महासचिव विप्लव र जसपा नेता महन्थ ठाकुरबीच भेटवार्ता

महासचिव विप्लव र जसपा नेता महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौँ: नेनेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरबीच आज भेटवार्ता भई समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । नेकपाको उच्च स्रोतका अनुसार महासचिव विप्लव र नेता ठाकुरबीच मुलुकमा विद्यमान राजनीतिक सङ्कट, मधेस आन्दोलन, सरकारसँग यसअघि भएका बन्दी रिहाइलगायत सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो ।
राजनीतिक छलफलका लागि नेकपा महासचिव विप्लव पार्टी प्रवक्ता प्रकाण्डसहित महन्थ ठाकुरको निवासमा पुगेका थिए । महासचिव विप्लव र नेता ठाकुरबीच सरकारसँग यसअघि भएका सहमतिअनुसार आआफ्ना पार्टीका नेता–कार्यकर्ताको रिहाइ र मुद्दा खारेजीका लागि पहल गर्न सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
स्रोतका अनुसार भेट र छलफलका क्रममा नेकपा महासचिव विप्लवले मधेसी श्रमिक जनताको सवाल समग्र श्रमजीवी नेपाली जनताको सवालसँग सम्बन्धित रहेकाले उत्पीडित श्रमिक जनताका पक्षमा एक भएर अघि बढ्न जसपा नेता ठाकुरलाई सुझाव दिएका थिए ।
जसपा नेता ठाकुरले महासचिव विप्लवसँग आफूहरू विशेषतः मधेसी जनताको अधिकारका लागि आन्दोलनको पृष्ठभूभिबाट अघि बढेको भए पनि समग्र आन्दोलनका लागि सोच्न तयार रहेको बताएको जानकारी नेकपा स्रोतले दिएको छ ।
नेकपा र पूर्ववर्ती केपी ओली सरकारबीच गत फागुन २१ गते ३ बुँदे सहमतिमा हस्ताक्षर भए पनि नेकपाका बन्दी नेता–कार्यकर्ताको रिहाइ र पार्टीका नेतामाथि लगाइएका झूट्टा मुद्दा खारेज नहुँदा वार्ता अघि बढ्न सकेको छैन । अझै पनि भरत बम ‘रणवीर’ लगायत सयभन्दा बढी नेकपा–नेता–कार्यकर्ता झूट्टा मुद्दामा गैरन्यायिक बन्दी जीवन बिताइरहेका छन् ।
नेकपा महासचिव विप्लव विगत दुई सातादेखि विभिन्न राजनीतक पार्टीका नेताहरूसँग राजनीतिक संवादमा व्यस्त छन् । यसअघि महासचिव विप्लवले नेकपा माोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री एवम् एमाले नेता माधव नेृपाल, बहालवाला प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, पूर्वमाओवादी केन्द्रमा रहेका र हाल केपी ओलीसँग एमालेमा क्रियाशील टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत नेता–कार्यकर्तासँग भेटवार्ता गरी सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि वातावरण बनाउन र मुलुकको राजनीतिक सङ्कटलाई निकास दिन संयुक्त प्रगतिशील सरकार, दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसङ्ग्रह र विशेषगरी वैज्ञानिक समाजवाद स्थापनाका विषयमा छलफल र बहस गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :