नेकपाका नेताहरूले गरे सिर्जनानगरस्थित युद्ध-कला सङ्ग्रहालय अवलोकन

जनयुद्ध र जनक्रान्तिका ऐतिहासिक सामग्रीहरूको रक्षा गर्ने महान् काम : सन्तोष बुढामगर

नेकपाका नेताहरूले गरे सिर्जनानगरस्थित युद्ध-कला सङ्ग्रहालय अवलोकन

polसिर्जनानगर, रामेछाप : एउटै र्याकको एकातिर नेकपाका संस्थापक एवम् संस्थापक महासचिव कमरेड पुष्पलालले कम्युनिस्ट घोषणापत्र राखेको बाकस छ । यो बाकस वनारसबाट ल्याइएको हो । पुष्पलालले निर्वासित जीवन बिताउँदा यो बाकस बनारसमा थियो । दुई वर्षअघि सिर्जनानगर यात्राका क्रममा पुष्पलालको साथसङ्गत पाएका वामपन्थी बुद्धिजीवी लोककृष्ण भट्टराईको पहलमा यो बाकस वनारस हुँदै काठमाडौँबाट सिर्जनानगर पुगेको हो । त्यही बाकसको नजिकै छ कमरेड विप्लवले एकीकृत जनक्रान्ति कालमा प्रयोग गरेको कम्प्युटरको प्रिन्टर । यी दुई सामानले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासलाई वर्तमानसँग जोड्छन् र एकीकृत जनक्रान्तिको सन्देश दिन्छन् ।

यो दृश्य हो रामेछाप मन्थलीस्थित सिर्जनानगरमा निर्माणाधीन हित-जून युद्ध-कला सङ्ग्रहालयको । सङ्ग्रहालयमा नेपालको राजनीतिक, सांस्कृतिक, साहित्यिक आन्दोलनको इतिहास र जनजीवन झल्काउने चित्रकला, जर्बुट्टाकलासहित करिब पाँच सय सामग्री सङ्कलन गरिसकिएको छ । जनयुद्धमा जनमुक्ति सेनाले प्रयोग गरेको कम्ब्याटदेखि क्यामेरा र रेकर्डरसम्म, सहिदहरूका हस्ताक्षरदेखि युद्धकालीन साहित्यसम्म सङ्ग्रह गरिएको छ । समाज विकासका क्रममा करिब डेढ सय वर्षअघि प्रचलनमा रहेका भाँडाकुँडा र औजारहरू पनि सङ्ग्रहालयमा सङ्ग्रह गरिएको छ ।

केही दिनअघि सिर्जनानगर आइपुगेका नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य एवम् केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले भने, ‘यो महान् र ऐतिहासिक काम हो । यसका लागि सङ्ग्रहालय आरम्भकर्तालाई बधाई तथा धन्यवाद ।’

सङ्ग्रहालय अवलोकन गर्नेमा नेकपा केन्द्रीय सदस्य एवम् पूर्वताम्सालिङ ब्युरो इन्चार्ज (हाल काभ्रे जिल्ला इन्चार्ज) मोहलाल चन्द आधार, नेकपा केन्द्रीय सदस्य एवम् दोलखा-सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहदेखि नेकपा केन्द्रीय सदस्य एवम् रामेछाप-सिन्धुली जिल्ला इन्चार्ज शरद रसाइली, नेकपा अन्तर्राष्ट्रिय विभाग सदस्य नरबहादुर कार्की, नेकपा रामेछाप सेक्रेटरी इन्द्र श्रेष्ठ, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, नेकपा केन्द्रीय प्रकाशन विभाग सदस्य एवम् युद्धपत्रकार अम्बिका चन्दसमेत छन् । उनीहरूले गत चैत महिनायता उक्त सङ्ग्रहालयको अवलोकन भ्रमण गरिसकेका छन् ।

गत असार महिनामा मात्र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य सन्तोष बुढामगर, पार्टी केन्द्रीय सदस्य एवम् दोलखा-सिन्धुपाल्चोक इन्चार्ज पूर्णबहादुर सिंह, पार्टी केन्द्रीय सदस्य एवम् रामेछाप-सिन्धुली जिल्ला इन्चार्ज शरद रसाइली, नेकपा रामेछाप सेक्रेटरी इन्द्र श्रेष्ठ, नेकपा रामेछापका पूर्वसेक्रेटरी कुलदीप थापामगर ‘अभिलास’, विद्यार्थी नेता मुकुन्द श्रेष्ठलगायतले मन्थली १, सिर्जनानगरस्थित हित-जून युद्ध-कला सङ्ग्रहालय १ को अवलोकन गरेर विभिन्न सुझाव, सल्लाह र प्रतिक्रिया दिएका छन् ।

नेकपा केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले सङ्ग्रहालय अवलोकन भ्रमणपछि भनेका थिए, ‘रामेछापलाई विशेषगरी कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र पुष्पलालको जन्मथलोसँग जोडेर तीन लालको जिल्ला भन्ने गर्नुभएको रहेछ । यसलाई धेरै लालहरूको जिल्ला अर्थात् क्रान्तिकारी योद्धाहरू जन्माउने जिल्लाका रूपमा पनि परिचित गराइरहनुभएको छ । अझ कति लालहरू जन्मिएका छन् यो जिल्लामा । यो जिल्लाको क्रान्तिकारी पार्टी अर्थात् नेपाल कम्युनिस्ट पार्टीको बैठकमा उपस्थित भइरहँदा मलाई कमरेड अशोकले आफूले व्यक्तिगत रूपबाट निरङ्कुश राणाशासनविरोधी आन्दोलनका योद्धा एवम् कवि हितप्रसाद उपाध्याय र सामाजिक अभियन्ता जूनमाया सुवेदीको सम्मान र स्मृतिमा सङ्ग्रहालयको परिकल्पना गरेर त्यसलाई साक्षात् रूप दिन खोजिरहनुभएको जानकारी भयो । उहाँले त्यसलाई सुरुआत पनि गर्नुभएको छ, अवलोकनका लागि प्रस्ताव गर्नुभयो । यो निकै ठूलो र महान् काम हो । निश्चय पनि कुनै पनि कामको आरम्भ सानै परिकल्पनाबाट हुन्छ । सानोबाट सुरु भएर, विकास भएर त्यसले विकसित रूप लिने हो र ठूलो स्वरूप ग्रहण गर्ने हो । उहाँले जुन परिकल्पना लिएर यो महान् काम आरम्भ गर्नुभएको छ, म पार्टीको केन्द्रीय समिति र केन्द्रीय जनपरिषद्का तर्फबाट स्वागत पनि गर्दछु र उहाँलाई हार्दिक धन्यवाद पनि प्रकट गर्दछु । यो महान् र ऐतिहासिक कामका लागि हामी हाम्रातर्फबाट नैतिक, भौतिक, वैचारिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । जुन महान् र ऐतिहासिक कामको सुरुआत भएको छ, यसले भविष्यमा जनयुद्धको सङ्ग्रहालय, युद्ध सङ्ग्रहालय, कला सङ्ग्रहालयको रूप ग्रहण गर्नेछ । इतिहासमा परिवर्तनका लागि योगदान गर्ने मातापिताका नाममा हित-जून युद्ध-कला सङ्ग्रहालय भनेर जुन प्रारम्भिक नामकरण गर्नुभएको छ यो सही छ । यसमा महान् जनयुद्धका कला, साहित्य र जनयुद्धमा प्रयोग भएका सामग्री राखिएको छ । यसले जनयुद्धको इतिहास, क्रान्तिको इतिहासलाई संरक्षित गरेको छ र गर्नुछ । उहाँलाई यो महान् कामका लागि पुनः हार्दिक शुभकामना दिन चाहन्छु । उहाँले सुरु गरेको कामले विकास गरोस्, फल्ने, फुल्ने अवसर प्राप्त गरोस् । हामीलाई सङ्ग्रहालयमा उपस्थित गराएर अवलोकन गर्ने जुन अवसर दिनुभयो, त्यसका लागि पनि हार्दिक धन्यवाद तथा शुभकामना प्रकट गर्दछु ।’

सङ्ग्रहालयय अवलोकनपछि नेकपा केन्द्रीय सदस्य एवम् रामेछाप-सिन्धुली इन्चार्ज शरद रसाइलीले भनेका थिए, ‘मानिसले आँट्यो भने गर्न नसक्ने काम केही छैन भन्ने प्रमाणित भएको छ । यसको पूर्णताका लागि पार्टीले आफ्ना तर्फबाट सक्दो प्रयास गर्नेछ ।’

त्यसैगरी सङ्ग्रहालय अवलोकनपछि नेकपा दोलखा-सिन्धुपाल्चोक इन्चार्ज पूर्णबहादुर सिंहले यो सङ्ग्रहालय नेपालको राजनीतिक-सांस्कृतिक आन्दोलनको इतिहासमा एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि रहेको बताएका थिए ।

सङ्ग्रहालयका बारेमा जानकारी दिँदै हित-जून साहित्य प्रतिष्ठानका अध्यक्ष अशोक सुवेदीले प्रतिष्ठान र सङ्ग्रहालयलाई एनजीओ नबनाउने, क्रान्तिकारी जनपरिषद्मा दर्ता गर्ने र वैज्ञानिक समाजवाद स्थापनापछि समाजवादी राज्यसत्तालाई हस्तान्तरण गर्ने घोषणासमेत गरेका थिए । एक रोपनी एघार आना क्षेत्रफलमा फैलिएको प्रतिष्ठान प्राङ्गणभित्र हित-जून स्मृति भवन, हित-जून स्मृति पुस्तकालय, हित-जून सालिक, हित-जून युद्ध-कला सङ्ग्रहालय १ लगायत संरचना निर्माणाधीन छन् । करिब एक करोड पचास लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त भवनमा पाहुनागृह पनि बनिरहेको छ । सङ्ग्रहालय निर्माण सम्पन्न भएपछि नेकपाका महासचिव विप्लवबाट उद्घाटन गराउने लक्ष्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :