प्रगतिशील संयुक्त सरकार बनाई व्यवस्था चुन्ने जनमतसङ्ग्रह गराएर जनतालाई दलाल संसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवाद रोज्ने र स्थापना गर्ने अवसर दिनुपर्ने नेता सिंहले बताए । यसका लागि सबै दलसँग सहकार्य गर्न आफूहरू तयार रहेको पनि उनको भनाइ थियो

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई उनले अन्तरक्रिया कार्यक्रमको संज्ञा पनि दिए । राष्ट्र र जनतालाई शीर्ष स्थानमा राखेर समाजको आमूल परिवर्तनका लागि सहयात्रा गर्न उनले उद्घोष गरे ।

अतिथिहरूलाई स्वागत गर्दै पार्टीका निवर्तमान जिल्ला इन्चार्ज यादव दाहालले रूपान्तरणको पक्षमा रहेका सबै पार्टीलाई वैज्ञानिक समाजवादसम्म सँगै जान हातेमालो गर्न आह्वान गरे ।

रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले नेपाल कम्युनिस्ट पार्टीको सम्पर्क कार्यालय वैकल्पिक सत्ताको पनि कार्यालय भएकाले दलाल पुँजीवादी सत्ता र सरकारबाट आहत जनताको न्याय र आशाको केन्द्र बन्न सुझाव दिए ।

नेकपा दोलखाका सेक्रेटरी माधव गौतमको अध्यक्षता र पार्टी विशेष समितिका सदस्य अर्जुन योगीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, नेकपा माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य सुब्बा श्रेष्ठ, नेकपा (क्रान्तिकारी माओवादी) दोलखा जिल्ला सेक्रेटरी गोविन्द काफ्ले, नेपाल पत्रकार महासङ्घ दोलखा उपाध्यक्ष श्रीजङ्ग घिमिरे, राप्रपाका जिल्ला प्रतिनिधि भानुभक्तजङ्ग शिवाकोटी, बैतेश्वर गाउँपालिकाका उपप्रमुख रविचन्द्र आचार्य, सहिद परिवारका सदस्य कर्णबहादुर थामीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मेलुङ गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य जिस्नु उप्रेती, नेपाल पत्रकार महासङ्घ दोलखाका पूर्वअध्यक्ष जीवन लामा, पूर्वविद्यार्थी नेता एवम् राजनीतिकडटकमका सम्पादक लोकेश विक, पचाल झरना मासिकका सम्पादक रणबहादुर विक, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मुकुन्द श्रेष्ठ, पूर्वविद्यार्थी नेता एवम् त्रिपुरा क्याम्पसका प्रमुख रमेश घिमिरेलगायत अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा नेकपा दोलखाका सदस्य, जवस–मेर्चाका प्रतिनिधिका साथै जिल्लाबासीको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :