नेकपाका सचिवालय सदस्य सुदर्शनको अप्रेशन हुँदै

नेकपाका सचिवालय सदस्य सुदर्शनको अप्रेशन हुँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को मुटुको अप्रेशन हुँदैछ । साइलेन्ट हर्ट अट्याक भएर सहिद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचाररत रहेका सुदर्शनको मुटुको अप्रेशन हुन लागेको हो ।

सचिवालय सदस्य सुदर्शनको हर्ट अट्याक भएपछि नख्खु कारागारबाट गङ्गालाल हृयदरोग केन्द्रमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । सुगर, ब्लड प्रेसर जस्ता रोगबाट पीडित सुदर्शनको स्वास्थ्यमा समस्या उत्पन्न भएको जानकारी गराउँदा पनि जेल प्रशासनको लापरवाहीका कारण गम्भीर अवस्था सिर्जना भएको हो ।

सुदर्शनको अवस्थाबारे जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेताहरू अस्पताल पुगेका थिए । ओली नेतृत्वको सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नहुँदा सुदर्शन, रणवीर लगायतका नेताहरू अझैँ बन्दी जीवन बिताइरहेका छन् ।

त्यसैबीच सुदर्शनको रिहाईको लागि सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दाको आज पेशी समेत तोकिएको छ । उनीसँगै अर्का नेता रणवीरको पनि आजै पेशी सर्वोच्च अदालतले तोकेको छ ।

केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका रणवीरको पनि स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको छ । मुटुमा समस्या देखिएपछि कारागार अस्पतालमा उपचार हुन नसकेपछि रणवीरलाई पनि गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :