महासचिव विप्लव र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल

यथास्थितिमा राज्यले देश र जनताका समस्या समाधान गर्न सक्तैन : विप्लव, समस्या समाधानका लागि सबै उपयुक्त विकल्पहरूमा हामी तयार छौँ : यादव

महासचिव विप्लव र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल

काठमाडौँ : नेकपाका महासचिव विप्लव र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता र छलफल भएको छ । महासचिव विप्लव र नेता यादवबीच मुलुकको राजनीतिक सङ्कट र नेकपा–सरकारबीच सम्पन्न सहमति कार्यान्वयनका विषयमा छलफल भएको नेकपाको उच्च स्रोतले जनाएको छ । यादवको निवास हात्तीबन, ललितपुरमा भएको भेटका क्रममा नेकपाका तर्फबाट प्रवक्ता प्रकाण्ड पनि सहभागी थिए ।

स्रोतका अनुसार उपेन्द्र यादव नेतृत्वको जसपा संसद् र सरकारी गठबन्धनको बलियो साझेदार पार्टी भएकाले यो भेटवार्ता र छलफलले सरकारसँग भएको सहमति कार्यान्वयनका लागि महत्वपूर्ण अर्थ राख्छ ।

नेकपा महासचिव विप्लवले जसपा अध्यक्ष यादवसँग समसामयिक राजनीति र मुलुकलाई सङ्कटबाट निकास दिने विषयमा छलफल गर्दै पूर्ववर्ती केपी ओली सरकारसँग भएको तीनबुँदे सहमतिबमोजिम नेकपाका नेता–कार्यकर्ताको रिहाइ र झूट्टा मुद्दा फिर्ताका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए ।

महासचिव विप्लवले अग्रगामी राजीतिक विकल्पतर्फ अघि बढ्ने विषयमा छलफलका लागि आग्रह पनि गरेका थिए । महासचिव विप्लवले यथास्थितिमा विद्यमान राज्यव्यवस्थाले देश र जनताको समस्या समाधान गर्न नसक्ने विषय राख्दै यसका लागि वैज्ञानिक समाजवादसम्म पुग्नुपर्ने धारणा राखेका थिए ।

जसपा अध्यक्ष यादवले नेकपा सहमतिको प्रक्रियामा आउनु उपयुक्त कदम रहेको जनाउँदै सहमति कार्यान्वयन र बन्दी रिहाइका लागि आफ्नो पार्टीका तर्फबाट सहयोग र पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले जनताको समस्या समाधानका लागि सबै उपयुक्त विकल्पहरूमा छलफलका लागि आफूहरू तयार रहेको पनि बताएका थिए । नेकपाले भेटघाट महत्वपूर्ण र सकारात्मक रहेको बताएको छ ।

नेकपा र पूर्ववर्ती केपी ओली सरकारबीच गत फागुन २१ गते ३ बुँदे सहमतिमा हस्ताक्षर भए पनि नेकपाका बन्दी नेता–कार्यकर्ताको रिहाइ र पार्टीका नेतामाथि लगाइएका झूट्टा मुद्दा खारेज नहुँदा वार्ता अघि बढ्न सकेको छैन । अझै पनि भरत बम ‘रणवीर’ लगायत सयभन्दा बढी नेकपा–नेता–कार्यकर्ता झूट्टा मुद्दामा गैरन्यायिक बन्दी जीवन बिताइरहेका छन् ।

नेकपा महासचिव विप्लव विगत दुई सातादेखि विभिन्न राजनीतक पार्टीका नेताहरूसँग राजनीतिक संवादमा व्यस्त छन् । यसअघि महासचिव विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री एवम् एमाले नेता माधव नेपाल, बहालवाला प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, पूर्वमाओवादी केन्द्रमा रहेका र हाल केपी ओलीसँग एमालेमा क्रियाशील रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत नेता–कार्यकर्तासँग भेटवार्ता गरी सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि वातावरण बनाउन र मुलुकको राजनीतिक सङ्कटलाई निकास दिन संयुक्त प्रगतिशील सरकार, दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसङ्ग्रह र विशेषगरी वैज्ञानिक समाजवाद स्थापनाका विषयमा छलफल र बहस गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :