नेकपा बाँसगढी बर्दियाको बैठक सम्पन्न

नेकपा बाँसगढी बर्दियाको बैठक सम्पन्न

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला अन्तर्गत बाँसगढी नगर कमिटीको पूर्ण बैठक सोमबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीले पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमतसङ्ग्रह गरिनुपर्ने कार्यक्रम लिएर आएको भन्दै आम जनतामा सङ्गठनको सञ्जाल विस्तार गर्न निर्देशन दिए । संसदीय व्यवस्थाले देशमा भ्रष्टाचार थोपरेको मात्र नभई देशलाई राष्ट्रघातको गहिरो भड्खालोमा डुबाएको उनको भनाई थियो ।

चौधरीले संसदीय व्यवस्था चरम सङ्कटमा पुगेको बताउँदै सबै देशभक्त क्रान्तिकारी किसान मजदुर श्रमजीवी वर्ग, जनता, कम्युनिस्ट र सच्चा लोकतान्त्रिक शक्ति बीचको सहकार्यको आवश्यकता रहेको बताए । उनले पार्टीले संसदीय व्यवस्था विरुद्ध विद्रोह गरेको बताउँदै संसदीय व्यवस्थालाई ध्वस्त गरि छाड्ने दाबि गरे ।

नेकपा बाँसगढी नगर सेक्रेटरी सोनु थारुले सञ्चालन गरेको बैठकको अध्यक्षता नगर इन्चार्ज शक्तिले गरेका थिए । बैठकमा प्रमुख अतिथि जिल्ला सेक्रेटरी गणेश चौधरी, विशिष्ट अतिथि हिमशिखर, अखिल क्रान्तिकारीका बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी, बडैयाताल नगर सेक्रेटरी रमेश, राजिन्द्र लगायतको उपस्थिति रहेको थियो ।

नगरको प्रथम पूर्ण बैठकले १५ सदस्यीय नगर कमिटी पुनर्गठन गरेको नगर इन्चार्ज शक्तिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :