स्वास्थ्यमा गम्भीर समस्या आएपछि नेकपाका नेता सुदर्शन अस्पताल भर्ना

स्वास्थ्यमा गम्भीर समस्या आएपछि नेकपाका नेता सुदर्शन अस्पताल भर्ना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई मुटुमा गम्भीर समस्या देखिएपछि शुक्रबार अपराह्न काठमाडौँको बाँसबारीस्थित गङ्गालाल हृदयकेन्द्रमा भर्ना गरिएको छ ।

लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, प्रोस्टेट, कोलेस्टेरोल र लिभरको नियमित औषधी सेवन गर्दै आएका नेकपा नेता सुदर्शनको एक साताअगाडि मुटु असहज भएपछि कारागार स्वास्थ्य विभाग नख्खुमै स्वास्थ्य परीक्षण गरिएको जानकारी पारिवारिक स्रोतले दिएको छ । परीक्षणपछि स्वास्थ्यकर्मीले एक साताअगाडि नै गङ्गालाल हृदयकेन्द्र लैजान रिफर गरे पनि कारागार प्रशासनले समयमै अस्पताल नलगेका कारण स्वास्थ्यमा थप समस्या आएको पनि नेता सुदर्शनको परिवारका सदस्यहरूले बताएका छन् ।

शुक्रबार मुटुमा थप समस्या आएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अहिले काठमाडौँको बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

२०७५ साल चैत ९ गते काभ्रेको खानीखोलाबाट गिरफ्तार गरिएका नेता सुदर्शनलाई १ महिना जाउलाखेल प्रहरी हिरासतमा राखिएको थियो । नेता सुदर्शनलाई सङ्गठित अपराध, बम विस्फोट, हातहतियारलगायत झूट्टा मुद्दा लगाएर जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि नख्खु कारागार पठाएको थियो ।

२०७६ साल वैशाख १० गतेदेखि नख्खु कारागारमा राखिएका नेता सुदर्शनलाई पुनरावेदन अदालत पाटनले कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको थियो । हाल हातहतियार तथा खरखजाना मुद्दामा गैरन्यायिक थुनामा राखेर सरकारले नेकपा र सरकारबीच गत फागुन २१ गते भएको सहमतिको धज्जी उडाइरहेको छ । नख्खु कारागारको डीआरसी ब्लकमा राखिएका नेता सुदर्शन नेकपाका नेताका साथै माक्र्सवादी स्रष्टा, कवि, चिन्तक र सहिद पिता हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :