संसदीय व्यवस्था विश्वमा कही पनि लोकतान्त्रिक व्यवस्था होइनः कञ्चन

संसदीय व्यवस्था विश्वमा कही पनि लोकतान्त्रिक व्यवस्था होइनः कञ्चन

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले संसदीय व्यवस्था विश्वमा कही पनि लोकतान्त्रिक व्यवस्था नभएको बताएका छन् ।

कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिवालय सदस्य कञ्चनले वर्तमान संसदीय व्यवस्था भ्रष्ट व्यवस्था भएको ठोकुवा समेत गरे । यो व्यवस्था भ्रष्टाचारमा चुर्लुम्म डुबेको व्यवस्था भएको ठोकुवा गर्दै उनले यो व्यवस्था विश्वभरि नै र नेपालमा पनि असफल सावित भइसकेको पनि बताए । नेपालको संसदीय व्यवस्थाका कारण देश अघि बढ्न नसकेको बताउँदै राज्यसत्ता र प्रणाली दलाल पुँजीपतिको हातमा पुगेको दाबी गरे ।

संसदीय व्यवस्था तथा निर्वाचन प्रणालीको कारण नै भ्रष्टाचार बढेको दाबी गर्दै कञ्चनले प्रधानमन्त्री हुनका लागि संसदीय चुनाव जित्नुपर्ने, आफ्नो पक्षमा पर्याप्त सांसद हुनुपर्ने र आफ्नै पार्टीभित्रको प्रतिस्पर्धीलाई पाखा लगाउन पैसा खर्च गर्नुपर्ने यो व्यवस्था गलत भएको ठोकुवा गरे । उनले वर्षभरिको देशमा खर्च हुने बजेटको आधा रकम निर्वाचनका लागि खर्च हुने उल्लेख गरे । निर्वाचन प्रणालीका लागि अरबौं रुपैयाँ खर्च हुने र यसले नै भ्रष्टाचार गर्ने प्रणालीलाई मलजल गरेको बताउँदै कञ्चनले सबै राजनीतिक दलका नेताहरुसँग आफ्नो दलले छलफल गरेको र सबैको चिन्ता देश नबनेकोमा रहेपनि कसरी अघि बढ्ने भन्नेमा सबै घोत्लिन नसकेको बताए ।

नेपालको अहिलेको राजनीतिक व्यवस्था नै भ्रष्टाचार गर्ने भएको बताउँदै कञ्चनले यसलाई तोड्न आवश्यक रहेकोले नयाँ वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि अघि बढ्न सबैलाई आग्रह समेत गरेका छन् ।

पुष्पलालको योगदानलाई स्मरण गर्दै उनले भने, –‘कमरेड पुष्पलाल कम्युनिष्ट पार्टीको मूल बाटो स्पष्ट गरे, उहाँले जाति भन्दा माथि उठेर आफ्नो नामको पछाडि थर समेत हटाउनु भएको थियो तर आज अधिकाशं कम्युनिष्ट पार्टीको नेता भन्नेहरु जातको स्तरबाट समेत माथि उठ्न सकेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :