सर्वोच्चले प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाको असफलता : पुन

सर्वोच्चले प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाको असफलता : पुन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाको असफलता भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरद्वारा आयोजित पार्टी ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले अदालतले प्रधानमन्त्री तोक्ने, अदालतले पार्टी जुटाउने अदालतले फुटाउने संसदीय व्यवस्थाको असफलताको परिणाम भएको बताएका हुन् ।

विद्यमान दलाल संसदीय व्यवस्थाकै कारण देशमा उत्पादन नगरी आयात मात्र गर्दा व्यापार घाटा बढेकोले देश टाट पल्टिएको उनको भनाइ थियो । वैदेशिक शक्तिकेन्द्रको स्वार्थमा नदिनाला र प्राकृतिक खानी बेचेर खाने प्रवृत्तिले राष्ट्रलाई विदेशीको क्रिडास्थल बनाएको छ उनले भने “भारतीय योजनाअनुसार हिन्दुराष्ट्र घोषणा, सङ्घीयता खारेज, नागरिकता विधेयक मार्फत फिजिकरण गर्ने योजना असफल भएपछि युरोपियनहरूको योजनामा एमसीसी लागु गर्ने षड्यन्त्र भइरहेको छ । विदेशी शक्तिकेन्द्रको लडाइँमा नेपालका संसद्‌वादी दलका नेता कठपुतली मात्र भएको उनले दाबी गरे । हरेक सरकारी कार्यालयदेखि मन्त्रालयहरूमा भ्रष्टाचार मौलाएको र कमिशनमा योजना बाडफाँड हुने गरेको उनको भनाई थियो । राष्ट्रका लागि योगदान गर्न नभई स्वार्थका कारण पार्टी बदल्ने प्रवृत्ति व्याप्त हुँदा भ्रष्टाचार मौलाएको उनले बताए ।

जातीय, क्षेत्रीय, भेगीय, लिङ्गिय तथा वर्गीय विभेद र असमानताको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण देशभक्त, प्रगतिशील र समाजवादी शक्ति ध्रुविकरण आजको आवश्यकता भएको भन्दै एकीकृत जनक्रान्तिको यात्रामा ध्रुविकरण हुन अनुरोध गरे । नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध नेता, कार्यकर्ता, शिक्षक बुद्धिजिवी, विद्यार्थी उदाहरणीय हुन आवश्यक रहेको उनले बताए । हरेक क्षेत्रमा अब्बल भएर मात्र वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने भन्दै अग्रणी भूमिका निर्वाह गर्दै नेतृत्व गर्न अनुरोध गरे । आँखामा स्वार्थ र निराशाको बादल बोकेर हिड्ने कहिल्यै कम्युनिस्ट हुन नसक्ने उनको भनाई थियो । व्यवस्था परिवर्तन नभई जनजीवन परिवर्तन नहुने भन्दै उनले भने “पार्टी र नेता चुनेर केही नहुने रहेछ व्यक्ति चुनेर केही नहुने रहेछ अब व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ ।”

कम्युनिस्टहरूले जनतालाई सम्पत्ति राख्न नदिने भ्रम फैलाइएको भन्दै कम्युनिस्टले नै जनतालाई सम्पत्तिको मालिक बनाउने उनको भनाई थियो । पिछडिएका क्षेत्र र जनताको प्रतिनिधित्व गर्न माओवादीले ल्याएको समानुपातिक व्यवस्थामा समानुपातिक पद पैसामा खरिदबिक्री हुन थालेको भन्दै पुँजीवादले जनप्रतिनिधि समेत भेडाबाख्रा बनाएको उनले बताए । नेताले निजी सम्पत्ति राख्न नहुने भन्दै उनले भने कम्युनिस्ट पार्टीको नेताले सामूहिक जीवन समृद्ध गर्ने हो निजी जीवन हैन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुडा, दैजी इन्चार्ज मानबहादुर टेर, राष्ट्रिय जनमोर्चा निकट राष्ट्रिय युवक सङ्घका सुदूरपश्चिम प्रदेश सह-संयोजक अमिर कुँवर, युवा सङ्घका गोकर्ण जोशी, राष्ट्रिय जनमोर्चाका वडा संयोजक मनिराम लुहार, सदस्य गणेश नाथ, माओवादी केन्द्रका एरिया सदस्य शेरबहादुर बम, नेपाली काँङ्ग्रेसका क्रियाशील सदस्य जीवन कार्की, पुर्व जनमुक्ति सेना कमल एसके, जनमोर्चा निकट नेपाल युवक सङ्घ जिल्ला सचिव भुपेन्द्र भण्डारी, स्वतन्त्र बुद्धिजीवी अजयसिंह लगायतका दर्जनाँ नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकरण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :