ललितपुरको हरिसिद्धीमा नेकपाले उत्पादनसहितको कम्युन घर निर्माण गर्दै

ललितपुरको हरिसिद्धीमा नेकपाले उत्पादनसहितको कम्युन घर निर्माण गर्दै

काठमाडौँः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ललितपुरको हरिसिद्धीमा उत्पादनसहितको कम्युन घर निर्माण कार्य थालनी गरेको छ ।
प्रत्येक जिल्लामा उत्पादन गर्ने र नेताकार्यकर्तालाई उत्पादनमा जोड्ने पार्टीको केन्द्रीय नीति र योजना अनुसार नेकपाले पार्टीका नेताकार्यकर्ताहरुको उत्पादनसहितको कम्युन घर निर्माण गर्न लागेको हो ।

हरिसिद्धी गुठीको नाममा रहेको ५ रोपनी जग्गा लिजमा लिएर कम्युन घर निर्माण गर्न लागिएको नेकपाले जनाएको छ । ‘एक कमिटी, एक उत्पादन’ को नारा अनुसार काठमाडौँ उपत्यकाका लागि यो घर निर्माण गर्न थालिएको निर्माण सम्बन्धी व्यवस्थापन कार्यको जिम्मेवारी पाएका भिमसेन घिमिरे ‘विपिन’ ले बताए ।

पार्टीभित्र समाजवादी संस्कार संस्कृति निर्माण गर्ने, उत्पादनमा पार्टीलाई आत्मनिर्भर बनाउने र जनतालाई सिकाउने उदेश्यले यो योजना थालिएको उनको भनाई छ । पार्टी महासचिव विप्लवका लागि काठमाडौँमा रहँदा बस्न र नेताकार्यकर्ताहरुको सम्पर्क स्थान हुने गरी निर्माण गर्न लागिएको घर निर्माण कार्य सम्पन्न भएपछि कृषि, पशुपालन जस्ता उत्पादन कार्य थालिने पनि उनले जानकारी गराए ।

निर्माण कार्यमा पार्टीकै नेताकार्यकर्ताहरुको श्रमदान रहेको, पार्टीका समर्थक शुभचिन्तकहरुको पनि भौतिक सरसहयोग रहेको छ भने केही पार्टीको लगानी समेत रहने कम्युन घर निर्माणको व्यवस्थापनमा लागेका विपिनले बताए । उपत्यका पार्टी अन्तर्गत ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पार्टीको विशेष सहयोग रहेको पनि उनले बताए ।

एक-एक तला रहने गरी उक्त घरको दुई वटा ब्लगहरु रहने छन् । एउटा ब्लगको जग बसालेर डिपिसी भरिसकिएको छ भने अर्को ब्लगको जगमा गारो लाउने काम भइरहेको छ ।
एउटा घरमा महासचिवलगायतका नेताहरू काठमाडौँमा रहँदा बस्ने र अर्को घर नेताकार्यकर्ताहरु भेटघाट गर्ने हलसहितको रहनेछ ।

नेकपाको पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माण भइरहेको छ । पार्टीको दशौँ बैठकको केन्द्रीय निर्णयअनुसार सबै कमिटी उत्पादनमूलक काममा लाग्ने र आत्मनिर्भर बनाउने रहेको छ । त्यही योजनाअनुसार जिल्लामा यो योजना कार्यान्वयन भइरहेको बताइएकाे छ ।

दुई महिनामा घर निर्माण काम सकेर उत्पादनमा लाग्ने विपिनको भनाई छ । २० वर्षका लागि लिजमा लिएको गुठीको उक्त जग्गासँग जोडिएको अरु केही जग्गा भूमाफियाहरुले प्लटिङको नाममा हडपेकाले त्यो जग्गा समेतलाई निकालेर उत्पादन कार्य गरिने उनले बताए । उत्पादनमा सबै नेताकार्यकर्ता र जनवर्गीय संगठनहरूलाई  आलोपालो जोडिनेछ । 

पार्टीभित्र नेताकार्यकर्ता सामूहिक उत्पादन गर्ने, सामुहिक जीवनशैली अपनाउने, सबै पार्टी कमिटी र जनवर्गीय संगठनलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने र जनतालाई समाजवादी उत्पादनको नमुना देखाउने र सिकाउने योजनाअनुरुप यो अभियार्न थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :