विभिन्न पार्टी परित्याग गरी २१ जना नेकपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरी २१ जना नेकपामा प्रवेश

पाल्पा : पाल्पाको तिनाउ गाँउपालिका वडा नं.५ मस्यामबाट विभिन्न राजनीतिक दलमा आबद्ध २१ जना नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले गरि तीन दलका स्थानीय नेताहरू बसन्त नेपालीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका हुन् ।

पार्टी प्रवेश गर्दै बसन्त नेपालीले वर्तमान व्यवस्थाले जनतालाई सोंचे जस्तो काम गर्न नसकेकोले आँफुहरू माओवादी केन्द्र लगायतका दलहरूबाट नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताए । यो व्यवस्थाले हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, मूल्यवृद्धि लगायतका कुराहरू निर्मुल गर्न नसकेको बरु जनतालाई बेरोजगार बनाएर अनावश्यक जथाभावी कर असुलेर निमुखा जनतालाई ऋण भार मात्रै दिएको बताए । उनले अहिलेको व्यवस्थाका नेताहरू भन्दा राष्ट्र र जनताको लागि जति सक्यो आफैँ गर्ने र गर्ने योजना सहित राम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी भएको कारणले आफूहरू उक्त पार्टीमा प्रवेश गरेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गराउँदै जिल्ला सचिव प्रभातले अबको विकल्प र चोखो पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकोले सबैलाई ध्रृविकृत हुन अपिल गरेका थिए । उनले सत्यको कसि व्यवहारबाट हुने भएकोले नेपाल कम्युनिस्ट पार्टीलाई अध्ययन, अनुसन्धान गरेर जाँच गर्न समेत अपिल गर्दै ठीक लागेमा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भई देश र जनतालाई प्रताडित पार्ने वर्तमान दलाल सत्तालाई अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । साथै उनले यस व्यवस्थाले मात्रै सबै कुराको हल गर्ने बताए ।

कार्यक्रममा दलित मुक्ति मोर्चा, नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज निसान विक, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका जिल्ला सदस्य झविन्द्र नेपाली, जनपत्रकार नेपालका जिल्ला इन्चार्ज मुक्ति गैरे लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :