किरणले प्रचण्ड र नेपाललाई भने – ‘प्रधानमन्त्री बन्ने मोह त्याग्नुहोस्’

किरणले प्रचण्ड र नेपाललाई भने – ‘प्रधानमन्त्री बन्ने मोह त्याग्नुहोस्’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद र सरकारमा रहेका कम्युनिस्टहरूलाई मिलेर जान आग्रह गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने मोह त्यागेर कोर्स चेन्जको बाटो रोज्न प्रस्ताव गरेका छन् । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएका हुन् । उनले भने ‘प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौँ ।’

सरकारमा भएका कम्युनिस्टहरूले सडकमा भएका कम्युनिस्टहरूलाई दमन गरेर जान नहुने बताउँदै क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले केपी ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताए । ओलीको कार्यशैली इगो र पदप्रतिष्ठामै अड्किएको बताउदै अध्यक्ष वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्न समेत गरे ।

कम्युनिस्ट पार्टीहरूको अबको बाटो यही संसदलाई बचाएर सबै कम्युनिस्ट मिलेर चुनाव लड्ने भन्ने हो भने आफूहरू सहमत हुन नसक्ने बताए । उनले कम्युनिस्ट पार्टीहरूमा संसद्वादी, क्रान्तिकारी र मध्यपन्थी संशोधनवादी तीनवटा धार रहेको बताए । डबल नेकपा संसद्वादी भएकाले सैद्धान्तिक हिसाबले फुट्नुको कुनै कारण नरहेको धारणा राख्दै उनले केपी ओलीमा कार्यशैलीगत समस्या र नेताहरूको टकराव र इगोका कारण फुटे पनि सबैलाई मिल्न सुझाब दिए । क्रान्तिकारी धारका नयाँ जनवादी व्यवस्था, वैज्ञानिक समाजवादी व्यवस्था मान्ने कम्युनिस्ट धार कमजोर भए पनि मिल्ने कोसिस गर्दा पनि आफूहरू पनि अझैँ सफल नभएको वैद्यको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :