उपत्यकामा नेकपाको स्कुलिङ कार्यक्रम सुरु

उपत्यकामा नेकपाको स्कुलिङ कार्यक्रम सुरु

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय स्कुलिङ विभागको आयोजनामा उपत्यकामा स्कुलिङ कार्यक्रम सुरु भएको छ । साउन १० गतेदेखि सुरु भएको उपत्यकाका जिल्लाहरुको संयुक्त स्कुलिङ कार्यक्रम साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभागका प्रमुख भेषराज भुसालको अध्यक्षतामा उद्घाटन  भएको कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामा रहेका छन् ।
स्कुलिङ कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि माइला लामाले सही संस्कार र सही कार्यशैली सही विचारबाट मात्र उत्पन्न हुने भएकाले स्कुलिङको विशेष महत्व हुने बताए ।

यसैगरी उक्त कार्यक्रमका अर्का अतिति नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज नविन विश्वकर्माले समग्र अध्ययनको व्यवस्थित अध्ययनको लागि स्कुलिङ अतिआवश्यक रहेको र यसबाट नै नेता रकार्यकर्ताको वैचारिक स्तर राम्रो हुने बताए ।

एकिकृत जनक्रान्तिका घाइते योद्धा सुरेन्द्र महर्जन र केन्द्रीय स्कुलिङ विभागका सदस्य विपिन घिमिरे लगायतका अतिथि रहेको कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुलिङ विभागका सदस्य लाल बहादुर बिसीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका केन्द्रीय सदस्य सविता तामाङले राखेकी थिइन् ।

संयुक्त स्कुलिङ कार्यक्रममा विभिन्न जिल्लाका करिब ३० जनाको सहभागिता रहेको छ । स्कुलिङमा मालेमावादको तीन संघटक अंग दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको बारेमा विस्तृत रुपमा प्रशिक्षण दिइने स्कुलिङ विभागले जनाएको छ ।

स्कुलिङको उद्घाटन कार्यक्रममा २० महिना जेल बसेर रिहाइ भएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी वली आदर्शलाई कार्यक्रमका प्रमुख अतिथि माइला लामा लगायत सबै अतिथिहरुले खादा र अविर लगाएर स्वागत तथा सम्मान गरेका थिए । जेल बसाइको अनुभव राख्दै आदर्शले संघर्षमा पास हुने कि फेल हुने कुरा उसले लिने स्कुलिङमा भर पर्ने बताए । राज्यसत्ताले चरम यातना दिदा पनि आफू र सँगै जेल परेको टिमले उच्च मनोबलसहित यातनाको प्रतिरोध गरेको बताए ।

५ दिनसम्म चल्ने कार्यक्रममा विधागत रुपले कक्षा सञ्चालनको निम्ति प्रशिक्षकको रुपमा केन्द्रीय स्कुलिङ विभाग प्रमुख भेषराज भुसाल, विभागका सदस्यहरु लाल बहादुर बिसी, खेम थपलिया, विपिन घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :