निर्मला पन्तको न्यायको माग गर्दै अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा प्रदर्शन

निर्मला पन्तको न्यायको माग गर्दै अखिल (क्रान्तिकारी) द्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँः तीन वर्ष पहिले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको अभियुक्तलाई सार्वजनिक गर्न माग गर्दै अखिल (क्रान्तिकारी) ले काठमाडौँमा प्रदर्शन गरेको छ । निर्मला पन्तको दोषीलाई तत्काल सार्वजनिक गरी कार्वाही गर्न माग गर्दै आज काठमाडौँमा अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको हो ।

अखिल (क्रान्तिकारी) द्वारा आज  माइतीघर मण्डलामा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरुले निर्मलालाई न्याय दे, तत्काल बलात्कारी र हत्यारालाई सार्वजनिक गर भन्दै चर्का नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का नेतृ तारा सन्ज्यालले तीन वर्षसम्म पनि दोषी पत्ता नलाग्नु राज्यको गम्भीर कमजोरी रहेको भन्दै आक्रोश व्यक्त गरिन् । निर्मला पन्तको हत्या पश्चात् हजारौं बलात्कार र सयौं बलात्कार पछि हत्याका घटना घटेको र कसैले पनि न्याय नपाएको र राज्य निरीह बनेको भन्दै दलाल संसदीय व्यवस्थामा महिलाहरुको सुरक्षाको ग्यारेन्टी नहुने बताइन् । सरकारले पूरै अपराधी संरक्षण गरेको र पीडितलाई झन् पीडा थपिएको भन्दै नेतृ सन्ज्यालले निर्मला पन्त लगायत सम्पूर्ण बलात्कारी र हत्याका दोषी सार्वजनिक गरी फाँसीको सजाय माग गरिन् ।

बहुचर्चित निर्मला काण्डका बलात्कारी र हत्यारा अहिलेसम्म पनि पत्ता लागेको छैन । तीन वर्ष पहिले श्रावण १० मा बलात्कारपछि हत्या गरी उखुबारीमा मृत अवस्थामा  भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :