गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननकार्य रोक्न नेकपाको चेतावनी

गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननकार्य रोक्न नेकपाको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टी मेचीनगर नगर कमिटी, झापाले पहुँच र पावरको दुरुपयोग गर्दै प्राकृतिक सम्पत्तिको गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन र आर्थिक हिनामिना लगायतका कार्यमा करोडौँ राजस्व छली गरेको, फर्जी बिल बनाएको र जिम्मेवार व्यक्तिहरू संलग्न रहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मेचीनगर नगर कमिटी इन्चार्ज जितुले सोमबार प्रेस विज्ञप्तिमार्फत गैरकानुनी रूपमा नदीजन्य पदार्थको दोहन कार्यमा संलग्न जो कोहीलाई सत्यतथ्य छानविन गरी कानुनी कारवाही नगरे पार्टीले कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

नगर कमिटी इन्चार्ज जितुले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी जनताको माझमा रहेर जनताको भावना अनुरूप काम गर्दै अगाडि बढिरहेको कुरा झापाली जनतामा जगजाहेर छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै कानुन विपरीत काम गर्ने जो कोहीलाई कारवाही गर्दै आएको कुरा आम जनतामाँझ छर्लङ्ग छ । हालै झापाको मेचीनगर नगरपालिका पहुँच र पावरको दुरुपयोग गर्दै नदीजन्य पदार्थ उत्खनन गरी करोडौँ राजस्व छली गरेको, फर्जी बिल बनाएको र जिम्मेवार व्यक्तिहरू नै यसमा संलग्न रहेको कुरा बाहिरिँदा समेत सम्बन्धीत नगरपालिका चुपचाप बसेका कारण यस घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

इन्चार्ज जितुले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘प्राकृतिक सम्पत्तिको गैरकानुनी उत्खनन, आर्थिक हिनामिना, फर्जी बिलको प्रयोग लगायतका कार्यमा संलग्न जो कोहीलाई सत्यतथ्य छानविन गरी कानुनी कारवाही गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा नगरका जनताका माँझ हाम्रो पार्टी नदीजन्य पदार्थको दोहन कार्यमा संलग्न जो कोहीलाई कारवाही गर्न बाध्य हुनेछ । यसको जिम्मेवार सम्बन्धीत निकाय हुने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गदाउँदछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :