एनसेल र एमसीसीलाई छाड्दैनौँ : नेता कुमाल

एनसेल र एमसीसीलाई छाड्दैनौँ : नेता कुमाल

गाईघाट : राष्ट्रघाती एमसीसी र अर्बौं कर छली गर्ने एनसेललाई नेकपाले नछाड्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीले अमेरिकन कार्यक्रम एमसीसी र एनसेललाई त्यत्तिकै नछाड्ने चेतावनी दिएको हो ।

पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवापछि असार २७ देखि २९ गतेसम्म जिल्लाको पुरानो सदरमुकाम उयदपुरगढीमा सम्पन्न औपचारिक बैठकका निर्णय सार्वजनिक गर्न गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज बिवेक कुमालले नेपाल र नेपाली जनताका लागि राष्ट्रघाती र जनघाती सिद्ध हुने एमसीसी कुनै हालतमा कार्यान्वयनमा ल्याउन नदिने बाचा गरे ।

उनले राज्यलाई तिर्नुपर्ने अर्बौं कर नतिर्ने एनसेलाई पनि पार्टीले कुनै हालतमा नछाड्ने नीति लिएको बताए । पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा कुमालले राष्ट्रघाती एमसीसी र कर छली गर्ने एनसेलविरुद्ध अनवरत सङ्घर्ष गर्ने तथा चुच्चे नक्शाको कार्यान्वयन तथा राष्ट्रियता र जनजीविकाको विषयमा पार्टी निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

कुमालका अनुसार २ वर्षसम्मको प्रतिबन्ध फुकुवापछि बसेको खुल्ला र औपचारिक बैठकले बिभिन्न १५ बुँदे निर्णय पारित गरेको छ । जसमा नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भइसकेकाले अव बिकल्पको खोजी गर्दा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने ठहर पार्टीले लिएको छ । नेकपाले एकीकृत जनक्रान्तिको सङ्घर्षबाट संसदीय व्यवस्थाको विकल्प खोज्दै सबै राजनीतिक दल सङ्लग्न संयुक्त प्रगतिशील सरकार गठन गरी जनमत सङ्ग्रहमा जानुपर्ने धारणा पारित गरेको छ ।

‘नेपालमा अहिलेसम्म लागू भएको पटकपटकको संसदीय व्यवस्था असफल सिद्ध भइसक्यो’ कुमालले भने ‘त्यसैले अव यसको विकल्पको खोजी गर्दै वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्नुपर्छ । त्यसका लागि जनमत सङ्ग्रहमार्फत नयाँ व्यवस्था स्थापना हुनुपर्छ ।’ जनमत सङ्ग्रह गर्नुअघि सबै राजनीतिक दलहरू सम्मिलित संयुक्त प्रगतिशील सरकार गठन गर्नुपर्ने धारणा पनि पार्टीको रहेको कुमालले बताए ।

वैज्ञानिक समाजवाद प्राप्त गर्नका लागि पार्टीले गाउँ र शहर जोड्ने मध्यमवर्गलाई उपयोग गर्दै, किसान र मजदुरको सहयोग लिएर एकीकृत जनक्रान्तिलाई उचाइँ दिने ‘रोडम्याप’ पार्टीको रहेको कुमालले बताए । ००७ सालदेखि अहिलेसम्मको संसदीय अभ्यास, १० वर्षे जनयुद्ध, त्यसअघि र पछिका विभिन्न आन्दोलन र सङ्घर्षहरूको संश्लेषण गर्दै नेपाली समाज सुहाउँदो व्यवस्था नै वैज्ञानिक समाजवाद भएको ठहर पार्टीको रहेको उनको तर्क छ ।

एकीकृत जनक्रान्तिको माध्यामबाट स्थापना हुने वैज्ञानिक समाजवादमा वर्गबिहीन समाज निर्माण हुने र त्यसमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत कुराहरू जनतालाई निःशुल्क प्राप्त हुने पार्टीको निष्कर्ष छ ।

पार्टीको आगामी आन्दोलनको विषयमा पत्रकारहरूको जिज्ञासामा उनले ओली सरकारसँग सुरु भएको आफूहरूको वार्तालाई देउवा सरकारले निरन्तरता दिने नदिनेमा त्यो कुरा भर पर्ने उनले बताए । हिजो थालिएको वार्ता ओलीसँग नभएर सरकारसँग गरेको भन्दै त्यसलाई जुनसुकै सरकारले पनि निरन्तरता दिनुपर्ने हुँदा देउवाले पनि निरन्तरता दिएर टुङ्ग्याउनुपर्ने पार्टी धारणा उनले व्यक्त गरे ।

पार्टीमाथिको प्रतिबन्ध फुकुवा, नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा खारेज र पक्राउ राजबन्दीहरूलाई निशर्त रिहाइँ गरी मुख्य ३ बुँदामा केन्द्रित भएर पार्टीले सरकारसँग वार्ता थालेको भन्दै उनले पहिलो बुँदा मात्र कार्यान्वयन भएको बताए ।

न्यूनतम् ३ मध्य दोस्रो र तेस्रो बुँदालाई सरकारले कार्यान्वयनमा नल्याएको भन्दै उनले रोल्पा र दाङमा ३/३ जना तथा बाजुरामा १४ नेता कार्यकर्ता छुटे पनि उनीहरू अदालती प्रक्रिया पूरा गरेरै छुटेकाले सरकारले छाडेको भन्न नमिल्ने बताए । ‘पार्टीले राखेका ३ शर्तमध्ये प्रतिबन्ध फुकुवाको मात्र पूरा भएको छ । झुटा मुद्दा खारेज र राजबन्दीको निशर्त रिहाईजस्ता दुई बुँदा बाँकी नै छन्’ उनले भने ‘रोल्पा, दाङ र बाजुरामा छुटेका हाम्रा नेता कार्यकर्ता अदालती प्रक्रिया पूरा गरेरै छुटेका हुन् । फरक यत्ति छ, यसअघि अदालतले छाड्दा तत्काल पक्राउ गरेर फेरि थुनामा राख्थ्र्यो, अहिले त्यसो गरेन ।’

नेता भरत बम लगायत देशभर अझैँ एकसय जना भन्दा बढी आस्थाका बन्दीहरू बिभिन्न कारागारमा अझैँ थुनामा रहेको र उनीहरूलाई बिनाशर्त रिहा गर्न कुमालले सरकारको ध्यानाकर्षण गराए । त्यसका लागि देउवा सरकारसँग वार्तालाई निरन्तरता दिन पार्टीले प्रयासस्वरुप भर्खरै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालसँग महासचिव विप्लवले भेटघाट गरिरहेको उनले बताए ।

पार्टी जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले अहिलेको दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद मात्र भएकाले त्यसको स्थापना गर्न पार्टी तल्लोतहबाटै अघि बढ्ने योजनामा रहेको बताए । बैठकले समाजवाद लक्षित कार्यक्रमलाई ठोस् गर्न सांगठनिक जिम्मा तोक्दै जिल्लामा युवा, विद्यार्थी, राजनीतिक दल, बुद्धिजीवी, पत्रकार, व्यवसायीलगायत सबैपक्ष सम्मिलित प्रगतिशील संयक्त सरकार बनाएर जनमत सङ्ग्रहबारे व्यापक बहसको थालनी गर्ने निर्णय भएको सेक्रेटरी पौडेलले बताए ।

बैठकले कोभिडबाट बच्न र बचाउँन सरकारले जनतालाई तत्काल निःशुल्क खोप उपलब्ध गराउन, कोभिड प्रतिकार्यमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन माग गर्दै त्यस कार्यमा पार्टी नेता कार्यकर्ताले सहजीकरण गर्ने, जिल्लामा एउटा पुस्तकालयलगायत बिभिन्न रचनात्मक कार्यक्रम गर्ने, वर्षायाममा प्राकृतिक प्रकोपबाट सुरक्षित रहन पूर्व तयारी र घटनापछि उद्धार र राहतका कार्यक्रम ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

उनले वैज्ञानिक समाजवाद उन्मुख नीति कार्यक्रम पार्टीले ठोस गरिसकेको बताउँदै त्यससँग बिचार मिल्ने राजनीतिक दलहरूसँग सहकार्य र कार्यगत एकताका लागि छलफल भइरहेको बताए । मोहन बैद्य नेतृत्वको एकीकृत नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपासँग कार्यगत एकताबारे छलफल निरन्तर चलिरहेको बताए । उनीहरूसँग कार्यक्रम मिलेमा कार्यगत एकता गर्ने र सिद्धान्त मिले पार्टी एकता गर्नेसम्मको योजना बनाइएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :