जनमतसङ्ग्रह र वैज्ञानिक समाजवाद

जनमतसङ्ग्रह र वैज्ञानिक समाजवाद

२०७८ जेठ ७ गते राती प्रतिनिधिसभा विघटन गरिएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले २०७८ जेठ ८ गते विज्ञप्तिमार्फत नेपालमा संसदीय व्यवस्था असफल प्रमाणित भएको र जनताले यसको विकल्प खोजेकाले जनमतसङ्ग्रहमार्फत यो व्यवस्थाको साटो वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ भन्ने राजनीतिक प्रस्ताव नेपाली जनता र राजनीतिक दलहरूसमक्ष राख्नुभएको सम्बन्धमा विभिन्न जिज्ञासा उठेका छन् ।

नेपाली जनताले जनपक्षीय राजनीतिक परिवर्तन खोजेका छन् भन्ने बेहोरा त वि.सं. १९९७ देखि सङ्गठित रूपमा तत्कालीन समयमा रहेको व्यवस्थाका विरुद्ध सशस्त्र एवम् शान्तिपूर्ण रूपमा गरिएका दसौँ आन्दोलनबाट बुझ्न सकिन्छ । यी सबै आन्दोलनको पछिल्लो विकासक्रम भनेको नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद भनेकै ९९ प्रतिशत उत्पीडित जनताले आन्दोलनको बलमार्फत हाल एक प्रतिशतको सेवाका लागि सञ्चालित यो दोहनकारी राज्यसत्ता परिवर्तन गरी श्रमजीवी वर्गको समृद्धि, समानता र स्वतन्त्रताका लागि कम्युनिस्ट पार्टीको अगुवाइमा समाजवादी सत्ता स्थापना गर्ने अभियान हो । नेपालमा यो सत्ता स्थापनाका लागि एकीकृत जनक्रान्तिको बाटो अवलम्बन गर्नुको कारण के हो भने सर्वहारा, सकुमबासी, किसान, मजदुर त सदाझैँ पीडित नै भएकाले क्रान्तिको सबैभन्दा भरपर्दो आधार हो । वर्तमान सत्ताले मध्यम वर्ग, विज्ञ व्यासायिक, पेसाकर्मी, राष्ट्रिय पुँजीपतिलाई समेत निरन्तरको दोहनमार्फत कमजोर बनाई आसेपासे दलाल वा मध्यस्थको मात्र समृद्धि र सत्तामा रजगज सुनिश्चित गरी ओलिगार्कको क्लेप्टोक्रेसी सञ्चालन गरेकाले सबै पीडित एकीकृत भएर एकीकृत जनक्रान्तिमा लाग्ने विश्वास गरिएको छ ।

विगत ८० वर्षदेखि सामाजिक न्याय र समतामूलक राज्यका लागि आन्दोलनमा होमिएका, विस्थापितहरू, परिवार गुमाएका, घाइते जीवन बिताइरहेका र खाडी मुलुकको तातो घाममा पसिना बगाइरहेका मानिसको अन्तरमनको आवाज नै नेपालको वर्तमान सत्ता विघटन भई प्रगतिशील, जनपक्षीय सत्ता स्थापना होस् भन्ने छ । राजनीतिक क्रान्ति सम्पन्न नभएका हरेकजसो सङ्क्रमणकालीन समाजमा राजनीतिको दुई धु्रव भएझैँ नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो धार र २०७२ सालको संविधान पक्षधर दलाल संसदीय पुँजीवादलगायत दक्षिणपन्थीको दोस्रो धार क्रियाशील भएकाले तेस्रो धार हौँ भनेर कसैले दाबी गर्छ भने त्यो अन्ततः दोस्रो धार नै हो । यसबाट श्रमजीवी जनताको सार्वभौम प्राकृतिक धार भनेकै एकीकृत जनक्रान्तिको धार हो । स्पष्ट राजनीतिक चेतनाको अभाव र भ्रमवश दोस्रो धारमा देखिएका जनताको अन्तरमन पहिलो धारसँग नै हुने भएकाले विजय सुनिश्चित छ ।

आजको विश्व–अर्थव्यवस्था अप्रजातान्त्रिक र अमानवीय ढङ्गले श्रमजीवी वर्गका विपक्षमा छ भन्ने वास्तविकता बढ्दो असमानता र पाँच दर्जन व्यक्तिको स्वामित्वमा संसारका बाँकी जनताको भन्दा बढी सम्पत्ति केन्द्रित हुनुले प्रमाणित गर्दछ । भूमण्डलीकरण नयाँ कलेवरको साम्राज्यवादी हतियार भएको छ । दलाल पुँजीवादी सत्तामा मानवअधिकार, मौलिक अधिकार, लोकतन्त्र, समानता र सम्मान असम्भव छ किनकि यसको निर्माण नै सोपान प्रणाली, सीमित कर्पोरेट हाउसको एकाधिकार र ट्रिकलडाउन सिद्धान्तमा आधारित हुने भएकाले असमानता, शोषण र दमन यसको जैविक चरित्र बनेको छ । समाजवादमा मात्र वास्तविक मानवअधिकार, लोकतन्त्र, आमजनताको व्यक्तिगत सम्पत्तिको वृद्धि सम्भव छ । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात निःशुल्क हुन्छ भने अभिव्यक्ति र प्रकाशनको पूर्ण स्वतन्त्रता हुन्छ । वैज्ञानिक समाजवादमा वर्गीय भेदभाव मात्र होइन, जातीय, लैङ्गिक, क्षेत्रीय भेदभावसमेत अन्त्य गरिनेछ । नेपालमा ४० लाख मानिसलाई दलित भनेर छुनसमेत इन्कार गरिन्छ । यस्तो देशमा प्रजातन्त्र छ भन्ने भ्रमबाट सबैजना मुक्त हुनुपर्दछ । यो व्यवस्था दलाल पुँजीवादको केन्द्र हो भन्ने तथ्य त सामान्य राजनीतिक चेतना भएका नागरिकले पनि स्पष्ट बुझिसकेको अवस्था छ ।

वैज्ञानिक समाजवाद नौलो प्रयोग नभई विश्वसर्वहारा र समाजवादी आन्दोलनबाट सय वर्षअगाडिदेखि नै कार्यान्वयनमा आएको प्रणाली हो । माक्र्सवाद, लेनिनवाद र माओवादले संसारमा औद्योगिक क्रान्तिदेखि संसारका चार अर्ब मानिसलाई गरिबीबाट मुक्त गरेको तथ्य चीनले न्यून लागत मूल्यमा उपभोग्य वस्तुको असीमित उत्पादनबाट संसारका गरिब जनताको जीवनस्तर उठेको छ । पुँजीवादी देशमा भएका विज्ञान–प्रविधिका उपलब्धिबाट सीमित २ दर्जन कर्पोरेट हाउसका मालिक खर्बपति भएका छन् तर त्यसको लाभभन्दा बढी लागत विकासशील देश र संसारका ६ अर्ब जनताले वातावरणीय विनाश, युद्ध, असमानता र अधिक ऋणभारका रूपमा बेहोर्नु परिरहेको छ । वैज्ञानिक समाजवादी सत्ताले इतिहासका सम्पूर्ण अनुभवलाई वस्तुगत ढङ्गले समीक्षा गरी आफ्ना नीति तथा कार्यक्रम लागू गर्नेछ । प्रोत्साहन, अभिप्रेरणा र श्रमप्रति उच्च सम्मानको संस्कृति विकास गरिनेछ । यस क्रममा कहिल्यै पनि नछोडिने विषय भनेको नेपाली जनता, नेपाल राष्ट्र र मानव जातिको उच्चतम् हितसँग कुनै सम्झौता गरिनेछैन । २०६४ सालमा भएको संविधानसभाबाट केही उपलब्धि हुने आशा गरिए पनि देशी विदेशी प्रतिक्रियावादी शक्तिको कोपभाजनमा परी ८ वर्ष लगाएर दलाल पुँजीवादी संसदीय संविधान जनतामाथि लादिएको छ । यो नेपालको पछिल्लो ८० बर्से राजनीतिक आन्दोलनको लक्ष्य हुँदै होइन, जनयद्धको त झनै होइन । सहिद गङ्गालाल श्रेष्ठदेखि एकीकृत जनक्रान्तिका १२ जना सहिदसम्मको बलिदानबाट सिंचित सपनालाई वैज्ञानिक समाजवादमा कार्यान्वयन गरिनेछ । नेपाल कम्युनिस्ट पार्टीले दाबी गरेजसरी नै संविधानसभाको निर्वाचन र २०७२ सालको संविधानले देशका मुख्य अन्तरविरोध एवम् समस्याको समाधान किन गर्न सकेन भनेर विभिन्न क्षेत्रका विद्वान् र समाजशास्त्रीहरूले अनुसन्धान गर्नुपर्छ । यसबाट नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक दूरदर्शिता र यो व्यवस्थाप्रतिको विश्लेषण वैज्ञानिक एवम् वस्तुगत रहेको प्रमाणित भएको छ ।

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भनी जनमतसङ्ग्रहको माग गर्दा देशका अन्य शक्तिले पनि विभिन्न विषयमा जनमतसङ्ग्रहको माग गरेमा के गरिन्छ भन्ने प्रश्न महत्वपूर्ण छ । संवैधानिक राजतन्त्र पनि संसदीय व्यवस्थाभित्रकै प्रणाली भएको र नेपालमा २००७ देखि २०१६ सम्म, २०४६ देखि २०६२ सम्म यही व्यवस्था कार्यान्वयनमा रहेको अवस्थामा यसका विरुद्ध सडक सङ्घर्ष, सशस्त्र सङ्घर्ष र निर्वाचनका क्रममा पनि संवैधानिक राजतन्त्र पक्षधर दलहरूलाई जनताले परीक्षण गरेर अस्वीकार गरिसकेपछि पुनः परीक्षणमा लैजाने आवश्यकता र सान्दर्भिकता छैन । श्रमजीवी जनता र समाजका लागि धर्म अफिम भएकाले धर्मका नाममा राजनीति गर्नु युद्धअपराध गर्नुजस्तै हो । धर्मनिरपेक्षताले जनताको धार्मिक स्वतन्त्रतामा कुनै असर गर्दैन तर राज्यसत्ताको आफ्नै धार्मिक पक्षधरता हुनुचाहिँ खासमा प्रजातन्त्रविरुद्ध छ । त्यसैले वैज्ञानिक समाजवादले धर्मका नाममा साम्राज्यवादको अतिक्रमण वा घुसपैठ र देशीय एवम् क्षेत्रीय धूत्र्याइँको भण्डाफोर गर्न जनतासमक्ष अपिल गर्दछ । नेपालको सङ्घीयता पिँधका जनतालाई सशक्त र अधिकारसम्पन्न बनाउन नभई दर्जनौँ दोहनकारी दलका परजीवी नेता–कार्यकर्ताको व्यवस्थापन गर्न र जनताबाट सिर्जित भ्यालु दोहन गरी क्रोनी क्यापिटलिज्मलाई बलियो बनाउन लागू गरिएको तथ्य प्रमाणित भइसकेको छ । संसदीय व्यवस्थामा संसद्बाट निर्वाचित कार्यकारी प्रमुख वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा त्यति भिन्नता नहुने भएकाले जनमतसङ्ग्रहमा नै लैजानुपर्ने विषय हो भन्ने देखिँदैन । त्यसैले विगत ७१ वर्षदेखि नेपालमा कार्यान्वयनमा रहेको संसदीय व्यवस्था कि नेकपाले प्रस्ताव गरेको वैज्ञानिक समाजवादी व्यवस्था भन्ने विषयमा जनमतसङ्ग्रह गराउन सबैले सहयोग गर्ने स्थिति देखिन्छ । जनमतसङ्ग्रह साधन मात्र भएकाले नेपाल र नेपाली जनताको मुक्ति र निरन्तर समृद्धिका लागि निरन्तर क्रान्ति आवश्यक छ भन्ने तथ्य त हरेकपटक नेपालमा गरिएका राजनीतिक परिवर्तनपछि भएका प्रतिक्रान्तिले प्रमाणित गर्दछ । वैज्ञानिक समाजवाद स्थापना भएपछि पनि जनता र कम्युनिस्ट पार्टीको निरन्तरको सचेतता अत्यावश्यक हुन्छ ।

वैज्ञानिक समाजवाद मानवसभ्यताकै सर्वोत्तम व्यवस्था साम्यवादभन्दा एक तह तलको व्यवस्था हो । वैज्ञानिक समाजवाद हाल विश्वमा प्रचलित व्यवस्थामध्ये सबैभन्दा जनपक्षीय व्यवस्था हो । राजनीतिक रूपमा यो सबैभन्दा प्रजातान्त्रिक र जनपक्षीय, आर्थिक रूपमा प्रोत्साहन र समानतापक्षीय, सामाजिक–सांस्कृतिक रूपमा मानवसभ्यताकै उच्चतम, परराष्ट्र मामिलामा नेपालको कोर इन्ट्रेस्टको प्रवद्र्धनसहित सार्वभौम समानता कायम गर्ने, सूचना–सञ्चार प्रविधिमा उच्चतम विकासमार्फत जनताको समृद्धिको आधार बनाइने, पर्यावरण र जैविक वातावरणलाई संरक्षण गरी पृथ्वीमाथि न्याय गर्ने, सुरक्षानीतिको केन्द्रमा राष्ट्र र जनतालाई राख्ने कार्यक्रम वैज्ञानिक समाजवादमा हुनेछ ।

नेपालका राजनीतिक दलहरू पनि हालको संसदीय व्यवस्थाबाट वाक्कदिक्क, निराश र तनावग्रस्त भएकाले जनमतसङ्ग्रहमा गई राष्ट्र र जनतालाई यो कालो व्यवस्थाबाट मुक्ति दिन अवरोधक नहुने विश्वास लिएका छौँ । हाल संसदीय राजनीतिक दलका नेताहरूलाई एकअर्काविरुद्ध षड्यन्त्र कसरी गर्ने भनी सम्पूर्ण समय र शक्ति लगाउनुपर्ने बाध्यता वैज्ञानिक समाजवादमा हुनेछैन । राजनीतिक व्यवस्था साधन हो भने राष्ट्र र जनताको सर्वोत्तम हित साध्य हो । जनताले आफू कुन साधन प्रयोग गर्ने भनी व्यवस्था छान्न पाउनु सबैभन्दा प्रजातान्त्रिक र जनपक्षीय विषय भएकाले सबै दलको एजेन्डामा यो विषय पर्ने विश्वास गर्न सकिन्छ । कम्युनिस्ट वा वामपन्थी भनिने दलहरूले गत निर्वाचनमा झन्डै दुईतिहाइ सांसद निर्वाचित गराए पनि दलाल पुँजीवादको माखेसाङ्लोमा परेको चेतना यो अवधिमा प्राप्त गरेका छन् । उनीहरूले हामी समाजवाद स्थापना गर्न भोट माग्न आएका हौँ भन्ने वाचा जनतासमक्ष गरेका थिए र उक्त वाचा जनतालाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न मात्र गरिएको थिएन भनी प्रमाणित गर्नका लागि पनि वैज्ञानिक समाजवादका पक्षमा लाग्ने विश्वास गरेका छौँ ।

हालको एसियाकेन्द्रित विश्व–व्यवस्थामा नेपाल सामरिक पिभोटमा रहेको राष्ट्र हो । दुई सय वर्षदेखि नेपालमा रहेको निरन्तरको अस्थिरता, छिनाझपटी र दयनीय राजनीतिक, आर्थिक र सामाजिक अवस्था मित्र राष्ट्रहरूका लागिसमेत चिन्ताको विषय भएको छ । नेपालको स्थिरता र आमजनताको समृद्धि नै छिमेकीसहित हाम्रो दौत्य सम्बन्ध भएका सबै १७० राष्ट्रको नेपालप्रतिको शुभेच्छा भएकाले नेपाली जनताको सार्वभौम निर्णय सर्वस्वीकार्य हुनेछ । राजनीतिक चेतनामा भएको विकास र दशकौँदेखिको हन्डरबाट जनताले मुक्ति खोजेकाले जनमत पूर्णतः वैज्ञानिक समाजवादको पक्षमा हुने विश्वास गरेका छौँ । यसबाट हामी दशकौँदेखिको असफलतापूर्ण चक्रव्यूहबाट पार पाउन सफल हुनेछौँ । यसबाट नेपाली जनताको निरन्तरको आन्दोलन, सङ्घर्ष, सचेतना र हालसम्मको आन्दोलनबाट प्राप्त सकारात्मक उपलब्धि गुम्ने होइन, थप बलियो हुनेछ ।

संविधानको प्रस्तावनामा नेपाल समाजवादउन्मुख राज्य हुनेछ भनिए पनि यो व्यवस्था आसेपासे दलाल पुँजीवाद हुँदै फासिवादउन्मुख हो भन्ने तथ्य हालैको दुईतिहाइवालाको विघटनसहित वस्तुतः व्यवस्थाकै विघटन भएको घटनाक्रमले प्रमाणित गरेको छ । हामी र हाम्रो पार्टीसहितको सङ्घर्षको बलमा केही उपलब्धिहरू भए पनि ती कागजमा सीमित गरी वास्तविक राजकीय शक्ति जनतामा पुग्नै नदिई केही दलालहरूले अपहरण गरेकाले हजारौँ सहिदको सपना मूर्छित हुन नदिन र जनतालाई धोकाधडीबाट बचाउनका लागि नै हामी निरन्तर सङ्घर्षमा छौँ । जनता र राष्ट्रको स्वाधीनता, गर्विलो र स्वतन्त्र राष्ट्रियता, सम्मानजनक र सहज जनजीविका एवम् दलालरहित वास्तविक जनतन्त्र नै जनताका सपना हुन् । त्यसमा सम्झौताहीन र अलमलरहित ढङ्गले पहलकदमी लिइने विश्वास दिलाउन चाहन्छौँ ।

जनताले व्यवस्था रोज्न पाउनु र दलहरूले आफ्नो वैचारिक तथा कार्यक्रमगत अवधारणा लिएर जनतामा जान पाउनु नै वास्तविक लोकतन्त्र हो । राजनीतिक विचारधाराको सार्वजनिक छलफल, बहस तथा कार्यान्वयनको ढाँचाले पश्चगमनलाई होइन, अग्रगमन र रूपान्तरणलाई सुनिश्चित गर्दछ । राजनीतिक दलहरू यो उच्चतम प्रजातान्त्रिक अभियानमा सरिक हुने विश्वास छ र त्यस्तो वातावरण सिर्जना गरिनेछ । यसका लागि राजनीतिक समीक्षासभा, प्रगतिशील शक्तिहरूको संयुक्त सरकार र त्यसले निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गले जनमतसङ्ग्रह गराई वैज्ञानिक समाजवाद स्थापना गरिनेछ । यसै विश्वासका साथ हामी सबै वुद्धिजीवी, वामपन्थी र देशभक्त जनसमुदायलाई वैज्ञानिक समाजवादको झन्डामुनि गोलबद्ध भई नेपाली जनता, राष्ट्र र सभ्यतामाथि न्याय गरी नेपाललाई विजयी बनाउन अपिल गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :