तीनबुँदेमा सरकार इमान्दार भएन भने आँधिवेहरी आउन सक्छ : माइला लामा

‘जनताको मतलाई निर्णायक मान्ने हो भने जनमत सङ्ग्रहमा जानुपर्छ’

तीनबुँदेमा सरकार इमान्दार भएन भने आँधिवेहरी आउन सक्छ : माइला लामा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले यदि जनताको मतलाई निर्णायक मान्ने हो भने जनतालाई व्यवस्था चुन्ने अधिकार जनमत सङ्ग्रह दिनुपर्ने बताएका छन् । अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राजनैतिक दलहरू जनताप्रति इमान्दार छन् भने किन राज्य व्यवस्था छनोटको लागि जनमत सङ्ग्रह सुनेर तर्सिनुपर्यो उनले प्रश्न गरे । अहिलेको संसदीय दलाल व्यवस्थाबाट कोही पनि सन्तुष्ट नरहेको र यो व्यवस्था असफल भएको ३० वर्षले प्रमाणित गरेको तथ्य हो भन्दै नेता लामाले भने, ‘जनतालाई व्यवस्था चुन्ने अधिकार एक पटक दिनैपर्छ, जनताले व्यवस्था चुन्ने अधिकार पाए भने वैज्ञानिक समाजवाद निर्विकल्प नै छ ।’

अर्को एक प्रसङ्गमा उनले तीनबुँदे सहमति कार्यान्वयन गर्न राज्य इमान्दार बन्नुपर्ने बताए । आफ्नो पार्टी सहमति र जनता, राष्ट्रप्रति इमान्दार रहेको बताउँदै उनले पार्टी ठूलो सानो निर्णायक होइन, जुन पार्टीको विचार छ, जनता र राष्ट्रप्रति इमान्दार र समर्पित छ त्यो निर्णायक हुने दाबी गरे ।

२२ महिनापछि केही दिन अघि रिहा भएका माइला लामाले जेल जीवनको अनुभूति सुनाउँदै उनले भने, ‘यदि क्रान्तिप्रति समर्पित भयो भने जनताप्रति, राष्ट्रप्रति इमान्दार भयो भने बन्द पर्खाल कटाउन कुनै गाह्रो हुँदैन, जेल जीवनलाई सिर्जनात्मक क्रियाकलापमा लगाउँदा अझ समय अपुग हुन्छ ।’

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष शरद रसाइलीले युवा विद्यार्थीहरू विद्रोहको, आन्दोलनको, परिवर्तनको अग्रणी भूमिका खेल्दै आएको र आज सिर्जनात्मक कार्यक्रम गरेर पनि अग्रणी भूमिका देखाएको बताए । अहिले अनलाइन शिक्षाको नाममा ब्रह्मलुट भइरहेको भन्दै अभिभावकहरू खेतबारी बेच्न बाध्य हुने अवस्था सिर्जना भएको बताए । कार्यक्रममा अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जनपत्रकार सङ्गठन नेपालका संयोजक शेरबहादुर विक, पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी लगायतको उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) का काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा २२ महिनापछि रिहा भएका माइला लामालाई कार्यक्रममा सहभागी अतिथिहरूले टिका तथा खाँदा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन जिल्ला कोषाध्यक्ष हस्त विकले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सहसचिव रविनाले राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :