नेकपा केन्द्रीय सचिवालयको बैठक सम्पन्न

सबै राजनीतिक शक्तिसँग सम्वाद र छलफल गर्ने निर्णय

नेकपा केन्द्रीय सचिवालयको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरूसँग सम्वाद र छलफललाई तिब्रता दिने निर्णय गरेको छ । बैठकमा अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति वर्तमान सरकारले स्वामित्व लिनु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको बताइएको छ ।

कोरोना भाइरस विरुद्धको खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउनु पर्ने, सङ्क्रमितको उपचार निःशुल्क र सर्वसुलभ गराउनु पर्ने, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई तत्काल जोखिमभत्ता उपलब्ध गराउनु पर्ने बिषय सरकारसमक्ष प्रस्तुत गर्ने निर्णय नेकपाको सचिवालय वैठकले गरेको छ ।

यस्तै बैठकले जनपरिचालन र जनजागरण अभियान सञ्चालन गर्ने, जनसरोकार जनजिबिकाको बिषयमा जनप्रदर्शन र सङ्घर्ष गर्ने निर्णय गरेको छ । इन्धनमा भएको मुल्यवृद्धि, महँगी, भ्रष्टाचार, शैक्षिक-स्वास्थ्य समस्या लगायत सुकुमबासीमाथि भएका ज्यादती, जातीयविभेद र छुवाछुत, महिलाहिंसा र बलात्कार लगायतका बिषयलाई लिएर सङ्घर्ष गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले नेपालको नयाँ नक्सा सम्पूर्ण क्षेत्रमा प्रयोग गर्ने गराउने निर्णय गरेको छ । साथै उक्त बैठकले पार्टीको मुखपत्रलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गर्ने निर्णय समेत गरेको नेकपाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :