माओवादी केन्द्रका नेता लिलाधर नेपाली नेकपामा प्रवेश

माओवादी केन्द्रका नेता लिलाधर नेपाली नेकपामा प्रवेश

दाङ : नेकपा (माओवादी केन्द्र) को पेशागत सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्लाका सचिवालय सदस्य लिलाधर नेपाली नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालीले पार्टी प्रवेश घोषणा गरेका हुन् ।

विज्ञप्तिमा हालसम्म आबद्ध शिक्षक सङ्गठनले शिक्षकहरूको समस्यालाई बेवास्ता गरेको, संसदीय व्यवस्थाबाट शिक्षकहरूको पेशागत हकहित र अधिकार संरक्षण नहुने र मूल पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पनि संसदीय व्यवस्थामा पतन भएको, जनअपेक्षा अनुसार काम गर्न नसकेको साथै वैज्ञानिक समाजवादका विषयमा जनतामा भ्रम सिर्जना गरेको हुनाले पार्टी परित्याग गरेको स्पष्ट पारेका छन् ।

सच्चा कम्युनिस्ट पार्टी अर्थात वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा सहित अगाडि बढेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको पेशागत सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेको विज्ञप्तिमार्फत जानकारी गराउँदै देशभक्त, क्रान्तिकारी र प्रगतिशील शिक्षकहरू लगायत सम्पूर्णलाई नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन अपिलसमेत गरेका छन् ।

तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ मा स्थायी बसोबास गर्ने लिलाधर नेपाली जनयुद्धकाल देखि नेपाल कम्युनिस्ट पार्टी माओवादीमा आवद्ध भइ निरन्तर क्रान्तिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :