नेकपाका नेता आदर्शसहित १४ जना रिहा

नेकपाका नेता आदर्शसहित १४ जना रिहा

काठमाडौँ : बाजुरा कारागारमा रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता चूडामणि ओली ‘आदर्श’ सहित १४ जनालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले मङ्गलबार आदर्शसहित नेकपाका नेता–कार्यकर्तालाई रिहा गर्न आदेश दिएको हो ।

रिहा हुन आदेश प्राप्त गरेकाहरूमा बाजुरा जिल्ला स्वामी कार्तिक गाउँपालिका १ की किर विक, अस्मिता विक., सुस्मिता विक, अछाम जिल्ला ढकारी गाउँपालिका वडा नं. २ की कमला विक, बझाङ मस्टा गाउँपालिका १ की सृष्टि सिंह, अछाम ढकारी गाउँपालिका २ का नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका १ का धर्मराज सुनार, बाजुरा हिमाली गाउँपालिका १ का अम्मलाल थापा र धर्मबहादुर थापा, अछाम विनायक पञ्चदेवल नगरपालिका ८ का उदय कसेरा, ढकारी गाउँपालिका २ का राजेशकुमार शाही र डबलबहादुर नेपाली र बाजुरा त्रिवेणी नगरपालिका २ का डम्बरबहादुर सुनार छन् ।

उनीहरू सबैलाई प्रहरीले २०७५ कात्तिक २२ गते बाजुराको नौमुलेबाट गिरफ्तार गरेको थियो । एउटै समयमा एकै ठाउँबाट गिरफ्तार गरिएकामध्ये धर्मसिंह बोहोरा र कृष्ण विकलाई भने रिहाको आदेश भएको छैन । उनीहरू सबैलाई बिनापुर्जी राज्यविरुद्धको कसुर, विस्फोटक पदार्थ र सङ्गठित अपराध मुद्दा लगाइएको थियो ।

सर्वोच्च अदालतमा बन्दीहरूका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुङ्गानाले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :