बेपत्ता योद्धा सोमबहादुर विक ‘ज्योती’ को १९ औँ खोज सभा

बेपत्ता योद्धा सोमबहादुर विक ‘ज्योती’ को १९ औँ खोज सभा

कास्की : राज्यको सशस्त्र फोर्सले बिरामी अवस्थामा रहेका आफन्तको उपचारमा जाँदा राज्यद्वारा गिरफ्तार गरी बेपत्ता बनाइएका ज्योतीको १९ औँ खोज सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका ३२ खुदीखोलास्थित उनकै निवास नजिक नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा एक कार्यक्रम आयोजना गर्दै बेपत्ता योद्धा परिवारजन सहित खोज सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बेपत्ता योद्धा सोमबहादुरकी बहिनी सोम माया विकले ज्योतीको जिवनी प्रस्तुत गरेकी थिइन् भने उपस्थित प्रमुख अतिथि, अतिथिहरूलगायत सम्पूर्ण वक्ताहरूले महान् जनयुद्धका सहिद बेपत्ता योद्धाहरूले देखेको सपना पूरा नभएको र नेपालको राजनैतिक परिस्थिति झनै जटिल बन्दै गएको र प्रतिक्रान्तिको चपेटामा फस्ने देखिएको हुँदा सहिद बेपत्ताको सपना पूरा गर्न सम्पूर्ण जनसमुदाय र कम्युनिस्टहरू जनयुद्धको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै ध्रुर्विकृत हुँदै जानुपर्नेमा जोड दिएका थिए ।

राज्यले तत्कालिन समयमा सोमबहादुर विकलाई २०५९ असार २३ गते बेपत्ता बनाएको थियो । उहाँ राजनीतिक रुपमा २०५६ देखि नेकपा (माओवादी) मा सङ्गठित भएर सक्रियताका साथ सुकुमबासी लगायतका जनवर्गको सङ्गठनात्मक तथा सङ्घर्षका काममा सहभागी हुँदै आउनुभएको थियो । पार्टीको इलाका स्तरको जिम्मेवारीमा रहेर काम गर्दैगर्दा पोखराको गण्डकी हस्पिटलबाट राज्यले गिरफ्तार गरि बेपत्ता बनाएको थियो ।

सोमबहादुर विश्वकर्मा ‘ज्योती’ का बुबा मनबहादुर विश्वकर्मा र आमा ओमकुमारी विश्वकर्माको कोखबाट मिति २०३२ बैशाख २८ गते साबिक लेखनाथ न. पा १३ हाल पोखरा महानगरपालिका, ३२ खुदिखोला कास्कीमा जन्मनु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पुर्णजित पुनको प्रमुख आतिथ्यता तथा नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, सहिद बिजयराज बास्तोलाका पुत्र प्रकाश बास्तोला, माओवादी केन्द्रका वडा अध्यक्ष अर्जुन मल्ल लगायत नेकपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो भने नेकपा कास्की जिल्ला सदस्य काजी गुरुङ्गले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :