धर्मका नाममा महिलामाथि शोषण

धर्म भनेको अलौकिक शक्तिमा विश्वास गर्नु हो । धर्म अध्यात्मवादी विचार हो जुन अन्धविश्वासमा आधारित हुन्छ । संसारमा मानव जातिले भ्रममा परी विभिन्न धर्म अँगालेका छन् । धार्मिक अन्धता र विश्वासले गर्दा मानव–मानवबीच विभेदको खाडल देखापरेको छ । प्रकृतिको रहस्यलाई बुझ्न नसक्दा ब्रह्माण्डको उत्पत्ति र त्यसको वैज्ञानिक विकासक्रमलाई खुट्ट्याउन नसक्दा प्रकृतिको रहस्यलाई धर्मको नाम दिइयो । सामन्ती राज्यको उत्पत्तिसँगै पितृसत्ता हाबी हुँदै गयो । धर्मको आडमा सबै वर्ग, समुदाय र महिलामाथि शोषण हुन थाल्यो । शक्तिशालीले निर्धालाई दमन, शोषण र अत्याचार गर्ने माध्यम धर्म बन्यो । पूर्वजन्म, पुनर्जन्म, पाप र धर्मको डर देखाएर मान्छेलाई आफ्नो नियन्त्रणमा राख्न विभिन्न मिथकहरू प्रचलनमा ल्याइयो । कार्ल माक्र्सले धर्मलाई अफिमसँग तुलना गरेका छन् । जसरी अफिमले मानिसलाई लठ्ठ्याउँछ र आनन्दित तुल्याउँछ तर मानव जीवनका लागि कुनै ऊर्जा दिन सक्दैन । त्यस्तै धर्मले पनि लठ्ठ्याउँछ । समाज विकासमा धर्म बाधकका रूपमा उपस्थित हुन्छ ।

धर्म शासक वर्गको विचारको स्रोत हो । माक्र्सले भन्नुभएको छ ‘धर्म उत्पीडित प्राणीको चित्कार वा सुस्केरा हो । यो हृदयहीन संसारको हृदय हो ।’ लेनिनले धर्मलाई फलहीन पूmल भन्नुभएको छ । यसका जराहरू उर्वर धर्तीमा गाडिएकाले यिनीहरू शक्तिशाली छन् । यसलाई सजिलै ढाल्न सकिँदैन । धर्मले अध्यात्मवादी अभिधूतवादी विचारको प्रतिनिधित्व गर्दछ । धर्मले प्रकृति, चिन्तन, समाज र जीवनको वस्तुगत सत्यलाई अस्वीकार गर्दछ । धर्मले विज्ञान खोज र अन्वेषणमा विश्वास गर्दैन । यसले शासक वर्गको सेवा गर्दछ । वैज्ञानिक समाजवादी क्रान्तिको प्रक्रियामा जनतालाई धार्मिक रूढिवादबाट मुक्त गर्न सकिन्छ । धार्मिक रूढिवादको अन्त्य गर्न द्वन्द्वात्मक भौतिकवादी विचारले जनतालाई प्रशिक्षित पार्नुपर्छ ।

आज पुँजीवादी साम्राज्यवादीहरूले धर्मको आडमा शासन गरिरहेका छन् । जनतालाई विभिन्न भ्रम दिएर धर्मको सहारामा पुँजीवाद टिकेको छ । मानव समुदायको वर्गीय र लैङ्गिक शोषण गरेको छ । जुनसुकै धर्मले पनि महिलालाई पुरुषसरह हैसियत भएको मानवका रूपमा लिएको छैन । महिला समुदायले धर्म र संस्कृतिका आधारमा अमानवीय व्यवहार खप्नु परेको छ । अमेरिकामा बिधुवा हुनासाथ कालोपट्टी बाँध्ने, कालो लुगा लगाउने, अफ्रिकी देशमा पतिको शवसँगैँ एउटै कम्मल ओढेर केही दिन बस्नुपर्ने, श्रीमान्को शव धोएको पानी खानुपर्ने, नेपालमा पतिको मृत्युपछि सेतो कपडा लगाउनुपर्ने, हातका चुरा फुटाउनुपर्ने जुन धार्मिक संस्कार छ, यो धर्म र संस्कारका नममा महिलामाथिको शोषण र उत्पीडन हो । धर्मका नाममा पुरुषले बनाएको सामाजिक व्यवस्थामा महिला सदियौँदेखि पत्नीका रूपमा पतिको दासी हुनुपर्ने, छोरी जन्मनासाथ अर्काको घरको नासो हुनुपर्ने बाध्यता छ । महाकवि कालीदासले शकुन्तलानामक महाकाव्यमा ‘हुन माल छोरी अरूलाई दिने राखी धरौटी सरी जानी लिने, आनन्द छ आज गरी बिदाइ’ भनेर छोरीलाई धरौटीका रूपमा मानेका छन् । यसमा श्रीमान्लाई रिझाएर बस्नु नै महिलाको धर्म हो भनी उपदेश दिइएको छ ।

नेपालको राजनीतिक सत्ताको चरित्र लोकतान्त्रिक, धर्मनिरपेक्ष भनिए पनि सामाजिक सत्ता व्यवहारमा हिन्दु धर्मद्वारा निर्देशित यो जातिवादी, पुरुषवादी एकल धर्मसंस्कृतिबाट चलेको छ । नेपाली समाज विभिन्न धार्मिक क्रियाकलाप र संस्कारले बाँधिएको छ । नेपालमा २०६८ सालको जनगणनाअनुसार कुल जनसङ्ख्याको ५१.४% महिला छन् । ०६८ कै जनगणनाअनुसार ८०ंं.६% हिन्दु, १०.७%बौद्ध, ४.२% इस्लाम, ३ं.६% किराँत ०.४५% इसाई र अन्य धर्मावलम्बी ०.४०% प्रतिशत छन । नेपालको संविधान २०७२ ले महिला भएकै कारण कुनै पनि भेदभाव गरिनेछैन भनेको छ । तर व्यवहारमा, धर्म–संस्कृतिका नाममा महिलाहरूले ठूलो विभेद खेप्नुपरेको छ । धार्मिक कारणले महिलामाथि लैङ्गिक विभेद भएका प्रशस्त तथ्यहरू छन् ।

हिन्दु धर्मले नारीलाई मनोरञ्जनका निजी साधन बनाउनु, आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्नु र सन्तान जन्माउनु नारीको धर्म हो भन्ने भनाइलाई निरन्तरता दिएको छ । नारीले सानी छँदा बाबुको अधीनमा र जवान हुँदा लोग्नेको अधीनमा र बूढी भएपछि छोराको अधीनमा बस्नु पर्दछ र तिनलाई कहिल्यै पनि स्वतन्त्रता दिनु हुँदैन भनेका छन् । मनुले भनेका छन्– स्त्री जाति भई आफ्ना पुरुषलाई रिस गरे टेढी हुन्छे, पुरुषको वचन नमाने पक्षपाती हुन्छे, पुरुषसँग लुकाई खाए कुकुर्नी हुन्छे, पुरुषसित मुख लागे लाटी हुन्छे र पुरुषसँग द्रोह गरे गोही हुन्छे । यस्तो भन्ने स्वस्थानी कथा आज पनि हाम्रा दिदीबहिनीहरूले माघमा एक महिना पढ्ने गर्छन् । स्वस्थानी व्रत बस्छन् । जुन कुराले आफैँलाई अमपान गरेको छ, भ्रममा परी यसैको पछिपछि महिलाहरू दगुरेका छन् । यसको भण्डाफोर गरी स्वस्थानी व्रत बस्नु हुँदैन । यसरी हिन्दु धर्ममा लोग्नेले गरेको अत्याचार सहनु नै पत्नीको परम धर्म मानिएको छ । हिन्दु धर्ममा महिलालाई जिया, जनी र पत्नी भन्ने चलन छ ।

हिन्दु धर्ममा महिलालाई हेपिनुको मूल कारण आर्यहरू एसियामा आएपछि द्रविड महिलाहरूसँग बिहे गरे । द्रविड संस्कार र संस्कृतिलाई रोक्न महिलाको स्वतन्त्रता र समानतामा नियन्त्रण गरेको पाइन्छ । पितृसत्ता हाबी हुन पुग्यो । साउनमा श्रीमान्को दीर्घायुका लागि हरियो चुरा लगाउने र व्रत बस्ने, तीजमा श्रीमान्का नाममा व्रत बस्नुपर्ने, श्रीमान्को खुट्टाको पानी खाने र ढोग्ने चलन छ । छोरा जन्माउन तीर्थ–व्रत र धाम जाने चलन छ । आज भारतीय टेलिभिजन च्यानलहरूले हिन्दु धर्म र संस्कृतिलाई कायम राख्न चन्द्रकान्त, नागीन, कसौटी, कुमकुम भाग्यजस्ता अनेकौँ टेलीशृङ्खला प्रसारण गरिरहेका छन । ती टेलिशृङ्खलाले पुरुषप्रति भक्तिभाव राख्न, पुरुषको आदेश मान्न र महिलालाई घरभित्रको काममा सीमित हुन सिकाएको छ । भ्रममा परेर महिलाहरू पनि त्यसको पछिपछि लागेको देखिन्छ । सबै काम छोडेर भए पनि महिलाहरू यस्ता टेलिशृङ्खला हेर्न मरिहत्ते गर्छन् ।

अयोध्याका राजा दशरथका छोरा रामको पालामा सीताले अग्निपरीक्षा दिनुपर्ने र लक्ष्मणरेखाभित्र नबस्ने महिलाहरूले आफूलगायत परिवारको हित नगर्ने उदाहरण दिनुले त्यतिबेला महिलाहरूमाथि पितृसत्तात्मक उत्पीडन कस्तो थियो भन्ने प्रस्ट हुन्छ । हिन्दु संस्कारमा ‘छोरीको जन्म हारेको कर्म, अर्काको भित्तो टाल्ने जात’ जस्ता परम्परागत सोचाइबाट निर्देशित नेपाली समाजमा महिलाहरू उत्पीडनमा पर्दै आएका छन । हिन्दु धर्मको संस्कार र मान्यताले महिलाहरूमाथि शोषण र उत्पीडन हुँदै आएको छ ।

बुद्ध धर्ममा झन् महिलामाथि विभेद खडा गरेको देखिन्छ । गौतम बुद्धले महिलाको मानवीय कमजोरीको आलोचना गर्दै भिक्षु र भिक्षुणीको फरकफरक नियम बनाएका थिए जसले गर्दा भिक्षुणीहरू कडा नियममा बस्ने गरेको देखिन्छ । भिक्षुहरूले महिलालाई नियन्त्रण गर्नका लागि अठ्ठगुरुधाममा यस्ता नियम बनाए । भिक्षुणीहरू जति समय सङ्घमा बस्छन् उनीहरू सानाठूला भिक्षुका अगाडि झुक्नुपर्ने, भिक्षुणीले भिक्षुलाई गाली गर्न नपाउने नियम छ । बुद्धले महिलालाई भिक्षुणी बनाउन अस्वीकार गरेका थिए । महायनी र बज्रयानी परम्पराअनुसार बिहार र बहालको महिला सदस्य हुन पाउँदैनन् । यी सबै तथ्यबाट के बुझिन्छ भने बुद्ध धर्मले महिलामाथि विभेद गरेको देखिन्छ । बुद्ध धर्म पनि लैङ्गिक समानताका पक्षमा छैन ।

इस्लाम धर्ममा मुस्लिम महिलाले बुर्का लगाउनुपर्ने, पारिवारिक सम्मानका लागि छोरीबुहारीलाई मृत्युदण्डको चलन छ । इस्लाम मान्यताअनुसार महिलाको भूमिका पुरुषकी आमा र पत्नी बन्नु हो ।

इसाई धर्म पितृसत्तात्मक समाजबाट उत्पत्ति भएको छ । समाज बिहेबारी र सरकारी ओहोदामा पुरुषकै बोलवाला छ । जेनेसिसनामक पुस्तकका अनुसार पहिला पुरुष पैदा भएको र पुरुषको करङबाट महिला पैदा भएको भनिएको छ । ईश्वरको प्रतीकका रूपमा पुरुषलाई मानिन्छ । चर्चको मूल नेतृत्व (पास्टर, बिसप) पुरुषले मात्र गर्दछन् । महिलाले त्यो अवसर पाउँदैनन् । पुरुष महिलाको शिर भएकाले चर्चमा पुरुषप्रतिको आदरका लागि आफ्नो टाउको कुनै कपडाले ढाक्नुपर्दछ । उसले कपडाले शिर ढाकेकी छैन भने पुरुषप्रतिको अनादर गरेको मानिन्छ । प्रार्थनाको अगुवाइ गर्ने चर्च भेटी सङ्कलन गर्ने, प्रभुभोज बाँड्ने, विवाह गराइदिने, बच्चाहरूको नामकरण गर्ने र मृत्यु संस्कार गर्ने काम पुरुषले मात्र गर्न पाँउछन् । महिलाहरूलाई यी कामको अनुमति छैन ।

आज पुँजीवाद साम्राज्यवादले धर्मका नाममा विभिन्न भ्रम उत्पन्न गरी उत्पीडित जाति, वर्ग र महिलामाथि शोषण–उत्पीडन गर्दै आएको छ । पुँजीवादसँग कुनै विचार छैन । शासकहरूले छलकपट, दमन, षड्यन्त्र र भ्रमको खेती गर्दै आफ्नो सत्ता टिकाइरहेका छन् । प्रकृतिले महिला र पुरुषलाई विशिष्ट र फरक बनाएको छ भने पितृसत्तात्मक परिपाटी र लैङ्गिक विभेद मानव निर्मित हुन् । यसलाई बदल्नु पर्दछ । धार्मिक अन्धताको अन्त्य गरी विज्ञान र अन्वेषणको अनन्त प्रक्रियामा सहभागी भएर मात्र मानिस स्वतन्त्रताको संसारमा पुग्छ । स्वतन्त्रताको संसार भनेको जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवाद स्थापना हुनु पर्दछ । वैज्ञानिक समाजवादी सत्ता मानव–मानवबीचको समानता र स्वतन्त्रताको सत्ता हो । जुन सत्तामा कुनै पनि मानिस जातीय वर्गीय र लैङ्गिक हिसाबले शोषण, विभेद र उत्पीडनको सिकार हुनु पर्दैन । धार्मिक अन्धता र भ्रमको कुनै स्थान हुँदैन । वैज्ञानिक खोज, अनुसन्धान र सत्यमा आधारित वैज्ञानिक समाजवादी सत्तामा महिलाहरूले कुनै पनि शोषण र उत्पीडन सहनु पर्दैन । महिलाहरूले पुरुषसरह समान अधिकार पाउँछन् । धर्म, परम्परा र संस्कारका नाममा गरिने शोषण, दमन र हिंसाबाट बच्न वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको आन्दोलनमा लामबद्ध हुनु महिला, दिदीबहिनीहरूका लागि अपरिहार्य आवश्यकता भइसकेको छ ।

(लेखक अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :