स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाकाे विकृति विरुद्ध दाङमा प्रदर्शन

स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाकाे विकृति विरुद्ध दाङमा प्रदर्शन

दाङः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले शुक्रबार घोराहीमा स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा क्षेत्रमा भइरहेको विकृति विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का राप्ती व्युरो सदस्य अनिलले शिक्षा अझै पनि श्रमजीवी जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन् । विद्यार्थी नेता अनिलले सिटीइभिटीका शिक्षाहरुमा अझै पनि ठूलो विभेद रहेको, समयमै कोर्स नसकिने समस्या, प्रयोगात्मक कक्षा व्यवस्थित रुपमा नभएको र चर्को शुल्क असुली गर्ने माध्यम बनाइएको भन्दै त्यसमा कडा आपत्ति जनाए ।


राज्यले न्यून आयस्रोत भएका विद्यार्थीहरुलाइ पनि प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने नेता अनिलको भनाइ थियो । राज्यले टीएसइइ अन्तर्गत स्वास्थ्य अध्ययन गरेका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको साथै निजी शैक्षिक क्षेत्रमा स्वास्थ्य शिक्षाको शुल्क महंगो भएकाले सामान्य वर्गका विद्यार्थीहरु सहभागी हुन अथवा पढ्नबाट बन्चित भैरहेको बताए । उनले राज्यले शुल्क परिमार्जन गरि आम नागरिकको पहुँचमा हुने वातावरण तयार बनाउनुपर्ने बताए ।

उनले मेडिकल शिक्षामा पनि थुप्रै विकृति विसंगति मौलाइरहेको, राज्यको गैरजिम्मेवारीका कारण मेडिकल माफियाको अगाडि राज्य निरीह बनेको जिकिर गरे । उनले भने, मेडिकल विद्यार्थी माथी मेडिकल माफियाहरुले सरकारको मिलोमतोमा आर्थिक लुट मच्चाइरहेका छ्न्, मानसिक यातना दिइरहेका छ्न् ।
यो दलाल, भ्रष्ट, पुजीवादी राज्य व्यवस्थाको सरकारले यी तमाम समस्याहरू हल गर्न नसक्ने भन्दै यो व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न सबै उत्पीडित युवा विद्यार्थीहरु एक भएर लाग्नु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
उनले वैज्ञानिक समाजवादी राज्य व्यवस्थाबाट तमाम समस्याहरु समाधान गर्न सकिने र विद्यार्थीहरुको हरेक क्षेत्रमा हक, हित र अधिकार सुनिश्चित हुने उद्घोष गरे ।
प्रदर्शन कार्यक्रमको सहजीकरण अनेरास्ववियु (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :