कोभिड विरुद्धको भ्याक्सिन सबै नागरिकलाई निःशुल्क देऊ भन्दै देशभर प्रर्दशन

कोभिड विरुद्धको भ्याक्सिन सबै नागरिकलाई निःशुल्क देऊ भन्दै देशभर प्रर्दशन

काठमाडौँ : कोभिड विरुद्धको भ्याक्सिन सबैलाई निःशुल्क देऊ भन्दै देशभर देशव्यापी प्रदर्शन भएका छन् । राष्ट्रिय जागरण मञ्च र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा काठमाडौँको माइतीघर अगाडि सोमबार प्रर्दशन भएको छ । कोभिड विरुद्धको भ्याक्सिन सबै नागरिकलाई तत्काल उपलब्ध गराउन माग गर्दै प्रर्दशन गरिएको हो । कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनी र सङ्गठनका महासचिव प्रकाश शाहीले सम्बोधन गर्दै कोरोनाबाट सबै नागरिकलाई निःशुल्क भ्याक्सिन दिने दायित्व राज्यले पूरा गर्नुपर्ने बताए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले निःशुल्क कोरोना खोप उपलब्ध गराउन माग गर्दै देशव्यापी रुपमा प्रर्दशन गरेको छ ।

अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको विभिन्न ठाउँमा सङ्गठनको पूर्व घोषित कार्यक्रमअनुसार कोभिड-१९ बाट बच्न सम्पूर्ण जनतालाई निःशुल्क उपचार, भ्याक्सिनको माग गर्दै प्रर्दशन गरेको छ । सङ्गठनले निरन्तर आम विद्यार्थी, जनताको पक्षमा आवाज उठाउँदै आएको र निरन्तर खबरदार गर्दै जाने अभियान अन्तरगत सोमबार सम्पूर्ण जनताको स्वास्थ्यप्रति राज्यलाई जिम्मेवार बन्न आह्वान् गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले राज्य जनता बचाउनुको सट्टा, चरम शोषणमा लागेको र राजस्व असुलीतिर केन्द्रित रहेको आरोप लगाए । उनले सरकारले सम्पूर्ण जनतालाई निःशुल्क खोपको ग्यारेन्टी गर्न समेत माग गर्दै अबको निकास संसदीय व्यवस्थाबाट सम्भव नरहेकाले विकल्पमा वैज्ञानिक समाजवादी राज्य सत्ता स्थापना गरेमा तब मात्र देश र जनतको मुक्ति सम्भव छ, त्यसको लागि अब नेता चुन्ने चुनाव होइन, व्यवस्था चुन्ने चुनावमा जानुपर्ने र जनतालाई आफ्नो अधिकार प्रयोग गर्न दिनुपर्ने गरि जनमत सङ्ग्रहमा जानुपर्ने बताए । साथै सङ्गठनले आगामी साउनसम्म जनदवाब मूलक कार्यक्रमहरू घोषणा गरेको क्षेत्रीले बताए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले निःशुल्क कोरोना खोप र स्वास्थ्य उपचारका लागि घोराहीमा दबाबमूलक प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष एवम् सङ्गठनका राप्ती क्षेत्रीय समन्वय समिति सदस्य अनिल केसीले राज्यले कोरोना सङ्क्रमित बिरामीका लागि निःशुल्क खोप र स्वास्थ्य उपचार अबिलम्ब शुरु गर्न आग्रह गरे ।

राज्यको न्युनतम् दायित्व हो भन्दै उनले जनतालाई तत्काल निःशुल्क खोप र स्वास्थ्य उपचार प्रदान गर्नुपर्ने बताए ।

त्यसैगरी अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सम्पूर्ण नागरिकलाई यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न माग गर्दै प्रर्दशन गरेको छ ।
कार्यक्रममा सङ्गठनका जिल्ला इन्चार्ज नविन खड्का ‘बारुद’ ले सरकारले यथाशिघ्र सम्पूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन माग गरे । स्वतन्त्र रुपमा नागरिकले बाँच्न पाउनुपर्ने नैसर्गिक अधिकार भएको बताउँदै खड्काले वर्तमान सरकार कम्युनिस्टको नाममा पुँजीवादी भएको बताए ।

खड्काले पुँजीवादी सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेकाले सम्पूर्ण नागरिक अब वैज्ञानिक समाजवादको दिशातर्फ लाग्नुपर्ने बताए । कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बाबुराम एसकेले वर्तमान सरकारले नागरिकलाई कोरोनाको खोप समेत उपलब्ध गराउन नसक्नु दुःखदायी भएको बताउँदै नागरिकलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारको प्रत्याभूति गराउनुपर्ने बताए ।

कार्यक्रम सङ्गठनका जिल्ला सचिव गिरिजा खड्काको अध्यक्षतामा र सङ्गठनका जिल्ला उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्रान्तिकारीले प्लेट कार्डसहित प्रर्दशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :