अछाममा सुदृढ जनसम्बन्ध र सङ्गठन विस्तार अभियानको उद्घाटन

अछाममा सुदृढ जनसम्बन्ध र सङ्गठन विस्तार अभियानको उद्घाटन

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सोमबार सुदृढ जनसम्बन्ध तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । जिल्लाको ढकारी गाउँपालिकामा सोमबार अभियान उद्घाटन गरेको हो ।

युवा सङ्गठन नेपालका अछाम जिल्ला सचिवको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता ढकारी गाउँपालिका इन्चार्ज रमेश बिसी ‘समिर’ ले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला कार्यालय सचिव तथा कमान नं. १ का इन्चार्ज लोकेन्द्र शाही ‘प्रज्वलन’ रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले अहिलेका अन्य संसद्वादी पार्टी दल वा पात्रले हालसम्म पनि जनताको जीवनस्तरमा कुनै ठोस रुपान्तरण गर्न नसकेको भन्दै चुनावी प्रक्रियामा भ्रामक नारा र एजेण्डा ल्याएर जनतालाई झुक्याउने, चुनाव जितिसकेपछि आफुले दिएका नारा र एजेण्डा सबै भुल्ने गरेको उनले बताए । पछिल्लो समयमा केपी प्रचण्डहरूले दुई तिहाई बहुमत प्राप्त सरकार गठन गरेपनि राष्ट्र, राष्ट्रियता र जनताको जनजिविकाको सवालमा कुनै दिन पनि काम नगरेको भन्दै दुई तिहाइको कम्युनिस्ट सरकार पनि भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको उनको भनाई थियो ।

प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन हुन पनि दिन्न भन्ने गरेपनि उनकै मन्त्रिपरिषदका मन्त्रीहरू करोडौँ भ्रष्टाचार गर्दा पनि संरक्षण गरेको शाहीले दाबी गरे । संसदीय व्यवस्था असफल भइसकेको र यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना आवश्यक रहेको छ, उनले भने, ‘हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको माध्यमबाट भ्रष्टाचार राष्ट्रघातविरुद्ध आवाज उठाउँदा प्रतिबन्ध भोग्नुपर्यो । तीनबुँदे सहमतिमा प्रतिबन्ध हटाएर सरकारले आफ्नो गल्ति सच्याएको उनले बताए । सबै सचेत देशभक्त राष्ट्रवादी वामपन्थी शक्तिहरू एकीकृत भएर दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको लागि अब जनमतसङ्ग्रहमा जानुपर्ने उनको भनाई छ । साथै शाहीले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भनेर जनतालाई आफ्नो व्यवस्था छान्ने अधिकार दिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गरे ।

कार्यक्रममा दलित मुक्ति मोर्चा नेपाल अछामका अध्यक्ष दिलिप विश्वकर्मा र ढकारी गाउँपालिकाका पूर्व इन्चार्ज उमेश बुढा लगायत अतिथिहरू रहेका थिए भने कार्यक्रमको सञ्चालन ढकारी गाउँपालिका सचिव दर्शन नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :