शाहीको गिरफ्तारीप्रति खेद प्रकट गर्दै नेकपाद्वारा रिहाइका लागि अनुरोध

शाहीको गिरफ्तारीप्रति खेद प्रकट गर्दै नेकपाद्वारा रिहाइका लागि अनुरोध

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र सरकार बीच राजनैतिक सहमति गरेको चार महिना बित्न नपाउँदै अखिल (क्रान्तिकारी) बाँके जिल्ला अध्यक्ष डिबी शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शाही गिरफ्तार भए लगत्तै नेपाल कम्युनिस्ट पार्टीका बाँके सेक्रेटरी अनिलले प्रेस विज्ञप्ति जारी गरी विना कुनै कारण र विना कुनै उजुरी गरिएको गिरफ्तारीप्रति खेद प्रकट गर्दै रिहाइका लागि जिम्मेवार सबैमा विनम्र अनुरोध गरेका छन् ।

शान्ति र अग्रगमनका लागि आफ्नो पार्टीको केन्द्रीय समितिले गरेको निर्णयलाई पूर्ण पालना गर्ने प्रतिबद्धता एक पटक फेरि स्मरण गर्दै उनले विद्यार्थी अध्यक्ष डिबी शाहीको गिरफ्तारीको रिहाईका लागि विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तित्वहरू सबैमा विनम्र अनुरोध गरेका छन् ।

घरमै बसिरहेका शाहीलाई शुक्रबार साँझ सिविल प्रहरीले बोलाएर लिई जिल्ला प्रशासनमार्फत झुट्टा मुद्दा लगाउनु कानुनी राजको उपहास र एक नियोजित प्रपञ्च हो विज्ञप्तिमा भनिएको छ, ‘सत्ता र शक्तिको बलमा घुस, भ्रष्टाचार र कमिसनका घटनाहरू चरम बढिरहेका छन् । आम जनताको जीवन एकपछि अर्को कष्टकर बन्दै गइरहेको छ भने केहि मुट्ठिभर दलाल र माफिया तत्वहरू राज्यको सम्पत्तिमाथि मोज गरिरहेका छन् । हाम्रो पार्टीले देशमा व्याप्त यिनै समस्याहरूको उपयुक्त निकासका लागि जिम्मेवार राजनैतिक पार्टीहरू र सरोकारवाला विभिन्न निकाय र व्यक्तित्वहरूसँग संवाद र सहकार्यको बिधिबाट अघि बढ्नका लागि नेपाल सरकारसँग ऐतिहासिक राजनैतिक सहमतिमा हस्ताक्षेर गरेको करीब चार महिना मात्रै बित्दैछन् । यो बेला देशको प्रगति, अग्रगमन, शान्ति र जनताको समृद्ध जीवनका लागि सम्पूर्ण देशभक्त, जनताका पक्षधरहरू एवम् अग्रगमनकारीहरू एकताबद्ध भएर उभिने बेला आएको छ । यति नै बेला भएको डिबी शाहीको यो गिरफ्तारी कतै स्याल कराउनु र पाठो हराउनुको संयोग त होईन भन्ने गम्भीर आशङ्काले घेरिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शान्ति र अग्रगमनका लागि हाम्रो पार्टीको केन्द्रीय समितिले गरेको निर्णयलाई पूर्ण पालना गर्ने प्रतिबद्धता एक पटक फेरि स्मरण गर्दै विद्यार्थी अध्यक्ष डिबी शाहीको गिरफ्तारीको रिहाईका लागि विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तित्वहरू सबैमा जिल्ला पार्टी बिनम्र अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :