दलित मुक्ति मोर्चा नेपालले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

दलित मुक्ति मोर्चा नेपालले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति दाङले आइतबार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । असार १ गतेका दिन सञ्चारकर्मी, कलाकार एवम् जातव्यवस्था उन्मूलन मोर्चा, नेपालकी केन्द्रीय सदस्य रुपा सुनारमाथि गरिएको जातीय विभेद तथा छुवाछुतको ज्यादतिपूर्ण घटना र घटनाका दोषी घरधनी सरस्वती प्रधानलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।

घटनामा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पद र शक्तिको दुरुपयोग गरि दोषीलाई थुनामुक्त गराइ आफ्नै गाडीमा निवास पुर्याएको घटनाले पुँजीवादी संसदीय व्यवस्थाको कथित संविधान र कानुनी राजको मुकुण्डो च्यातिएको स्पष्ट उल्लेख गरिएको छ । दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य सीता विक ‘सम्झना’ को नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा जातीय विभेद तथा छुवाछुत गर्ने घरधनी सरस्वती प्रधानलाई थुनामा राखी कानुनी कारवाही अघि बढाउनुपर्ने, दोषीलाई संरक्षण गर्ने शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गरि कारवाही गर्नुपर्ने, सामाजिक सञ्जाल एवम् अनलाइन मिडियामा जातीय विभेदजन्य क्रियाकलाप गर्ने प्रकाशन गृह र पत्रकारलाई साइबर क्राइम अन्तर्गत कारवाही प्रक्रिया अघि बढाउनुपर्ने, अनुसन्धानमा लापरबाही गर्ने र निवेदन दर्ता गर्न आनाकानी गर्ने प्रहरी प्रशासन तथा कानुनी कारवाहीको लागि मुद्दा अगाडि बढाउन नमान्ने सरकारी वकिलहरूलाई कारवाही गरि यथासिघ्र मुद्दा अघि बढाउनुपर्ने, सरकारले पीडित रुपा सुनारको शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने, देशका विभिन्न ठाउँमा घटिरहेका जातीय विभेद तथा छुवाछुतका अन्य घटनाहरूको गम्भीरतापूर्वक छानविन गरि दोषीलाई कारवाही, पीडितलाई न्याय र क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने जस्ता महत्वपूर्ण मागहरू राख्दै ज्ञापनपत्र बुझाइएको दलित मुक्ति मोर्चा नेपाल दाङका सचिव केशर विकले बताए ।

ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा नेकपा घोराही नगर इन्चार्ज तिलक, नेकपा लमही नगर इन्चार्ज जनकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :