नेकपा गोदावरीको बैठक सम्पन्न, अभियान चलाउने निर्णय

नेकपा गोदावरीको बैठक सम्पन्न, अभियान चलाउने निर्णय

कैलाली: नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिको बैठक सम्पन्न भएको छ। बैठकले नगरपालिका भित्र संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउनेले दलाल संसदिय व्यवस्था असफल भइसकेको बताउँदै देशमा वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको बताए । संसदिय व्यवस्थामा जनताले अधिकार नपाउने बरू चुनावका नाममा मुठ्ठिभर दलालहरूले भ्रष्टाचार गर्न भने छुट भएको उनको भनाई थियो । देशमा दुई तिहाईको सरकार भएपनि जनताका पक्षमा कुनै पनि काम नगरेको बरू करोडौँका भ्रष्टाचार लगायतका अनेकौँ काण्ड मच्चाएको उनले बताए । भ्रष्टाचारको अन्त्य गरिनुपर्छ, राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै देशलाई समृद्ध बनाउनुपर्छ भनेर माग गर्दा आफ्नो पार्टीले असंवैधानिक प्रतिबन्ध व्यहोर्नुपरेको उल्लेख गर्दै जनअधिकार र राष्ट्रियताको कुरा गर्दा प्रतिबन्ध लगाउनेले नै लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाईरहेको उनको भनाई थियो ।आफ्नो पार्टीले तीन बुँदे सहमति गर्दै राजनैतिक समस्याहरूको समाधान वार्ता र सम्वादमार्फत समाधान गर्न तयार रहेको बताउँदै सरकारले भने अहिलेसम्म सहमति कार्यान्वयन नगरेको उनले आरोप लगाए । आफ्नो पार्टी देशमा कस्तो व्यवस्था रहने भन्ने निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । व्यवस्था छान्न जनतालाई दिन जनमतसंग्रह गर्न आवश्यक रहेको र बरू संसदवादी नै जनमतदेखि डराईरहेको उनको दाबी थियो ।

गोदावरी नगर सेक्रेटरी साजनको अध्यक्षतामा सम्पन्न बैठकमा रातोखबर प्रकाशन गृहका पश्चिम संस्करण प्रमुख विनोद बिष्ट, गोदावरी नगर इन्चार्ज पवित्र, कार्यालय सचिव प्रकाश, जिल्ला सदस्य राम भट्ट लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :