अखिल (क्रान्तिकारी) बर्दियाले मधुवन नगरपालिकामा बुझायो ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) बर्दियाले मधुवन नगरपालिकामा बुझायो ज्ञापनपत्र

बर्दिया: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहलाई २९ बुँदे ज्ञापनपत्र बुझाएको छ । लकडाउनको कारण आम जनतालाई हातमुख जोर्न समेत मुस्किल बन्दै गइरहेको बेला विभिन्न विद्यालयले अनलाइन कक्षा, सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यमका नाममा चर्को शुल्क असुलीरहेको भन्दै शुल्क असुली रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सरकारी विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी माध्यमका नाममा गरिएको विभेदको अन्त्य गरिनुपर्ने, भौतिक रूपमा कक्षा सञ्चालन नभएको अवधिको शुल्क छुट गरिनुपर्ने, निजी विद्यालयद्वारा गरिएको पाठ्यपुस्तक र पोशाकको व्यापार बन्द गरिनुपर्ने, नेपालको चुच्चे नक्सा पाठ्यक्रम, पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने, शिक्षक, कर्मचारीमाथिको बौद्धिक शोषण अन्त्य गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) बर्दिया, सुर्खेत जिल्ला इन्चार्ज लोकेश जोशीले कोरोनाका कारण दैनिक जीवनयापन समेत गाह्रो परिरहेको बेला केही निजी र सामुदायिक विद्यालयहरूले लुट मच्चाईरहेको भन्दै अविलम्ब रोक्न माग गरे । मागलाई कार्यन्वयन नगरे कारवाही गर्ने चेतावनी दिए ।

ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेलले मागहरू कार्यान्वयन नभए कडा संघर्षमा जाने चेतावनी दिए । प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले शैक्षिक विकृत्ति नियन्त्रण गर्न अखिल (क्रान्तिकारी) सँग सहकार्य गरेर काम गर्ने बताउँदै नगर कार्यपालिकाको बैठकबाट समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा अखिल (क्रान्तिकारी) सुर्खेत बर्दिया इन्चार्ज लोकेश जोशी, अध्यक्ष हरि प्याकुरेल, नगर सेक्रेटरी चक्र थापा, पार्टी जिल्ला सदस्य दिनेश शर्मा, सचिवालय सदस्य रमेश प्याकुरेल, सदस्य अप्सरा चौलागाईं, लगायतका कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :