भ्रष्टाचारविरुद्ध जागरण अभियान सञ्चालन गर्ने निर्णयसहित चितवनको वैठक सम्पन्न

भ्रष्टाचारविरुद्ध जागरण अभियान सञ्चालन गर्ने निर्णयसहित चितवनको वैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले जागरण अभियान सुरु गर्ने भएको छ । जिल्ला सचिव मिनप्रसादको अध्यक्षतामा एक्काइसौँ पूर्ण बैठक असार १५, १६ र १७ गतेसम्म भरतपुर महानगरपालिका-८ मा बसी उक्त अभियानको शुरुवात गर्ने निर्णय गरेको हो । शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी पछिल्लो समय देशभर बढिरहेको बेथिति, अनियमितता र भ्रष्टाचारविरुद्ध चितवनसहित देशभर अभियान चलाउन लागेको बताएका छन् ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले देशभर स्थानीय पालिकादेखि सङ्घीय संरचनासम्म बेथिति, भ्रष्टाचार, अनियमितिता बढेको बताए । उनले सुरुवाती चरणमा यसविरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, भ्रष्टाचारको भण्डाफोर गर्ने सङ्घर्षका कार्यक्रमलाई अगाडि बढाइने र कोभिडका कारण जागरण अभियानको मिति नतोकिएपनि चार महिनासम्म गरिने बताए । साथै सन्देश पौडेलले सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनमा ढिलाइ भइरहेको बताउँदै पार्टीका १३५ जना नेता-कार्यकर्ताहरूलाई तुरुन्त रिहा गरिनुपने बताए ।

इन्चार्ज सन्देश र सेक्रेटरी मिनप्रसादद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी चितवनको एक्काइसौँ पूर्ण बैठक समितिका सचिव क. मिनप्रसादको अध्यक्षतामा २०७८ असार १५, १६ र १७ गते भरतपुर महानगरपालिका–८ मा बसी गरेका केही महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । बैठकको प्रारम्भमा एकीकृत जनक्रान्ति, जनयुद्ध, जनआन्दोलन लगायत सम्पूर्ण न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली, बेपत्ता योद्धा र घाइते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै बैठकको प्रारम्भ भयो । पार्टी केन्द्रको निर्णय र निर्देशन अनुसार चितवन जिल्लामा पनि प्रगतिशील संयुक्त सरकार जनमत सङ्ग्रहको चुनाव र वैज्ञानिक समाजवादको रणनैतिक महत्वको कार्यनैतिक नारा अगाडि बढाउँदै सबै सम्भावनालाई दृढतापूर्वक समाउँदै अगाडि बढ्ने, त्यसका लागि सबै प्रकारका राजनैतिक वैचारिक साँङ्गठनिक र सङ्घर्षका गतिविधि सञ्चालन गर्ने निर्णय गरियो । चितवन जिल्लामा हालै गएको बाढी कटान र डुबान लगायतका प्राकृतिक विपत्तिमा राज्य र त्यस निकायबाट भएका उदासिनताको भण्डाफोर गर्दै उद्धार र राहत लगायतका कार्यमा पार्टी पङ्ति लाग्ने । रोपाइँको सिजनमा मलमा भएको कालाबजारी र अभावको भण्डाफोर र आवश्यक सङ्घर्ष गर्दै किसानका अन्य समस्याहरूका विरुद्धमा सङ्घर्ष अगाडि बढाउने ।’

इन्चार्ज र सेक्रेटरीको विज्ञप्तिमा भनिएको छ, ‘कोभिडको उपचारमा देखिएको लापरवाही, चर्को शुल्क लगायत चितवनमा देखिएका स्वास्थ्य क्षेत्रको ब्रम्हलुटका विरुद्ध सम्बन्धित पक्षलाई गम्भीर ध्यानाकर्षण गर्दै त्यसको विरुद्ध भण्डाफोर सहितको सङ्घर्षलाई अगाडि बढाउने । जनसमुदायबीच यस प्रकारको ज्यादतीका बारेमा जागरण अभियान सञ्चालन गर्ने । साथै जनताले पाउने निःशुल्क उपचारलाई व्यवहारिक ढङ्गले कार्यान्वयन गर्न सर्वपक्षीय हिसावले पहल बढाउने । हालैमात्र पूर्वी चितवनमा चाउचाउ उद्योगमा ११७ जना मजदुर निकाला गर्ने लगायतका जिल्लाभरिका मजदुरहरूमाथि गरिएका सबैप्रकारका उत्पीडनविरुद्ध सङ्घर्ष गर्ने । चितवनका बाँदरझुला छरछरे, ढुकुरबारी, सिमलगैरी, गौचरण, गणेशस्थान, आँपटारी, दुइसय बिघा हुँदै लोथर सम्मका झण्डै ३० वटा सुकुमबासी बस्तीका र छरिएर रहेका चितवनका सम्पूर्ण सुकुमबासीहरूको उचित व्यवस्थापन र लालपुर्जा प्राप्तिको आन्दोलनलाई निर्णायक ढङ्गले अगाडि बढाउन सम्पूर्ण पहलहरू केन्द्रित गर्ने । नारायणी, राप्ती, लोथर, रिउ लगायत २० औँ खोलाहरूमा कमिसनको जगमा गरिएका प्राकृतिक दोहन रोक्न पहल गर्ने । साथै जिल्लाका सबै अवैध उत्खनन् र क्रसरहरूलाई तत्काल बन्द गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने र त्यस विरुद्धको सङ्घर्षलाई अगाडि बढाउने । विद्यार्थीहरूलाई अनलाइन पढाई, भर्ना र मासिक शुल्क लगायतका अन्य विषयमा अभिभावकसँग लिएको चर्को शुल्क रोक्न र गरीब तथा जेहेन्दार विद्यार्थीहरूले प्राप्त गर्ने सुविधालाई पूर्णरुपमा लागू गराउन पहल गर्ने । चितवनका सरकारी तथा अन्य कार्यालयहरूमा भएका कमिसन रोक्न, वन मालपोत नापी लगायतका कार्यालयबाट भएका जनविरोधी कार्यका विरुद्ध सङ्घर्ष दृढतापूर्वक सञ्चालन गर्ने ।’

सन्देस र मिनप्रसादको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘माडी नगरपालिकाभित्र भएको ठूलो आर्थिक चलखेल लगायत सबै स्थानीय निकायमा भएको चर्को कर, भ्रष्टाचार र जनविरोधी कार्यको विरुद्ध जागरण अभियान सञ्चालन गर्ने, सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्ने र जनकारवाहीको दिशामा अघि बढ्ने । चितवन जिल्लामा रहेका महान् जनयुद्ध लगायत आन्दोलनका झण्डै दुइसय सहिदका घरपरिवारको आवास, शिक्षा र स्वास्थ्यको व्यवस्था मिलाउन ठोस् पहल गर्ने त्यसको जिम्मा पार्टी स्वयम्ले नै लिने । चितवन राष्ट्रिय निकुञ्ज वरिपरी रहेका बस्तीहरूमा भएको विकास निर्माणको अवरोध, वन्यजन्तुको आक्रमण र बालीनालीको नाश लगायतका समस्या हल गर्न आवश्यक पहलकदमी र सङ्घर्षलाई अगाडि बढाउने । क्यान्सर अस्पताल विरुद्धमा भएका षड्यन्त्रको विरोध गर्दै चितवनलाई मेडिकल सिटी बनाउने योजना सरल र जनमुखी बनाउने । पार्टी सङ्गठनको जालोलाई प्रभावकारी ढङ्गले जिल्लाका २८ वटै वडाहरूमा पुर्याउने ।’

इन्चार्ज र सेक्रेटरीको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘दलित र महिलामाथिका सबै प्रकारका हिंसा, लागू औषध, सोमेश्वर माडी क्षेत्रको सीमा अतिक्रमण, वन पैदावरको चोरी निकाशीको विरोध गर्दै जागरण अभियान र सङ्घर्ष सञ्चालन गर्ने । जिल्लाका विभिन्न स्थानमा पुस्तकालय सञ्चालन गर्ने, समाज भवन निर्माण गर्ने, सरकारी शिक्षण संस्था र हस्पिटललाई सहयोग गर्ने, बृक्षारोपन र वातावरणको संरक्षण गर्ने, पर्यटनमैत्री वातावरण बनाउने, विपत व्यवस्थापनमा लागिपर्ने लगायतका काममा पार्टीले पहल बढाउने । श्रममा आधारित उत्पादन कार्यलाई पार्टी जीवनपद्धति बनाउँदै समाजवादी उत्पादन प्रणाली लागू गर्न सबै किसिमका पहल गर्ने ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :